धनुषाका उमेश ठाकुर जुम्लामा सैलुन चलाउँन पुगे

प्रायःजसो गाउँ घरका युवा तथा पुरुषहरु रोजगारी र मजदुरीका लागि दिनहुँजसो विदेशका विकसित मुलुक खाडीतिर उडिरहेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा हेर्दा आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्ष ०८०÷८१ मा जुम्लाबाट ३ हजार ५ सय ७० युवाले राहदानी लिएको प्रशासन कार्यालय जुम्लाका प्रमुखको जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

तर,तराई जिल्लाको धनुषाको हंसपुर–३ का उमेश ठाकुर भने हिमाली जिल्ला जुम्लातिर हिँडे । उमेश कपाल काट्ने पुर्ख्यौली पेसा पछ्याउँदै गृह जिल्ला बिर्सेर उनी चार वर्षअघि जुम्लाको सदरमुकाम खलंगामा पुगे ।

धनुषा हंसपुरका उमेश ठाकुर जुम्लामा कपाल काट्दै

जुम्ला पुगेर सैलुन खोल्ने उनी एक्ला होइनन् । वि.सं. २०६३ साल चैत्र महिनाको ३० गते सुर्खेत–जुम्ला कर्णाली राजमार्ग सञ्चालनमा आएपछि उमेशका मामा शिवनारायण ठाकुरले जुम्ला आएर सैलुन खोलेका थिए ।

सुर्खेत जुम्ला राजमार्गको लम्बाइँ २ सय ३२ किलोमिटर छ। पश्चिम नेपालको सुर्खेत बाट दैलेख र कालिकोट हुँदै जुम्ला सम्म पुगेको छ । कर्णाली राजमार्ग अथवा सुर्खत–जुम्ला सडकखण्ड ।

उमेश मामाको पछि लागेर पहिलो पटक जुम्ला आइपुग्दा उनको मनमा कर्णालीमा साह्रै दुःख होला भन्ने लागेको थियो । ‘हिमाली जिल्ला सम्झने बितिकै निकै विकट होला, भीरैभीरको बाटो हिँड्नुपर्ला भन्ने अनुमान थियो, तर पहिलो पटक आइपुग्दा म अचम्मित परें,’ खलंगामा सगरमाथा हेयरकटिङ चलाइरहेका उमेशले भने, ‘कर्णाली दुर्गम मात्रै होइन् रहेछ, गर्ने युवाहरुका लागि आम्दानीका सम्भावनाको खानी देखे ।

उनका बुवा हीरालाल पुर्ख्यौली पेसा छाडेर गाउँमै खेतीपाती गरिरहेका छन् । चार कक्षासम्म मात्रै पढेका उमेशलाई भने मिहिनेत परिश्रम गर्ने हो । भने स्वदेशमै बसिखान सकिँदो रहेछ भन्ने अनुभव सुनाउछन् । उनले भने, दैनिक न्युनतम १ हजारदेखि अधिकतम ३ हजारसम्म अनिवार्य कमाइ हुन्छ । ‘पैसा कमाउनकै लागि विदेश खाडी धाउनुपर्ने छैन् । अलिकति मिहिनेत गरे स्वदेशमै आम्दानी हुने बाटा देखिने उनको भनाइ छ ।’ उनले खाने, ‘बस्ने खर्च कटाएर औसत मासिक ५० देखि ६० हजार घर पठाइरहेको बताए ।’

जुम्लामा सैलुन भित्रिएकै कर्णाली राजमार्ग खुलेपछि हो । सुर्खेत–जुम्ला गाडी चलेपछि जुम्ला आइपुगेको शिवनारायण बताउँछन् । त्यसअघि धेरैजसो स्थानीय कैंची किनेर कपाल काट्ने गरेको उनले बताए। उमेश आउँदा पनि सुरुमा सैलुन खासै चलेको थिएन ।

‘कपाल काट्न पनि पैसा हाल्नुपर्छ र भन्थे,’ उनले भने, ‘जागिरेहरूले कपाल काट्न थालेपछि बिस्तारै स्थानीय युवा पनि सैलुनमा आउन थाले ।’अहिले उनको सैलुनमा दैनिक कम्तीमा २० जनाले कपाल–दारी काट्ने गर्छन्।सैलुनमा कपाल रंगाउने, फेसियल, फेसवास, थ्रेडिङ, स्टिम बाफ, हाइलाइट, ब्लिच, आइरन, हेड मसाजको सुविधा छ ।

उमेशका बाआमा र परिवारलाई भने छोरा कर्णालीमा पुगेको प्रति खासै खुसी छैन। त्यति दुर्गम ठाउँमा किन गएको भन्छन् । तर, उनलाई भने जुम्लाको रमाइलो र चिसो हावापानीले लोभ्याइ सकेको छ।उनी मधेशको गप्रचण्ड गर्मीमा बसेका बाआमालाई जुम्लाको चिसो, प्राकृतिक सुन्दरताका कुरा सुनाइरहन्छन् ।

मधेशबाट कपाल काट्नकै लागि जुम्ला आउनेमा उमेशका मामा–भान्जा मात्रै छैनन्,सिरहा लक्ष्मीपुर गाउँपालिकाका २३ वर्षीय पुष्कर ठाकुर पनि दुई वर्षदेखि यतै छन् । सदरमुकाम खलंगाको बीचैमा खुलेको उनको सैलुनमा कपाल काट्नेको सधैंजसो भीड लाग्छ ।

त्यही भएर उनले पसलमा दुई जना कर्मचारी पनि राखेका छन् । प्लस टु पढेर जुम्लामा उक्लिएका पुष्करका दाइ भने कतारमा छन् । ‘अरूका लागि कर्णालीमा विकट र गरिबी होला, हामी तराईवासीका लागि कर्णाली सम्भावनाको खानी पनि हो,’ उनले भने ।सिरहा नवराजपुरका प्रभुनारायण ठाकुर पनि १३ वर्षदेखि जुम्लामै छन् ।

सुरुवातमा चिसोले सताए पनि अचेल भने यही चिसोमा मन बसेको उनले बताए।उनी दैनिक २२ देखि २५ जनाको कपाल काट्छन् । खलंगामा मात्रै मधेशबाट आएका २० जनाले सैलुन खोलेका छन् ।

उनीहरूले जुम्लामा ७ सदस्यीय सैलुन व्यवसायी समिति गठन गरेकोे बताउँछन् । महिनैपिच्छे समितिको बैठक बस्छन् । कामको समीक्षा गर्छन्।परिस्थितिअनुसार दररेट निर्धारण गर्छन् । उनीहरूलाई सरकारी कार्यालय, सेना र प्रहरीको क्याम्पमा पनि कपाल काट्न बोलाउने भएकाले भ्याइनभ्याई हुन्छ ।

उमेशले स्थानीय युवालाई पनि कपाल काट्न सिकाउने गरेको बताए । उनले सिकाएका दुई स्थानीयले आफैं सैलुन खोलिसकेका छन् । पछिल्ला वर्षमा स्थानीय तहका केन्द्रमा पनि व्यावसायिक रूपमा सैलुन खुल्ने क्रम बढ्दो छ ।

धनुषाका उमेश ठाकुर जुम्लामा सैलुन चलाउँन पुगे

‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता

धनुषाका उमेश ठाकुर जुम्लामा सैलुन चलाउँन पुगे

देश र जनताको उन्नतिका लागि दलहरू बलियो