प्रदेश अस्पताल सुर्खेत र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच संझौता


क्यान्सर रोगको उपचार अब सुर्खेतमै सम्भव हुने भएको छ । प्रदेश अस्पताल सुर्खेत र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनबीच संझौता भएपछि यो सेवा सुर्खेतमै उपलब्ध हुने भएको हो ।
मंगलबार भएको संझौतामा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक शीवजी पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा प्रदान गर्न यातायात, खाजा लगायतका लागि आवश्यक बजेटको व्यवस्था गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने, र महिनाको कम्तीमा एक पटक क्यान्सर सेवाको विस्तारित कार्यक्रम संचालन गर्ने जिम्मा लिएको छ । यससँगै बहिरंग, अन्तरंग र उपचार सेवाहरू पनि प्रदान गरिनेछ ।
दोस्रो पक्ष प्रदेश अस्पताल सुर्खेतले क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्न आवश्यक पूर्वाधार, जनशक्ति परिचालन, र सूचना प्रवाहको व्यवस्था गर्ने जिम्मेवारी लिएको छ । यसले सेवा प्रभावकारी बनाउन सहयोग गर्नेछ ।
कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “प्रदेशका नागरिकले अब गुणस्तरीय क्यान्सर सेवा लिन सुर्खेतबाट बाहिर जानु पर्नेछैन ।“
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले यस सेवाबाट खासगरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ठूलो राहत पुग्ने बताए । “चितवन वा काठमाडौं जान नसक्ने गरीब तथा विपन्न क्यान्सर पीडितहरूलाई अब यहीं सेवा उपलब्ध गराउने छौं,“ उनले भने ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक शीवजी पौडेलले प्रदेश अस्पतालका जनशक्तिलाई तालिम दिने र आवश्यक उपकरणको व्यवस्था गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रदेश अस्पतालका अनुसार, एक महिनाभित्र क्यान्सर पीडितहरूलाई पहिचान गरी आउँदो असोजको दोस्रो सातादेखि उपचार सेवा सुरु गर्ने योजना छ ।






