हराउँदै मौलिक घर : रंगिन बन्दै बस्तीहरु


ताती (लाइन)लागेका घर । ढुंगा,काठ र माटोले लिपेर चिटिक्क पारेका गाउँका – घर । घरको अगाडी झुन्ड्याइएका काष्ठ कलाको प्रदर्शन गरेर बनाइका दलान । (बारदली) समयक्रमसँगै गाउँको परिचयसँग जोडिएका यस्ता चिनारी मेटिने क्रम बढ्दो छ ।
परम्परागत सिप साधन र प्रविधि प्रयोग गरी बनाइएका घरहरूलाई एकपछि अर्को गर्दै सिमेन्ट रंगिन जस्तापाताले बनेका घरले विस्थापन गरिरहेका छन् । ढालन र जस्ताले छाउन थालेपछि गाउँको स्वरुप परिवर्तन हुन थालेको छ । मौलिकता हराउन थालेको छ ।
नजिकको खोलाको बगर वा ढुंगे खानीबाट ढुंगा जम्मा गर्ने र आवश्यकता अनुसार कुदेर आकार निकाल्ने।त्यसपछि माटो मुछेर(गाह्रो) ढुंगाको जडान गर्ने यस्ता छाना बनाउने तरिका हो । स्थानीय स्तरमै उपलब्ध बलिया काठहरूको प्रयोग गरेर झ्याल ढोका बनाउने, दलिन राख्ने र पातला सिलिक्क परेका ढुंगाका छपनीहरूले छाउँदा यस्ता घर तयार गरिन्थ्यो ।
‘अचेल गाउँहरू गाउँ जस्ता देखिन छाडिसके,’ गाउँघरले मौलिकता गुमाउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै जुम्लाको पातारासी गाउँपालिकाका –३ चौर गाउँका लालबहादुर रावतले भने ‘सबैलाई लिन्टर (सिमेन्ट ढलानवाला)घर बनाउने रहर जागेको छ । यस्तै हो भने छोरानातिले पुराना शैलीका घर फोटोमा मात्र देख्न पाउने छन् ।’ परम्परागत घरहरूलाई आधुनिक संरचनाले विस्थापन गर्ने प्रतिस्पर्धा सदरमुकाम देखि शहरीकरणबाट सुरुवात हुदै, परम्परागत शैलीका घरहरू विस्थापित हुने अवस्थामा पुगेका छन् ।
यो प्रतिस्पर्धा अहिले जुम्लाका सबै गाउँतिर चल्दै छ । ‘हामी त पुरानै शैलीको घरमा हुर्किएका हौं, अहिले त्यस्ता घर देखिनै छोडे । अव त भूल्न पनि थालीसक्यौ । सबैले पुराना घर भत्काए । जुम्लामा माटोको छानो भएका घरहरु बिरलै भेटिन्छन् ।
पहिले पहिले १५ देखि २० घरहरु सँगै जोडिएका हुन्थे । जसलाई बाडा भनिन्थ्यो, ‘ नयाँ बनाउनेले अहिले कै शैलीका बनाउछन्,’ जुम्ला सदरमुकाम खलंगाकी लक्ष्मी खत्रीले भनिन्, ‘अहिलेका घरहरू बलिया त होलान् तर पहिलेका जस्ता सुन्दर लाग्दैनन्। यस्ता छानाको प्रचलन हराउन थालेकोमा स्थानीयहरू खुसी छैनन् ।’
‘सडक पुगेर गाडी गुड्न थालेपछि यहाँ पुराना शैलीका घर भत्काएर नयाँ बनाउने प्रतिस्पर्धा नै चलेको छ,’ उक्त गाउँपालिकाका –३ छुमचौर गाउँका धनकृष्ण बोहराले भने, ‘सक्नेले ढलान हालेर घर बनाएका छन । नसक्नेले छानोमा टिन (जस्तापाता) हालेका छन् ।
‘पहिले सडक पुगेको थिएन । माटोको छानो हाल्नुको विकल्प थिएन । त्यसले गर्दा गाउँ एकैनासको देखिन्थ्यो । अहिले सम्पन्न मानिसहरूले जस्तापाता हालेर घर बनाउने गर्छन्। पुराना शैलीका घर त अब गाउँमा नै छैनन् भन्दा पनि हुन्छ ।’ एकाएक गाउँभरीका मान्छे आधुनिक घरमा आकर्षित हुनुको कारण एक अर्काको देखासिकी भएको स्थानीय बताउँछन् ।
‘अब त आधुनिक घर नबनाए लाज हुने अवस्था भइसक्यो,’ बोहराले भने, ‘वरिपरिका सबैले पक्की घर बनाए पनि बीचमा माटोले छाएको एक्लै घर नसुहाउँदो जस्तो देखिने रैछ ।
त्यसैले पनि भत्काएर ढलान र रंगिन जस्ताको घर बनाउनुपर्छ ।’ आधुनिक घरको फेसनका कारण पुराना शैलीका घरहरू लोप हुँदै गए पनि स्वास्थ्यका हिसाबले पुराना शैलीका घरै गुनिला हुने गरेको स्थानियको अनुभव छ । ‘माटोको छाना हुँदा गर्मीर्मा शीतल हुन्थ्यो । जाडोमा न्यानो हुन्थ्यो,’‘माटोका घर वातावरणीय रुपमा पनि निकै अनुकुल र व्यवहारिक मानिन्छ ।’ उनले भने, ‘के फेसन आयो कुन्नी, ढलान घरमा त जाडोमा भित्र बसि नसक्नु हुन्छ ।’ उनले जस्तापाताले छाएको घरमा पनि गर्मीमा तातेर दिउँसो भित्र पस्न नसकिने र हिउँदमा जाडोले सताउने गरेको बताए ।
बलियो हुने हेर्दा आकर्षक देखिने भएकोले यहाँका स्थानीयले आधुनिक शैलिका घरहरू प्रति आकर्षण बढेको बताउछन्, ‘माटोको घर हाम्रा पुर्खाको चिनारी हो । घरमा उनीहरुको सीप र कला प्रयोग भएको छ । बलियोको हिसाबले पनि निकै बलियो र हेर्दा पनि उत्तिकै राम्रो छ । किन जस्ताको छाना हालेर घरलाई कुरुप बनाउने काम भइरहेको छ ।’
विकास र समृद्धिका नाममा मौलिकतामाथि भइरहेको अतिक्रमण राम्रो नभएको बुढापाकाहरु बताउँछन् । ‘परम्परागत शैलीका घर पर्यटकीय दृष्टिकोणमा महत्त्वपूर्ण आकर्षण हुन्,माटोको छाना भएको घर भूकम्प प्रतिरोधी भएको पनि उनिहरू बताउँछन् । अब त्यो विस्तारै लोप हुन थालेका छन् । गाउँले मौलिकता गुमाउनु राम्रो होइन,’ उनले भने ।






