‘देवता र परमेश्वरी’को आदेशपछि मात्रै अस्पताल

जाजरकोट  : ‘दूधको दूध, पानीको पानी छुट्याइदिनुप‍¥यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ,’ बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा हो यो ।

गाउँभरिका मानिस बिरामी हुनेबित्तिकै धनबहादुरको घरमा धामी हेराउन जाँदा दैनिक धनबहादुरको शरीरमा देवी चढेपछि बिरामीका आफन्तले देवीलाई सुनाउने सबैभन्दा महŒवपूर्ण श्लोक हो यो । त्यहाँका अधिकांश स्थानीयवासी आफन्त बिरामी हुँदा एक घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्थामा लैजानुभन्दा पहिला धामीकहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम गर्छन् । धामी, झाँक्रीले

‘हामी सक्दैनौँ’ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्थामा लैजाने गरेको पाइएको छ । सामान्य टाउको दुख्दा होस् वा सामग्री हराउँदा, देवताकै शरणमा गएर सल्लाह लिने चलन जाजरकोट, रुकुमपश्चिम र डोल्पाका गाउँमा विद्यमान छ । कहाँका धामीले कति सही कुरा गर्छ भन्ने गाउँमा छलफलसम्म हुने गरेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले जानकारी दिए । नयाँ घरमा प्रवेश गर्नेदेखि नयाँ कामको थालनी गर्दासम्मका काम धामीले दिएको साइतकै आधारमा हुने गरेको खत्रीको भनाइ छ । जिल्लाको बारेकोट, जुनिचाँदे गाउँपालिकामा देवीदेवताको विश्वासका आधारमा काम बढी हुने गरेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोटमा बालात्रिपुरासुन्दरीका धामीले दिएको साइतबाहेक अरु साइतमा दशैँको टीका नै नहुने प्रचलन कायम छ । धामीले दिएको साइत हेर्दा दुई वर्षअघि दशैँको टीका एक दिनपछि सरेको स्थानीयवासी विष्णुप्रसाद देवकोटाले बताए । विसं २०७२ मा फैलिएको मौसमी फ्लु रोक्नका लागि समेत देवीकै भाकल गरिएको थियो । २ दिनदेखि त्रिपुरासुन्दरी नगरपालालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोग रोकथाम गर्न भन्दै स्थानीयवासी धामीको शरणमा पुगेको बताइएको छ ।

हिउँद, वर्षायाममा पानी नपर्दा खेती गर्न नपाएका कृषकसमेत पानी पार्न अनुरोध गर्दै धामीकै शरणमा पुग्दै आएका छन् ।गाउँलेहरूले लगाएको अन्नबाली पशुचौपायले खाँदा घर मालिक पत्ता लगाउनसमेत देवताको मन्दिरबाट ध्वजा, पताका लिएर क्षतिपूर्ति उपलब्ध गराउने चलन डोल्पा, जाजरकोट र रुकुमपश्चिमका गाउँमा अझै कायम रहेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नगरपालिका–८ का शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए । (शिलापत्रबाट)

तपाईको प्रतिक्रिया