कृष्णसारको संख्या बढेर २५५ पुग्यो, संरक्षणको सफलतासँगै खतरा भने यथावत्

बर्दिया ,९ असार।

बर्दियाको खैरापुरमा रहेका दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या एक वर्षको अवधिमा उल्लेख्यरूपमा बढेर २ सय ५५ पुगेको छ। आर्थिक वर्ष ०८०/८१ मा २ सय २४ रहेको कृष्णसारको संख्या यस वर्ष २६ ले बढेको हो।

हालको तथ्यांकअनुसार तीमध्ये ४८ भाले, १ सय ६२ पोथी, ४१ बच्चा र ४ वटा लिङ्ग नचिनिएका छन्। वन्यजन्तु संरक्षण क्षेत्रका निमित्त प्रमुख रामु केसीका अनुसार पर्याप्त घाँसे मैदान, पिउने पानीको व्यवस्थाले उनीहरूलाई बाहिरी जोखिमबाट बचाउन सहयोग पुगेको छ। साथै नियमित गस्ती र निगरानीले पनि संरक्षणमा टेवा पुगेको छ।

यस आवमा चितुवाको आक्रमण नहुँदा कृष्णसारको मृत्युदरमा कमी आएको छ। गत वर्ष चितुवाको आक्रमणमा मात्रै ७ वटा कृष्णसार मारिएका थिए भने अन्य फ्याउरो, स्याल र कुकुरको आक्रमणमा १९ वटा ज्यान गुमाएका थिए।

कृष्णसार संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवले संरक्षित क्षेत्रमा रहेको अनधिकृत बस्ती हटाउनु जरुरी रहेको बताउनुभयो। ७०८ बिघा क्षेत्रफलको संरक्षित क्षेत्रमा ३५० बिघाभन्दा बढी जमिन अतिक्रमण भएको समितिको भनाइ छ। ०२६ सालदेखि ऐलानी रूपमा बस्दै आएका ५१ घर परिवार अहिले पनि संरक्षित क्षेत्रमा रहेका छन्।

पर्यटनको सम्भावना बोकेको यस क्षेत्रमा सरकार वा सम्बन्धित निकायबाट विशेष पहल नहुँदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको स्थानीयको गुनासो छ। ०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरिएपनि अझै प्रभावकारी कार्यान्वयनको खाँचो देखिएको छ।

संरक्षणको सफलता उत्साहजनक भएपनि दीर्घकालीन रणनीति, बस्ती व्यवस्थापन र पर्यटकीय पूर्वाधार विकास नगरेसम्म जोखिम यथावत् रहने संरक्षणविद्‌हरूको चेतावनी छ।

कृष्णसारको संख्या बढेर २५५ पुग्यो, संरक्षणको सफलतासँगै खतरा भने यथावत्

कोहलपुरका लागि १ अर्ब १६ करोडको बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds