पाँच अर्ब ६३ करोड लागत, चार पालिकाका स्थानीय लाभान्वित


सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को गढी–बराहताल–कल्याणगढ–छाप्रे–दोबाटा–रेक्चा–धनरास–बेनीघाट सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआए) प्रतिवेदन सार्वजनिक भएको छ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको योजना तथा अनुगमन महाशाखाको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले आयोजना निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
म्हाशाखाले सात दिने सूचना जारी गरेर वन तथा वातावरण मन्त्रालय सार्वजनिक गरेको प्रतिवेदनमा पाँच अर्ब ६३ करोड लागत लाग्ने अनुमान गरिएको छ । पाँच अर्ब ६२ करोड ९९ लाख १० हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।
जसअनुसार प्रतिकिलोमिटर सडक निर्माणका लागि पाँच करोड ५१ लाख २४ हजार ९ सय ४७ रुपैयाँ लागत लाग्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजना निर्माण सुरु भएको तीन वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
प्रस्तावित आयोजना कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१४ गढीबाट शुरु भएर बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिकालाई जोड्दै चौकुने गाँउपालिका–३ बेनीघाटमा यो सडक समाप्त हुन्छ । आयोजनाको पहिलो खण्ड वीरेन्द्रनगर–१४, को गढीदेखि कर्णाली राजमार्गको मापदण्डमा स्तरोन्नति गरी दोहोरो बिटुमिनस सतहको कालोपत्रे गरिने छ । उक्त सडकको क्षेत्राधिकार ३० मिटर रहने छ ।
यस्तै, सडकको फर्मेसन चौडाइ ९ मिटर (नाली बाहेक), १÷१ मिटर सोल्डजर स्तरोन्नतिका लागि प्रस्ताव गरिएको छ । प्रस्तावित सडक खण्डमा १ सय ९६ वटा पाइप कलर्भट (९० मिलिमिटर व्यास) र २७ वटा स्ल्याब कलर्भट प्रस्ताव गरिएको छ ।
वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ र ५ ले निर्देशित गरे अनुरुप वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित अनुसूची ३ (ङ) यातायात क्षेत्रमा ५० किलोमिटर भन्दा बढी लम्बाईको राष्ट्रिय राजमार्ग वा सहायक सडकको चौडाई बृद्धि हुने गरी स्तरवृद्धि, पुर्नस्थापना वा पुनःनिर्माण गर्ने भन्ने उल्लेख रहेको छ ।
त्यसैका आधारमा आयोजनाको कुल एक सय २ दशमलव १ सय ३३ किलोमिटर रहेको र २९ किलोमिटर नयाँ निर्माण तथा बाँकी ७३ दशमलव १ सय ३३ किलोमिटर स्तरवृद्धि गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यस आयोजना कुनैपनि वातावरणीय रुपमा संवेदनशील क्षेत्र जस्तै वन्यजन्तु आरक्ष, शिकार आरक्ष, राष्ट्रिय निकुन्ज तथा चुरे संरक्षण क्षेत्रमा पर्दैन ।
६४ हेक्टर जग्गा अधिग्रहण हुने
यस आयोजना कार्यान्वयनको लागि थप ६४ दशमलव ७ हेक्टर जग्गा स्थायी रुपमा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये ३४ दशमलव ८ हेक्टर जग्गा हालको सडकको चौडाई वृद्धि गर्ने कार्यको लागि हुनेछ भने ३० हेक्टर नयाँ ट्र¥याकको लागि आवश्यक पर्नेछ ।
स्थायी रुपमा अधिग्रहण गर्नुपर्ने जग्गामध्ये १५ दशमलव १ हेक्टर जमिन निजी स्वामित्वमा र बाँकी ४९ दशमलव ६ हेक्टर जमिन नेपाल सरकारको स्वामित्वमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै आयोजना निर्माणका लागि अस्थायी रुपमा ७ दशमलव ५ हेक्टर सरकारी स्वामित्वको बाँझो जमिन रहेको छ ।
८ लाख जनाले रोजगारी पाउने
प्रस्तावित आयोजना निर्माणको लागि ३० हजार ८ सय ६२ दशमलव ४३ घनमिटर ढुङ्गा, ५० हजार ३ सय ४ घनमिटर गिट्टी, १६ हजार ८ सय ७९ टन सिमेन्ट, ३१ हजार ८ सय ५५ दशमलव ४ घनमिटर बालुवा, १३ हजार ५ सय ३४ लिटर बिटुमिन (८०÷१०० खुल्ला) लगायत निर्माण सामग्री आवश्यक पर्नेछ ।
७६ लाख ७४ हजार २ सय ३४ लिटर डिजल, २३ लाख ७९ हजार १३ लिटर पेट्रोल, १३ हजार ५ सय ३४ दशमलव ८ लिटर लुब्रिकेंट र १ लाख १६ हजार ६ सय ७७ दशमलव ६ लिटर एलपी ग्याँस आवश्यक पर्ने प्रतिवेदनाम भनिएको छ । तीन वर्ष निर्माण अवधि सडक निर्माण आयोजनाबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा ८ लाख ४५ हजार ७ सय ४३ व्यक्तिले रोजगारी पाउने छन् ।
यस्तो छ आयोजनास्थलको पर्यावरण
प्रस्तावित आयोजना क्षेत्र समुद्री सतहबाट न्युनतम सोतखोलामा चार ४६ मिटरदेखि अधिकतम एक हजार ७ सय २८ मिटर उचाइसम्म पर्दछ । आयोजनाका लागि आवश्यक पर्ने कुल ५९ दशमलव ८८ हेक्टर जमिनमध्ये ४५ दशमलव ७० हेक्टर वन क्षेत्र, एक हजार २ सय २ हेक्टर खेतीयोग्य जमिन, दुई १६ हेक्टर बस्ती क्षेत्र पर्दछ ।
आयोजना क्षेत्रमा वायु, जल, माटो तथा ध्वनि प्रदुषणका उल्लेखनीय ठुला श्रोत÷कारकहरु नभएका कारण सो क्षेत्रमा वायु, जल, माटो तथा ध्वनिको गुणस्तर साधारणतया राम्रो रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोजना क्षेत्रमा सिसौ, खयर, दबदबे, सिमल, शिरिषलगायत बोटबिरुवा तथा सिउंडी, घ्यू कुमारी, केतुकी र भुलेत्रोलगायत गैह–काष्ठ वन पैदावार, २० प्रजातिका स्तनधारी, ३५ प्रजातिका पन्छीहरू, १५ प्रजातिका सरीसृप, पाँच प्रजातिका उभयचर रहेको प्रतिवेदन उल्लेख गरिएको छ ।
आयोजना प्रभावित चार स्थानीय तहहरुमध्ये वीरेन्द्रनगर नगरपालिका क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो दुई हजार ४ सय ५१ वर्ग किलोमिटर, पञ्चपुरी नगरपालिका सबैभन्दा सानो ती सय २९ दशमलव ९ वर्ग किलोमिटर, बराहताल गाउँपालिका ४ सय ५५ वर्ग मिटर र चौकुने गाउँपालिकाको क्षेत्रफल ३ सय ८१ वर्ग किलोमिटर रहेको छ ।
प्रस्तावित आयोजना कार्यन्वयन हुँदा जग्गा, घर संरचना, रुख बिरुवा लगायतका निजी तथा सार्वजनिक सम्पत्ति क्षतिसम्बन्धी केही महत्वपूर्ण नकारात्मक प्रभावहरू पार्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मुख्य रुपमा प्रभावित हुने सम्पत्तिमा निजी घरजग्गा तथा रुख बिरुवा र आयोजनाबाट कुल दुई २० निजि तथा सार्वजनिक संरचनाहरु प्रभावित हुनेछन् । निर्माण गरिने सडकको फर्मेसन चौडाई गर्दा १६ वटा घर संरचना प्रभावित हुने, दुई सय चार निजि तथा सार्वजनिक संरचनाहरुमा निजि घर, वार्ड कार्यालय, विद्यालय, चौताराहरु सडक खण्डको प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिविकोपार्जनमा सकारात्मक प्रभाव पर्ने
यो आयोजना निर्माण भएको यातायातको सुविधाले स्थानीय बासिन्दाको जनजीविकामा धेरै सकारात्मक प्रभाव पर्ने देखिन्छ । आयोजना निर्माण चरणमा जम्मा ८ लाख ४५ हजार ७ सय ४३ कामदार आवश्यक पर्नेमा एक लाख ५० हजार ६ सय ९१ दक्ष र ५ लाख ९५ हजार ५२ अदक्ष कामदारको आवश्यकता पर्ने हुँदा स्थानीयस्तरमा रोजगारी पाउने छन् ।
रोजगारीको अवसरसँगै सीप तथा दक्षता अभिवृद्धि हुनुका साथै स्थानीय उत्पादनले बजार पाउने र व्यापारिक गतिविधिमा बढ्ने अपेक्षा राखिएको छ । शिक्षा र स्वास्थमा पहुँच तथा आर्थिक अवसरको कारण आयोजना क्षेत्रका बासिन्दाको समग्र जीवनस्तरमा सुधार आउने जनाइएको छ ।
यस सडक आयोजनाले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ४, १४, बराहताल गाउँपालिका वडा नं. ५, ६, ७, ८, ९, र १०, पञ्चपुरी नगरपालिका वडा नं. १, ४, ६, ७, ८ र ९ र चौकुने गाउँपालिका वडा नं ३, ४, ५, र ६ मा जोड्ने छ ।






