सवारी साधन सञ्चालनमा समस्या


कर्णाली कोरिडोरको हुम्ला खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्मको कच्ची सडकमा खाल्डाखुल्डी भएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।
सुर्खेतबाट मालबहाक सवारी साधन चलाउँदै आउनु भएका साजन पनेरुले हुम्ला खण्डमा पछिल्लो समय खाल्डाखुल्डी बढी भएका कारण सवारी चलाउन समस्या भइरहेको बताए । यसले गर्दा सवारी चलाउन समय लाग्नुका साथै जान समेत हुने गरेको उनको भनाइ छ ।
चालक पनेरुले कवाडीदेखि ल्याप्चेसम्मको ६५ किलोमिटर दूरीको सडकमा खाल्डाखुल्डी बढी भएका कारण दैनिक चारदेखि पाँच वटा ट्रक फस्ने गरेको बताए । उक्त सडकखण्डमा तीन सयभन्दा बढी खाल्डाखुल्डी रहका छन् ।
उनले तीन दिन अगाडि सर्केगार्ड गाउँपालिका–४ को बालुकुनाको खाल्डा भएको सडकमा ट्रक फस्दा सडक अवरुद्ध भएको बताउदै यी समस्या भोग्नु सामान्य भइसकेको बताए ।
अर्का ट्याक्टर चालक कुलबहादुर मगरले ठुला ट्रकहरू सञ्चालनमा आएपछि सडकमा बढी खाल्डाखुल्डी पर्ने गरेको बताए । उनले ठुला मालबहाक सवारी साधनले सडक बिगार्ने तर साना साधन मर्कामा पर्ने गरेको जानकारी दिए ।
यो खण्डमा हाल दैनिक १५ वटाभन्दा बढी मालबहाक ट्रक, २० वटा ट्याक्टर, १० वटा जिप र ५० भन्दा बढी मोटरसाइकल सञ्चालन हुँदै आएका छन् । सडकमा धुलो बढी हुनुका साथै खाल्डै खाल्डका कारण सवारी साधनले समस्या भोगी रहेको ट्राफिक प्रहरी सर्केगार्डले जनाएको छ ।






