कर्णालीमा भित्रिए ५० हजार, परीक्षण सात हजार

सुर्खेत, २६ बैशाख ।
लकडाउनपछि कर्णालीमा ५० हजारभन्दा धेरै नागरिक भित्रिएका छन् । कोरोना त्रासका कारण भारत, अन्य मुलुक र देशभित्रैबाट ५० हजार भन्दा धेरै नागरिक कर्णाली भित्रिएका छन् । प्रदेशका १० जिल्लामा गरी यो संख्यामा मानिसहरु भित्रिएका छन् । जसमध्ये हालसम्म जम्मा सात हजार जनाको मात्र कोरोना परीक्षण भएको छ ।

बाहिरबाट भित्रिएका हरेकको कोरोना परीक्षण अनिवार्य हो । तर प्रदेश सरकार र स्थानीय सरकार उनीहरुको परीक्षण र व्यवस्थापनमा चुकेका छन् । गाउँमा ठूलो संख्यामा मानिसहरु पुगे पनि पीसीआर परीक्षणको अवस्था कमजोर छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार करिब एक जना जनाको मात्र पीसीआर परीक्षण भएको छ । बाँकी ६ हजारको द्रुत परीक्षण भएको हो । यद्यपी द्रुत परीक्षणको विश्वसनियताबारे अहिले पनि आशंका कायमै छन् ।

कर्णालीमा कोरोना हालसम्म देखिएको छैन । तर विज्ञ र कतिपय स्वास्थ्यकर्मीहरुले परीक्षण नहुँदा संक्रमण नदेखिएको हुनसक्ने जनाएका छन् । साथै प्रदेश सरकारले बाहिरबाट भित्रिएकाहरुको नमूना परीक्षण गर्न नसेकेको भन्दै आलोचना भइरहेको छ । प्रदेश सरकारले किट अभावमा परीक्षण नभएको जनाएको छ । तर कर्णालीमा जे वहाना देखाइए पनि कोरोनाको परीक्षणमा भने खेलाँची नै भइरहेको छ । यसले प्रदेशमा कोरोना संक्रमण छैन भन्नेमा ढुक्क हुन नसकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कोरोनाको त्रासपछि सल्यानमा १६ हजार ६८ जना नागरिकहरु भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याङ्कअनुसार पुरुष १२ हजार सात सय ८१ र महिला तीन हजार दुईसय ८७ लकडाउनकै अवधिमा गाउँ फर्किका हुन् । तर सल्यानमा नौ सय ६९ जनाको ¥यापिड टेष्ट र ४६ जनाको पीसीआर प्रविधिबाट गरी कुल एक हजार १५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । रुकुमपश्चिममा तीन हजार सात सय ८३ जना नागरिक गाउँ फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार जसमध्ये तीन सय ५१ जना भारत र १७ जना तेस्रो मुलुक र तीन हजार चारसय १४ जना नेपाल भित्रबाटै गाउँ फर्किएका हुन् ।

त्यहाँ नौ सय ६७ जनाको ¥यापिड टेष्ट र ९८ जनाको पीसीआर मेसिनबाट गरी कुल एक हजार ६५ जनाको मात्रै कोरोना परीक्षण भएको छ । लकडाउनपछि मुगुमा ६ हजार नौ सय ८१ जना नागरिक गाउँ फर्किएका छन् । त्यहाँ पनि ६ जना पीसीआरबाट र दुई सय ८९ जनामा ¥यापिड टेष्ट गरी कुल दुई सय ९५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । हुम्लामा पनि लकडाउनकै अवधिमा दुई हजार एक सय ६१ जना नागरिकहरु गाउँ फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार भारत र तेस्रो मुलुक गरी एक सय ८० जना नागरिक गाउँ फर्कदा १० जनाको पीसीआर र एक सय ७० जनाको रयापिड टेष्ट गरिएको छ ।

त्यस्तै जाजरकोटमा पनि लकडाउनकै अवधिमा १० हजार बढी नागरिक गाउँ फर्किएका छन् । जाजरकोटमा बैशाख ९ गतेदेशि २१ गतेसम्म स्थानीय तहका जनप्रतिनिधि, मन्त्री र सांसदहरुले मात्रै दुई हजार एकसय ४६ जनालाई गाउँ फर्काएका छन् । यसरी रातारात गाउँ फर्किएका नागरिकको स्वास्थ्य परीक्षण हुन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको छ । यद्यपी कर्णालीबाहेक अन्य सबै प्रदेशलाई कोरोनालाई छोइसकेको छ । कर्णाली प्रदेशमा भने हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् । तर कर्णालीमा कोरोना संक्रमित छैनन् भन्नसक्ने अवस्था छैन । किनकी जुन गतिमा नागरिकहरु गाउँ फर्किएका छन, त्यही गतिमा कोरोनाको परीक्षण हुन सकेको छैन ।

दश प्रतिशतको मात्रै परीक्षण
कर्णाली प्रदेश सरकारले लकडाउनकै अवधिमा करिव ५० हजार बढी नागरिकहरु गाउँ फर्किएको जनाएको छ । कोरोनाको त्रासपछि करिव ५० हजारभन्दा बढी नागरिक गाउँ फर्किएको हुनसक्ने प्रदेश सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी बताउँछिन् । यद्यपी केही जिल्ला प्रहरी कार्यालयले सिमिति नागरिकको तथ्याङ्क मात्रै राखेका छन् स्थानीय तहका जनप्रतिनिधिले पनि गाउँमा कति नागरिक फर्किए भनेर एकिन तथ्याङ्क राखेका छैनन् ।

कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालयसँग पनि गाउँ फर्किएका नागरिको एकिन भने तथ्याङ्क छैन । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले भने भारत र तेस्रो मुलुकगरी सात हजार नौं सय १५ जनाको मात्रै तथ्याङ्क राखेको छ । संकलित तथ्याङ्ममा पनि पुग नपुग १० प्रतिशतको मात्रै कोरोना परीक्षण गरिएको छ । तथ्याङ्कअनुसार पाँच हजार आठसय ७४ जनाको रयापिड टेष्ट र एक हजार ६९ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । लकडाउनको अवधिमा देशका विभिन्न जिल्लाबाट भित्रिएकाहरुको परीक्षण नै हुन सकेको छैन ।

कुन जिल्लामा कति परीक्षण ?
कर्णालीका दश जिल्ला मध्ये सुर्खेतमा पीसीआर चारसय पाँच र रयापिड टेष्ट १४ सय ६५ गरी कुल एकहजार आठसय ७० जनामा कोरोना परीक्षण गरिएको छ । त्यस्तै सल्यानमा पीसीआर ४६ र रयापिड टेष्ट नौं सय ६९, रुकुमपश्चिमा पीसीआर ९८, रयापिड टेष्ट नौसय ६७, मुगुमा पीसीआर सात र रयापिड दुईसय ८९, कालिकोटमा पीसीआर १६, रयापिड चारसय १५, जुम्लामा पीसीआर तीनसय ४२, रयापिड एकसय ५४, जाजरकोटमा पीसीआर १७ र चारयय १४ जनामा रयापिड टेष्ट गरिएको छ ।

त्यस्तै हुम्लामा पीसीआर दश र रयापिड टेष्ट एकसय ६६, डोल्पामा पीसीआर पाँच र रयापिड टेष्ट दुईसय ४५, दैलेखमा पीसीआर एकसय नौं र सातसयय ६३ जनामा रयापिड टेष्ट प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । पीसीआर र रयापिड टेष्ट गरी हालसम्म झण्डै ७ हजारको हाराहारीमा परीक्षण गरिएको छ । कर्णाली प्रदेश प्रयोगशाला सुर्खेत, धनगढी र काठमाडौंमा गरी सोमबारसम्म १ हजार ६९ जनाको नमूना परीक्षण गरिएको छ । त्यस्तै विभिन्न जिल्लामा पुगेर पाँच हजार आठसय ११ जनामा रयापिड टेष्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया