एसईई असारमा, शैक्षिकसत्र प्रभावित हुँदैन

काठमाडौं, १५ बैशाख ।
कोरोना भाइरस (कोभिड १९) महामारीका विरुद्ध विश्व नै लडिरहेको छ । यसबाट नेपाल पनि अछुतो रहेन । कोरोनाकै कारण शिक्षाक्षेत्र पनि प्रभावित भएको छ । भाइरसविरुद्ध भ्याक्सिन तयार भएको छैन । त्यसले यो समय वैज्ञानिक समुदायका कुरा सुन्ने हो । बन्दाबन्दीको नीतिअनुसार भौतिक दूरी कायम गर्ने, विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्दे्शिका मान्ने हो ।

कोरोना संकट लम्बिने देखिन्छ । तर, नेपाल सरकारले लिएको लकडाउनको नीतिका आधारमा धेरै फैलिन पाएको छैन । संक्रमितहरू पनि स्वस्थ हुनुभएको छ । नकारात्मक घटना हुन पाएको छैन । यो संकट लामो खालको छ । भ्याक्सिन नबनेसम्म आमनागरिकको प्रतिरोधात्मक क्षमता बढाउनु छ । कोरोना संकटले सामाजिक, आर्थिक क्षेत्रमा पनि असर परेको छ । त्यसैले यसलाई सामान्य ढंगबाट हेरिनु हुँदैन ।

अब शिक्षालई परम्परागत ढंगबाट अगाडि बढाउन सक्दैनौँ । दूरशिक्षा, अनलाइन शिक्षा र डिजिटल शिक्षालई अगाडि बढाउनुपर्ने आवश्यकता छ । एक ठाउँमा जम्मा भएर कोठामा बसेर पढ्ने पढाउने र सिकाउने परम्परा छ । यो विपत्तिले हाम्रो सिकाइको पद्धतिलाई नयाँ ढंगले सोच्न भनेको छ । त्यसैले मन्त्रालयले शिक्षाका विषयमा नयाँ ढंगले सोच्न विभिन्न समिति बनाएको छ । ती समितिले अल्पकालीन मध्यकालीन र दीर्घकलीन अवधारणा बनाइरहेका छन् ।

प्रविधिमैत्री शिक्षक र विद्यार्थी बनाउन शिक्षक संघ/संगठनले अहिलेको परिस्थितमा अनलाइनबाटै तालिम चलाइरहेका छन् । यो राम्रो पक्ष हो । यसरी नै हामीले सुधार गर्दै जाने हो । विद्यार्थीले संकटको बेलामा पनि सिक्न पाउनुपर्छ । सिकाउने काम शिक्षकको हो । यस्ता तालिमहरूले जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्न सकिन्छ भन्ने उदाहरण हो ।

नाकाबन्दीको समयमा टेलिभिजनबाट पनि ९ र १० कक्षालाई पढाउने काम भएको थियो । अहिले पनि भइरहेको छ । यो संकटले तुरुन्तै प्रविधिको दिशामा अगाडि पाइला चलाउन बाध्य बनाएको छ । २५ वैशाखसम्म लकडाउन छ । तर, अन्तिममा खुल्ने भनेको विद्यालय हो । सुरुमा विद्यालय खोल्न मिल्दैन । कक्षा देखि ९ सम्मको परीक्षा सकिएको छ । विद्यार्थीको रिजल्ट निकालेको १ हप्तापछि भर्ना सुरु हुन्छ ।

कक्षा १०, ११ र १२ को परीक्षा असार १५ सम्म पनि गर्न सकिन्छ । परीक्षा सकिएको ३० देखि ४० दिनभित्र रिजल्ट निकाल्न सकियो भने शैक्षिकसत्र प्रभावित हुँदैन । हिउँदे, वर्षे र चाडपर्वको बिदा कटाएर र अतिरिक्त कक्षा चलाएर पनि शैक्षिकसत्र चलाउन सकिन्छ । यदि कोरोना प्रकोप लम्बियो भने अनलाइन शिक्षाको पनि तयारी गरेका छौँ । रेडियो, टेलिभिजन, फोन कुन माध्यमबाट पढाउन सकिन्छ, ती विकल्पहरूमाथि छलफल भइरहेको छ ।

प्रविधिको पहुँचमा ७० प्रतिशत पुगेको छ । ३० प्रतिशतलाई पनि प्रविधिको पहुँचमा ल्याउनु छ । एकातिर गुणस्तर सुधार गर्नु छ । अर्कोतर्फ प्रविधिको पहुँचमा पनि ल्याउनु छ । यसका लागि मन्त्रालय लागिपरेको छ । अनलाइन शिक्षालाई निःशुल्क गर्न क्याबिनेटमा छलफल पनि गरेको छु । गुणात्मक शिक्षाका लागि सबै अगाडि बढौँ ।

तपाईको प्रतिक्रिया