घरको बार्दलीबाट लडेर मृत्यु
सुर्खेत । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडीस्थित आफ्नै घरको बार्दलीबाट खसेर घाइते भएका एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका जिल्ला निर्वाचन कार्यालय कालीकोटका कार्यालय सहयोगी ४७ वर्षीय पुरिचन्द्र पाण्डेको मृत्यु भएको हो ।
शनिवार बेलुकी बार्दलीबाट खसेका पाण्डेलाई उपचारका लागि आइतबार जिल्ला अस्पताल लगिएको थियो । तर, जिल्ला अस्पतालले उनको टाउकोमा चोट भएको भन्दै सीटी स्क्यानका लागि सुर्खेत लैजान रेफर गरेको थियो ।
सोमबार बिहान उहाँलाई सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु मृतकका जेठा दाई खडानन्द पाण्डेले बताए । ‘उपचारको लागि सुर्खेत लैजाँदै गर्दा कर्णाली राजमार्गको दैलेखको असाराघाट पु¥याएपछि सोमबार बिहान ११ बजे मृत्यु भएको छ,’ उनँले भने,‘घरको बार्दलीबाट लडेर घाइते हुनु भएको थियो । थप उपचार गर्न सुर्खेत लैजाने क्रममा बाटोमा मृत्यु भयो ।’
जिल्ला पशुसेवा, वन कार्यालय हुँदै हाल जिल्ला निर्वाचन कार्यालयमा कार्यरत पाण्डेका पत्नी र दुई छोरा छन् ।






