कर्णाली प्रहरी प्रमुखमा पन्त

सुर्खेत, ९ बैशाख ।
गृह मन्त्रालयले हालै बढुवा भएका सबै डीआईजीलाई जिम्मेवारी दिंदै पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका प्रहरी अधिकारीहरुलाई आईजीपी ठाकुर ज्ञवालीले सोमबार दज्र्यानी चिन्ह प्रदान गरेपछि मन्त्रालयले सबै डीआईजीलाई जिम्मेवारी दिएको हो ।

एसएसपीबाट डीआईजीमा बढुवा भएका १० जना प्रहरी अधिकारीलाई दिइएको जिम्मेवारी अनुसार ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ । जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् । प्रदेश २ मा धिरजप्रताप सिंह, बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई खटाइएको छ ।

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ । यस्तै हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरो ल्याइएको छ । यसअघि ब्युरोको नेतृत्व गरेका डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भइसकेका छन् । यसैगरी डीआईजी अरुणकुमार बीसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ । गत २८ चैतमा १० जना एसएसपीहरु डीआईजीमा बढुवा भएका थिए ।

तपाईको प्रतिक्रिया