दैलेखमा धान उत्पादन घट्यो

दैलेख :जिल्लामा यसबर्ष धान उत्पादनमा गिरावट आएको छ । समयमै पानी नपरेका कारण धान उत्पादन घटेको हो ।

गत बर्षको तुलनामा यसबर्ष ७ दशमलव ९० प्रतिशतले उत्पादन घटेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । यसबर्ष दैलेखमा २४ हजार दुई सय ५४ मेट्रिक टन धान उत्पादन भएको छ ।

जसमध्ये बर्षे धान १९ हजार आठ सय १५ र घैया धान चार हजार चार सय ३९ मेट्रिक टन धान उत्पादन भएको हो । गतबर्ष २६ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । यसबर्ष दैलेखमा बर्षे र घैया जातको धान खेती गरिएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।

आठ हजार तीन सय सात हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले बताए । ‘गत साउन अन्तिमसम्म पनि पर्याप्त पानी नपरेका कारण धान उत्पादन घटेको हो’ उनले भने । जिल्लाको आठबिस, चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरबी, नौमूले, डुङ्गेश्वर गाउँपालिका लगायत क्षेत्रमा धान बढी उत्पादन हुने गर्दछ ।

जिल्लामा ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन मध्ये ३४ हजार चार सय ९७ हेक्टरमा खेती गरिन्छ । कुल खेती गरिएको २७ प्रतिशत अर्थात नौ हजार ६ सय ३८ हेक्टरमा सिचाइँको सुविधा पुगेको छ । ‘उत्पादकत्व बढाउने लक्ष लिए पनि बर्षेनी उत्पादन घट्दो छ’ पाण्डेले भने ।

आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र धान रोपेपछि पनि सिचाइँको अभावका कारण उत्पादन घटेको पाण्डेको भनाइ छ । जिल्लामा धानखेती लगाउने क्षेत्रफल बर्षेनी घट्दो छ ।

तपाईको प्रतिक्रिया