वडाअध्यक्षले प्रहरी झुक्याए, बुवा, दाइ र गाउँलेले नवराजलाई कुटीकुटी मारे …

सुर्खेत, २ असार ।
रूकुमको चौरजहारीमा जेठ १० गते भएको सामुहिक हत्याबारे मृतक नवराज बिककी प्रेमिकाले नवराज र उनका साथीहरूलाई आफ्ना बुवा र दाइसमेतले घेरा हालेर कुटीकुटी मारेहोलान् भन्ने विश्वास आफूलाई भएको बयान दिएकी छन् । उनले जेठ २७ गते प्रहरीलाई दिएको बयानमा नवराजको मृत्यु भएको कुरा भने आफूले अर्को दिनमात्र थाहा पाएको बताएकी छन् । ‘सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृत्यु भएको सुनें,’ उनले भनेकी छन्, ’पछि बुझ्दा मेरा बुवा, दाइसमेतले नवराजसमेतलाई लखेट्दै घेरा हाल्दै घटनास्थल पु¥याई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’

नवराजसँग २०७५ फागुनदेखि फेसबुकमा चिनजान भएको र त्यसपछि कुराकानी र भेटघाट भइनै रहेको उनले बताएकी छन्। नवराजले आफूसँग विवाह गरौं भनिराखे पनि आफूले उमेर सानै छ भन्दै आएको बयान पनि उनले प्रहरीलाई दिएकी छन् । ‘फोनमा मलाई विवाह गरौं भन्ने कुरा गथ्र्याे, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ,’ उनले भनेकी छन् । नवराज घटना हुनुअघि पनि दुई–चार पटक आफ्नो गाउँमा आएको बताएकी छन् । ‘केही समयअघि (मिति सम्झिन नसकेको) नवराज आफ्नो गाउँमा आएका बेला बुवाआमाले सम्झाएर घर पठाइदिनु भएको हो,’ उनको बयानमा उल्लेख छ, ‘२०७७ साल वैशाख १७ गते राति ८ः९ बजे नवराजले अन्य २ जना साथीलाई ल्याई मेरो घरनजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाएर वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरू भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाइ छोडेका थिए ।’

त्यसपछि उनले नवराजलाई फेसबुकमा ब्लक गरेको र भाइको मोबाइलबाट म्यासेजमार्फत कुराकानी हुने गरेको बताएकी छन् । उनको बयान अनुसार, घटनाको दिन नवराजले केटाहरू ल्याएर आउँदै छन् भन्ने कुरा उनलाई थाहा थिएन । ‘मलाई थाहा थिएन, मेरो बहिनी नाता पर्नेसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरू लिएर आउँछु भनेको रहेछ,’ बयानमा भनेकी छन्, ‘यो कुरा बहिनीले मेरी आमालाई भनेकी रहेछ । आमाले मलाई जेठ २ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ ।’

जेठ १० गते टिभी हेरिरहेका बेला घरनजिक नवराजसहित अरू केटाहरू आएको आमामार्फत् नै थाहा पाएको उनको बयानमा उल्लेख छ । ‘आमाले गाली गरेर पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरू जम्मा भएका थिए,’ उनले भनेकी छन्, ’तर मैले केटाहरूलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिन दिउँसो के कसो भयो मलाई थाहा छै न।’ उनलाई र उनकी आमालाई ६ जनाको हत्या गर्नेहरूको मतियार भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको छ। आइतबार दायर गरेको अभियोगपत्रमा उनका बाबु र दाजु, वडाध्यक्ष सहित ३२ जनाले ६ जना युवालाई कुटीकुटी क्रुरतापूर्वक मारेको उल्लेख छ । उनीहरूविरूद्ध क्रुरतापूर्वक हत्या जातीय छुवाछुत र ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइएको छ। क्रुरतापूर्वक हत्या गरेकोमा कानुनअनुसार बाँचुन्जेल कैद सजाय हुनु पर्ने माग सरकारी विकल कार्यालयले गरेको छ । जातीय छुवाछुतमा पाँच वर्षसम्म कैद र क्षतिपूर्ति अनि ज्यान मार्ने उद्योगमा १० वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ ।

किशोरीकी आमाले नवराज छोरी लिन आए मार्ने योजना रहेको बयान दिएकी छन् । ‘मेरी भतिजीसँग नवराजले छोरीलाई घरबाटै थुतेर लैजान केटाहरू लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई,’ उनले बयानमा भनेकी छन्, ’जेठ १० गते भतिजीलाई मैले एउटा मोबाइल नम्बरबाट फोन गरी बुझ्दा नवराजले छोरी लैजान केटाहरू ल्याएर आउँदैछ भन्ने थाहा पाएँ । ऊ दलित भएकोले छोरीलाई विवाह गरी लिए पछि बेइज्जत हुने भएकाले बेइज्जत हुनुभन्दा मारी दिए विवाह हुन नपाउने भएकोले घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं ।’

नवराज त्यो दिन घरनजिकै आएको देखेपछि आफूले ’तँ डुम फेरि किन आइस् आज मर्छस’ भन्दै धम्की दिएको उनले प्रहरीलाई बयान दिएकी छन् । उनले दिएको बयान अनुसार, गालीगलौज गरी कराउँदै श्रीमानलाई फोन गरेर उनले खबर गरिन्। नवराजहरू भागेर तल गए । ‘र पूर्वयोजना बमोजिम मेरो श्रीमानले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खबर गरेपछि वडाध्यक्षले पूर्वसल्लाह र योजनाबमोजिम गाउँमा खबर गरे,’ उनले भनेकी छन्, ’मैले नवराजसमेतका केटाहरूलाई तलसम्म निगरानी गरेकी थिएँ । केही समयपछि मेरो श्रीमान, छोरा, मोहन पुनसमेत घरबाट सँगै केटाहरूलाई पिछा गर्दै गएका थिए ।’

