कोरोनाको जोखिम बढेपछि कर्णाली प्रदेश सिल

सुर्खेत, २२ बैशाख ।
छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुने बताए । उनका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ ।

बैठकले २५ स्थानमा टोली खटाउने निर्णय गरेको भए पनि डोल्पाका दुई स्थान थप गरिएको उनले बताए । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने उनको भनाइ छ । सामाजिक विकास मन्त्री दल रावलका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण (आरडीटी) समेत गर्नेछ । ‘आवश्यक परेको खण्डमा सोही ठाउँमा आइसोलेसन वार्डसमेत सञ्चालन गर्न सकिनेछ,’ उनले भने, ‘परीक्षण र उपचारलाई सँगसँगै लगिनेछ ।’


सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ । प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् । आवश्यकताअनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने मन्त्री रावलले बताए ।

स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार जारी थियो । यो निर्णयपछि अब आवतजावत ठप्प हुने भएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।

उनीहरु गाउँगाउँमा पुगिसकेका छन् । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कालीकोटका २ हजार ६ सय ७४, जुम्लाका १ हजार ५ सय ३५, मुगुका १ हजार ३ सय ४९, दैलेखका १ हजा १ सय २३, सुर्खेतका १ हजार ९४, जाजरकोटका १ हजार २६, डोल्पाका ६ सय ५५, रुकुम पश्चिमका ३ सय ६६, हुम्लाका ३ सय ४ र सल्यानका २ सय ६ जनाको उद्धार भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार