नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा भएको झडपपछि दोषीलाई कारवाही हुने, धार्मिक सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिवद्धता

बाँके,१८ असोज ।
नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा शुक्रबार भएको झडपपछि उच्छृंखल गतिविधि गर्ने समूहलाई छानबिन गरी कानुनबमोजिम कारवाही गर्ने सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा शनिबार बसेको सर्वपक्षीय छलफलले दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउने र यस प्रक्रियामा सबै पक्षले सहयोग गर्ने निर्णय गरेको हो।

प्रहरी प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले धार्मिक सद्भाव कायम गर्दै आपसी झै–झगडा, रिस–रागलाई हटाउने प्रतिवद्धता जनाइएको छ। साथै, कुनै पनि प्रकारको उच्छृंखल गतिविधि नगर्न सबैलाई आग्रह गर्दै, कसैले त्यस्तो गरेमा तत्काल कडा कारवाही हुने चेतावनी दिइएको छ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार जिल्लाभर प्रहरी प्रशासनको स्वीकृति विना कुनै पनि नारा, जुलुस, सभा, सम्मेलन वा र्याली गर्न नपाइने निर्णय बैठकले गरेको छ। सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई निगरानी गरी साईबर अपराध ऐनमार्फत कारवाही गरिने बताइएको छ।
शुक्रबार विसर्जनका क्रममा नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा सडकखण्डमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो। उक्त घटनामा प्रहरीसहित करिब ३० जना घाइते भएका थिए। सामान्य उपचारपछि अधिकांश घर फर्किएका छन् भने हाल चार जना नेपालगन्जस्थित भेरी अस्पताल र विभिन्न नर्सिङ होममा उपचाररत छन्।

प्रहरीको तत्काल परिचालन र प्रभावकारी व्यवस्थापनका कारण घटनाले ठूलो रूप लिन पाएन। घटनामा संलग्न केही व्यक्तिको उच्छृंखल गतिविधिका कारण तनाव सिर्जना भएको बुझिएको छ। जसलाई नियन्त्रणमा लिन प्रहरीले सक्रिय भूमिका खेलेको थियो।
हाल नेपालगन्जको अवस्था सामान्य बनेको छ। नगरका जोखिमपूर्ण क्षेत्रमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। बैठकले आगामी दिनमा कुनै पनि अप्रिय घटना दोहोरिन नदिने र जिल्लाभर धार्मिक सद्भाव कायम गर्न सबै पक्ष एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाएको छ।






