सेवाग्राहीमैत्री र प्रविधिमैत्री मुख्यमन्त्री कार्यालय : लुम्बिनीमा सार्वजनिक सेवा प्रवाहमा नयाँ अभ्यास

दाङ ,५ जेष्ठ ।
लुम्बिनी प्रदेश सरकारको प्रमुख कार्यलय—मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय—लाई अब सेवा प्रवाह र व्यवस्थापनका दृष्टिले अझै सेवाग्राहीमैत्री र प्रविधिमैत्री बनाइएको छ। यसले सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

सेवाग्राहीका गुनासा, सुझाव तथा समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्न कार्यालय प्रवेशद्वारमै गुनासो पेटिका राखिएको छ। साथै डिजिटल दैनिक कार्यतालिका प्रणाली लागू गरी मुख्यमन्त्रीसँगको भेटघाटलाई व्यवस्थित र सहज बनाइएको छ। आगन्तुक र अनुसन्धानकर्ताहरूका लागि लुम्बिनी विशेष डकुमेन्ट प्रस्तुतिकरण प्रणाली सञ्चालनमा ल्याइएको छ, जसले आवश्यक जानकारी सजिलै पाउने वातावरण निर्माण गरेको छ।
कार्यालयका कोरिडोर र कार्यकक्षहरूमा लुम्बिनी प्रदेशको मौलिकता झल्किने दृश्य समावेश गरिएको छ, जसले कार्यालयको वातावरणलाई थप आकर्षक र प्रेरणादायी बनाएको छ। मुख्यमन्त्रीको कार्यकक्ष समेत लुम्बिनीको पहिचान झल्किने गरी आधुनिक तरिकाले सजाइएको छ।

कार्यालय व्यवस्थापन अन्तर्गत आवश्यक तत्काल मर्मत–सम्भारका कार्यहरू समेत पूरा गरिएको जनाइएको छ। यसले सेवा लिने नागरिकलाई सजिलो हुने, गुनासो राख्न सकिने र आवश्यक सूचना सहजै प्राप्त हुने वातावरण तयार पारेको प्रदेश सभा सदस्य निमा गिरीले बताउनुभयो।
यस प्रकारको सेवा सुधारको अभ्यासलाई सबै प्रदेश र कार्यालयहरूले सिकाइको रूपमा लिनु आवश्यक रहेको सुझाव दिइएको छ। लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव इश्वरराज पौडेलका अनुसार यस्तो सुधारले प्रदेशस्तरमा सेवा प्रवाहको गुणस्तर उल्लेखनीय रूपमा वृद्धि गर्नेछ।







