सुर्खेतदेखि कोहलपुरसम्म फैलिएको नक्कली नोट र लागुऔषधको सञ्जाल भण्डाफोर : पत्रकारको आवरणमा नक्कली नोट छाप्ने मुख्य व्यक्ति पक्राउ

सुर्खेत,३१ असार।

सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म फैलिएको नक्कली नोट र लागुऔषध कारोबारको सञ्जाललाई प्रहरीले चक्रब्यूह शैलीमा भण्डाफोर गरेको छ।

३० असार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतको सञ्चार शाखामा एउटा सूचना आयो— “सर, नक्कली जस्तो देखिने एक हजार रुपैयाँको नोटसहित एक युवती पसलमा आएकी छिन्।” पसलेले सुझबुझ देखाउँदै सामान दिनुभन्दा अगाडि युवतीलाई अड्याउँदै प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएको केही समयमै प्रहरी उपरीक्षक (एसपी) सुधीरजंग शाहीको निर्देशनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाको टोली घटनास्थल पुगेको थियो। पक्राउ परेकी युवती कुशे गाउँपालिका–५ घर भई हाल वीरेन्द्रनगर–१० सुर्खेतमा बस्दै आएकी २२ वर्षीया दिलमाया सिंह ठकुरी हुन्। उनको साथबाट ६ थान नक्कली एक हजार रुपैयाँको नोट बरामद गरियो।

प्रारम्भिक अनुसन्धानपछि डिएसपी बुढथापाको टोली सिंह बस्ने कोठामा पुग्दा चकित हुने तथ्य फेला पर्‍यो। उनको कोठाबाट १२ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट (१२३६ थान) बरामद गरियो। यसपछि प्रहरीले दिलमायाका दाजु रामबहादुर सिंहलाई समेत नियन्त्रणमा लियो।

नक्कली नोट कहाँबाट आयो भन्ने अनुसन्धान गर्दा नक्कली मुद्रा कारोबारमा छिन्चुस्थित दुई व्यक्ति संलग्न भएको खुलेपछि प्रहरीको टोली भेरीगंगा नगरपालिका–१२ ठकुरी टोल पुग्यो। त्यहाँबाट कृष्णबहादुर वली (३५) र प्रेमबहादुर विक (३८) लाई पक्राउ गरियो। उनीहरूका साथबाट ११ किलो ३७३ ग्राम अफिम समेत फेला पारियो।

यसपछि अनुसन्धानले अर्को रोचक मोड लियो। पक्राउ परेकाहरूका अनुसार नक्कली नोट बनाउने मुख्य व्यक्ति बाँकेको कोहलपुरमा रहेको खुलासा भयो। त्यसैको आधारमा डिएसपी बुढथापाको टोली कोहलपुर पुग्यो। पत्रकारको आवरणमा बसेका जनगर्जन नेटवर्क प्रालिका सञ्चालक मनबहादुर सहकारीलाई मंगलबार बिहान कोहलपुर–११ न्यूरोडबाट नियन्त्रणमा लिइयो।

पक्राउ पर्दा उनले आफू पत्रकार भएको दाबी गर्दै प्रहरीलाई थर्काएका थिए। तर कोठा र अफिसमा छापिएको ५१ हजार बराबरको नक्कली नोटसहित प्रमाण भेटिएपछि उनले आफैँ नक्कली नोट छापेको स्वीकारे। सहकारीले सञ्चार संस्था जनगर्जन नेटवर्क प्रालिको आवरणमा नक्कली नोट छाप्ने कार्यमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीको सघन अनुसन्धान र समन्वयात्मक कामले सीमावर्ती क्षेत्रसम्म फैलिएको नक्कली नोट र लागुऔषधको सञ्जाल भण्डाफोर गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी शाहीले यो सफलताको श्रेय सूचनादाता, अनुसन्धानमा खटिएका टोली र गोप्य अनुगमनलाई दिएका छन्।

सुर्खेतदेखि कोहलपुरसम्म फैलिएको नक्कली नोट र लागुऔषधको सञ्जाल भण्डाफोर : पत्रकारको आवरणमा नक्कली नोट छाप्ने मुख्य व्यक्ति पक्राउ

सकारात्मक सूचना, स्थायित्व र समृद्धिका लागि सञ्चारको

सुर्खेतदेखि कोहलपुरसम्म फैलिएको नक्कली नोट र लागुऔषधको सञ्जाल भण्डाफोर : पत्रकारको आवरणमा नक्कली नोट छाप्ने मुख्य व्यक्ति पक्राउ

सम्पादकीय : अनुदानको दुरुपयोग गर्नेमाथि छानविन गर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds