बर्षेनी बढ्दै मानविय क्षति


घटना–१
१३ साउन २०७७ मा नरहरिनाथ गाउँपालिका–७ बाँगा र वडा नम्बर ४ को माँझगोठीमा पहिरोले दुई घर बगायो । स्थानीय गंगे बुढा र बाले बुढाको घर पहिरोमा परे । उक्त पहिरोमा परी ६५ बर्षिय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ बर्षिया बुहारी कुशा बुढा, १६ वर्षीया छोरी विमला बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात बर्षिय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भयो । नरहरिनाथ गाउँपालिका–४ को माँझगोठीमा पनि पहिरोले घर बगाउँदा ६५ वर्षीय बाले बुढा र उनकी श्रीमति ६३ वर्षीया मन बुढाको मृत्यु भयो ।
घटना–२
३० साउन २०७७ मा कालिकोटको महाबै गाउँपालिका– ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भयो । रजबहादुर विष्टको घर पुरिँदा महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका दुई छोरा दुई छोरी र उनका दाजु डिलबहादुर बिष्टका दुई छोरी गरि जम्मा छ जनाको मृत्यु भएको थियो ।
घटना–३
२४ असोज २०७९ सालमा तिलागुफा नगरपालिका–४ राँचुली गाउँबाट मलामी गएका वडाध्यक्षसहित १७ जना पहिरोमा परेर वेपत्ता भए । पहिरोमा वडाध्यक्ष परबहादुर शाहीसहित १७ जना बेपत्ता भएकाको अहिलेसम्म वेपत्ता रहेका छन् ।
माथिका यी प्रतिनीधिमूलक घटना मात्र हुन् । २०७३ सालमा पनि नरहरिनाथ गाउँपालिकाको लालीघाट बजारमा माथिबाट आएको पहिरोमा परेर आठ जनाले ज्यान गुमाएका थिए । भिरालो जमिन, कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालिका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका पूर्वअध्यक्ष धीरबहादुर विष्टले बताए ।
‘कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्’, उनले भने, ‘जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन् । यी पहिला थिएनन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले उच्च जोखिममा रहेका छन् ।’
नरहरिनाथका ३२ घर बाढीपहिरोको उच्च जोखिममा
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–५, को रुप्सास्थित दमायाठोक्ना गाउँमा ३२ घरपरिवार बाढीपहिरोको उच्च जोखिममा परेका छन् । घर तलबाट निरन्तर पहिरो गइरहेका कारणले रुप्सा गाउँका ३२ घरपरिवार बाढीपहिरोको जोखिममा परेका हुन् ।
निरन्तर पहिरो खस्न थालेपछि गाउँबस्ती जोखिममा परेको छ । पानी पर्दा साथ गाउँको तल्लो भागमा निरन्तर पहिरो बगिरहेको र त्यहाँ ३२ घरपरिवार बाढीपहिरोको जोखिम रहेको गाउँबाट आवात–जावत गर्न पनि समस्या भएको स्थानीय रवि बोगटीले जानकारी दिए ।
‘विद्यार्थीहरुलाई स्कुल जान, स्थानीयलाई स्वास्थ्य चौकी र वडा कार्यलय आवतजावत गर्न कठिनाइ भोग्नु परेको छ,’ उनले भने, ‘गाउँका आएको समस्या समधानमा कसैले ध्यान दिनुभएको छैन् ।’
नरहरिनाथ गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समिति, नरहरिनाथ गाउँपालिकामा कार्यरत साझेदारी संघ संस्थाहरु लगायत सबै सरोकारवालाहरुमार्फत नरहरिनाथ गाउँपालिका वडा नं. ५ रुप्सा गाउँमा गएको बाढी पहिरोको अनुगमन गरिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहोराले बताए ।
‘कालेखोलामा निरन्तर बगिरहेको छ,’ उनले भने, ‘अनुगमन गर्दा पहिरो अझैँ रोकिने स्थितिमा छैन गाउँका ३२ घरपरिवार घरमा बस्नुहुन्न । घरहरु बस्न योग्य पनि छैनन् । घर अगाडी र पछाडीबाट बाढी पहिरो आएको छ ।’
परिस्थिती अत्यन्त भयावह भएको र बारीमा लगाएको अन्नबाली बगाएको गाउँपालिका प्रवक्ताले बोहोराले जानकारी दिए । उनका अनुसार वडास्तरीय विपद् व्यवस्थापन समिति, सबै राजनीतिक दल, अन्य सरोकारवाला र सम्बन्धित पहिरोका पिडितहरुसँग छलफल गरी सुझाव सल्लाहसहित राहतको प्रक्रियाको लागि स्थानीय विपद् ब्यवस्थापन समितिमार्फत जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र संघमा पहल सुरु भएको छ ।
वडाध्यक्ष भन्छन् ‘म आफैँ पीडित छँु’
नरहरिनाथ गाउँपालिका–५ का वडाध्यक्ष मानबहादुर सहकारीले आफु नै बाढीपहिरो पीडित रहेको आफु अहिले आफु अरुको घरमा आश्रय लिएर बसिरहेको जानकारी दिए । ‘म १५ दिनदेखि अरुको घरमा आश्रय लिएर बसीरहेको छु,’ उनले भने, ‘यहाँ गाउका ३२ घरपरिवार आश्रयका लागि अरुको घरमा बस्दै आउनु भएको छ ।’
गाउँपालिकाले पनि विपद्का परेकालाई राहत तथा अन्य काममा सहयोग नगरेको उनको गुनासो रहेको छ । ‘प्रहरी बोलाएर स्थानीय विपद् व्यवस्थापन समितिले क्षतिको मुचुल्का उठाउने काम भएको छ,’ उनले भने, ‘गाउँपालिकाले बैठक बसेर जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्नुपर्ने हो । त्यो हुन सकेको छैन् । गाउँपालिकाको ढिलाईका कारणले हो ।’
बाढीपहिरो पीडितले अहिले त्रिपाल बाहेक अरु केही नपाएको वडाध्यक्ष सहकारीले बताए । ‘वडा सरकारको हातमा केही पछि छैन् । म पनि बाढीपहिरोको पीडित हुँ,’ उनले भने,‘मैले कसरी पीडितलाई राहत दिने, कसरी सुरक्षित स्थानमा राख्ने चिन्ता छ । मसँग त्यो दिनका लागि केही पनि छैन् ।’
कालीकोटका ५१ बस्ती बाढीपहिरोको जोखिममा
कालीकोटको नांै स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ । यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्ला लगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।
रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७, तिलागुफा नगरपालिकाका–७, खाडाँचक्र नगरपालिकाका–७, शुभकालिका गाउँपालिका–४, महाबै गाउँपालिका–५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।






