गमगढीमा अखाद्य वस्तु बिक्री


मुगु जिल्ला सदरमुकाम गमगढी बजारलगायत स्थानीय तहमा अखाद्य वस्तु बिक्री भइरहेको छ । लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आइरहेका अधिकांश व्यापारीहरू सरकारी निकायमा दर्ता समेत भएका छैनन् । सदरमुकाम गमगढी बजारलगायत छायानाथ रारा नगरपालिकाको बालै, चैन, भट्टेचैर, लुम्स, खत्याड गाउँपालिकाको तारापानी, माथिचैर, गम्था चौर, सेरी जाम, रातापानी,सोरु गाउँपालिकाको सिप, दवारी, सोरुकोट, धैनकोट र मुगमकामारोङमा व्यापार व्यवसाय हुने गरेको छ ।
त्यसैगरी गाउँपालिकाको छाइल, पुल, ढुगेधारा, सिरानिसडा, मुगुमा सञ्चालन गरिरहेका तरकारी पसल, होटल, इलोक्टोनिक पसल, दैनिक उपभोग्य वस्तु खाद्यान्न, फेन्सी, सिलाइकटाइ, सुनचाँदी, मोबाइल, मासु, पसलले व्यापार व्यवसाय गर्दै आइरहे पनि राजस्व तिरेको देखिदैन । मुगुमा थोरै व्यापारीले मात्रै कर तिर्दै आइरहेका छन् । धेरैले कर छली गरिरहेका छन् । खत्याड गाउँपालिकामा रहेको ४ सय बढी व्यापारीमध्ये एक सय जनाले मात्र कर तिर्दैं आएका छन् ।
करको दायरमा ल्याउने आन्तरिक राजस्व कार्यालय, स्थानीय तह, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालयले अनुगमन र निगरानी गर्न नसक्दा मुगुका व्यापारीबाट राजस्व छली भएको स्थानीय व्यापारी शंकर जैसीले बताए । मुगुको गमगढीदेखि जिल्लाको ठूलो दोस्रो व्यापारी केन्द्र खत्याड गाउँपालिकामा रहेका ४ सय बढी व्यापारीमध्ये करिब ९० जनाले मात्रै कर तिरेको देखिएको छ ।
स्थानीय तह, आन्तरिक राजस्व कार्यालय वा सरोकारवाला निकायमा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नको लागी धेरै पटक पत्राचार गरिसकेको उद्योग वाणिज्य संघ खत्याड शाखा मुगुका अध्यक्ष लोकचन्द्र थापाले बताए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले २१ हजार ५ सय जरिवाना र १ लाख ७० हजार भन्दा बढीको म्याद नाघेका सामान नष्ट गरेको बताएको छ ।
नियम विपरीत रहेका व्यवसायहरूलाई जरिवाना गर्ने, अखाद्य वस्तु बिक्री गरेको भेटिएमा सामान बरामद गरी नष्ट गर्ने गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख हरिबहादुर वलीले बताए । बजारमा रहेका विभिन्न प्रकृतिका व्यापारीहरूले सञ्चालन गरिएका पसलहरूको अनुगमनमा तीव्रता दिने कार्य सुरु भइसकेको खत्याड गाउँपालिका उपाध्यक्ष सरिता रोकायाले बताइन् ।