उनको बयान अनुसार, योजनामुताविक वडाध्यक्षले पनि अरू मानिसहरूलाई फोन गरेर बोलाए, गाउँका मानिसहरू हातमा लाठी, ढुंगा, हँसिया लिएर आए र घर तलको सडकतर्फ केटाहरूलाई नियन्त्रणमा लिई मार्नको लागी चारैतिरबाट घेरा हाले । ‘त्यस पछि म घर फर्किएँ, अन्य के भयो मैले देखिनँ । केटाहरूलाई लखेट्दै भेरी नदी पु¥याइ कुटपिटसमेत गरी ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाइते बनाएको पछि थाहा पाएकी हुँ,’ उनको बयानमा उल्लेख छ । किशोरीका बुवाको बयानबाट उनको बयान पुष्टी हुन्छ ।

उनले केटाहरू घरमा आएपछि श्रीमतिले आफूलाई, आफूले वडाध्यक्षलाई फोन गरेर खबर गरेको बताएका छन्। उनले वडाध्यक्षलाई उद्धृत गर्दै भने जति सम्झाउँदा पनि नटेरेकाले तह लगाउनुपर्छ म गाउँलेलाई बोलाउँछु । उनको बयानमा आफूसहित गाउँलेहरू जम्मा भएर नवराजहरूलाई ढुङ्गा, लाठी हान्दै लखेटेको र केटाहरू बाध्य भई भेरी नदीको बगरतिर दौड्दै हाम फालेको उल्लेख छ । ‘गाउँलेहरूले मृतकसमेतका केटाहरूलाई पछाडिबाट लाठी ढुङ्गा हान्दै लखेटेका र भेरी नदी पु¥याई मारेका थिए,’ उनको बयानमा उल्लेख छ, ‘मसमेत पछिपछि गएको थिएँ, गाउँलेहरूले नदीको बीच भंगालोमा समेत कुटपिट गरिरहेका थिए, पछि सो स्थानबाट नदीमा हाम फाल्न नसकेका ५ जनालाई नियन्त्रणमा लिएर कुटदै आइरहेका थिए ।’ नदीवारी रहेका ७ जना केटाहरूलाई नियन्त्रणमा लिएको र नदी तरी गएकालाई समेत अन्य गाउँलेले कुटपिट गरेको आफूले देखेको उनले बताएका छन् ।

नवराजकी प्रेमिकासहित दुई जना बालसुधार पठाउन आदेश
जिल्ला अदालत रूकुम पश्चिमले चौरजहारीमा भएको हत्याकाण्डमा मुछिएका दुई नाबालकलाई बाल सुधार गृहमा पठाउने आदेश गरेको छ । जेठ १० गते चौरजहारीमा प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो । न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश भएको स्रेस्तेदार क्रित बोहोराले जानकारी दिए । दुवैको थुनछेक बयान र बहस आज भएको थियो ।

आजदेखि अरू अभियुक्तको बयान सुरू हुने जिल्ला अदालतले जनाएको छ। आइतबार नवराजकी प्रेमिकाका बावु, दाजु र वडाअध्यक्षलगाय ४२ जनालाई सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । क्रुरतापूर्वक ६ जनाको हत्या गरेको, १२ जनालाई घाइते बनाएको र जातीय विभेद गरेको आरोप उनीहरुमाथि छ । नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ । क्रुरतापूर्वक हत्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ । मतियारलाई भने मूल मुद्दामा हुने सजायको आधा सजाय हुन्छ । ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन् ।

वडाध्यक्षले प्रहरी झुक्याए
चौरजहारी घटनामा चौरजहारी वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई समेत गुमराहमा पारेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयद्वारा गठित ६ सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदनबारे सोमबार विज्ञप्ति जारी गर्दै सो निष्कर्ष निकालेको हो । उक्त विज्ञप्तिमा वडाध्यक्ष मल्लले लकडाउनको समयमा नवराज विकलगायत गाउँ प्रवेश गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीलाई गलत ठाउँमा पठाइ गुमराहमा पारेको उल्लेख छ । उनले प्रतिवादी रहेका टोपबहादुर मल्ल र नेत्रबहादुर मल्ललाई सम्पर्क गरी गाउँ प्रवेश गरेकाहरूलाई नियन्त्रणमा लिने भन्दै उत्प्रेरित गरेको खुलेको छ। साथै, उनले गोइरी औलाका व्यक्तिहरू समेतलाई गलत सूचना दिइ बाटो छेक्न लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘गाउँ छिरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसहरूलाई भेला जम्मा गरेका थिए,’विज्ञप्तिमा उल्लेख गरिएको छ,’झण्डै ४ किलोमिटर टाढा गइसकेका पीडितहरूलाई पिछा गर्दै लखेट्दै ढुङ्गा, मुढा गरी नवराज विक समेत ६ जनाको ज्यान लिनेसम्मको परिस्थिति सिर्जना गरेका थिए ।’ गृहले यस प्रकारका घटना दोहोरिन नदिन सरकार संवेदनशील रहेको जनाएको छ । रूकुम पश्चिम चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालिसकेको छ । वडाध्यक्ष मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछूत गरेको भन्दै तीन वटा कसूरमा मुद्दा दर्ता गरेको हो । प्रहरीले जाजरकोटका नवराज विक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको हो। हाल २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने पाँच जना अझै फरार छन् ।

तपाईको प्रतिक्रिया