सामुदायिक विद्यालयले प्राविधिक विषय पढ्ने विद्यार्थी पाउँदैनन्

सुर्खेतको वीरेन्द्रनगर–१० मा रहेको जन सेवा माध्यमिक विद्यालय घुस्राले पनि २०७५ सालदेखि १८ महिने कृषि प्राविधिक शिक्षा संचालन गरेको थियो । २०७५ सालमा कृषि प्राविधिक शिक्षा संचालन गरेको विद्यालयले १८ महिने कोर्ष तीन व्याज संचालन गर्यो ।

१८ महिने कोर्ष संचालन गर्दै गर्दा यसलाई त्यति सिटिभिटिले मान्यता दिदैन् भन्ने हल्ला भएपछि तीन वर्षे कोर्ष २०७६ सालबाट संचालन गरेको प्राध्यानाध्यापक भक्तबहादुर शाहीले जानकारी दिए । १८ महिने कोर्ष भने तीन व्याज मात्र संचालन गरेर बन्द गरिएको उनले बताए । १८ महिने कोर्षमा विद्यार्थीनै नभएपछि विद्यालयले प्राविधिक तर्फको कार्यक्रम बन्द गर्न बाध्य भएको प्राध्यानाध्यापक शाहीको भनाई छ ।

२०७५ सालमा ४० सिट कोटा ३४÷३५ विद्यार्थी हुने गरेकोमा अहिले भने १५÷१६ जना मात्रै विद्यार्थी भएको प्राध्यानाध्यापक शाहीले जानकारी दिए । उनले भने, ‘अहिले प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या घट्दो क्रममा छ । घट्नुका केहि कारण पनि छ । अहिले कर्णालीका हरेक पालिकामा सिटिभिटिको कृषि कार्यक्रम संचालन भएका छन् । र अर्को तर्फ क्याम्पसमा दुई वर्ष पढ्दा स्नातक तह पढ्न पाउने र प्राविधिक पढ्दा तीन वर्षे कोर्षमा पाँच वर्ष लाग्ने, ढिलो नतिजा प्रकाशित हुने भएकाले पनि विद्यार्थीको आर्कषण घट्दो छ ।’

जन सेवा मा.वि. मा वीरेन्द्रनगर सुर्खेत लगायत कालिकोट, जुम्लाबाट पनि विद्यार्थी पढ्न आउने गरेको प्राध्यानाध्यापक शाहीले बताए । तीन वर्षे कृषि प्राविधिक शिक्षा पढ्नलाई दुई लाख लाग्ने गरेको छ । कृषि विषय पठन पाठन रोकिएको जनसेवा मावि घुस्रा एउटा प्रतिनिधिमूलक विद्यालय हो । त्यस्ता विद्यालय कर्णाली प्रदेशभरी ठुलो संख्यामा रहेको छ । कृषि, पशु, इन्जिनियरिङ, कम्प्यूटर जस्ता प्राविधिक शिक्षातर्फ सामुदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थी नहुँदा कार्यक्रम बन्द गरिएका छन् ।

त्यस्तै दैलेखको लक्ष्मी माध्यमिक विद्यालयले पनि तीन वर्षे कृषि प्राविधिक शिक्षा २०७५ साल देखि संचालन गरेको थियो । तीन व्याजसम्म संचालन गरेको विद्यालयले तेस्रो व्याजनै अन्तिम भएको लक्ष्मी माध्यमिक विद्यालय गुराँस गाउँपालिका–४, रतिखोला दैलेखका प्राध्यानाध्यापक नयाराज शाहीले बताए ।
पहिलो व्याजमा ३३ जना, दोस्रो व्याजमा १० जना र तेस्रो व्याजमा तीन जना मात्र भएको प्राध्यानाध्यापक शाहीले जानकारी दिए । पछिल्लो समय विद्यार्थीनै नभएपछि प्राविधिक शिक्षा संचालन गर्न नसकिने उनको भनाई छ ।

त्यस्तै जुम्लामा पनि प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या न्यून नै छ । मालिका माध्यमिक विद्यालय सिजा गाउँपालिका–१, जुम्लाले कृषि प्राविधिक शिक्षा १८ महिने कोर्ष र तीन महिने कोर्ष संचालन गरेको थियो । १८ महिने कार्ष २०७४ सालदेखि सञ्चालन गरेको थियो भने तीन महिने कोर्ष २०७५ सालदेखि सञ्चालन गरेको थियो ।

अहिले भने दुई वर्ष देखि १८ महिने कोर्ष बन्द भएको मालिका माध्यमिक विद्यालयका प्राध्यानाध्यापक परेकराज खत्रीले जानकारी दिए । विद्यार्थी नै पाउन मुस्किल भएपछि बन्द गर्नुपर्ने वातावरण सिर्जना भएको उनको भनाई छ । २०७४÷०७५ मा विद्यार्थीको संख्या भर्ना गर्न समेत प्रतिस्पर्धा भएकोमा पछिल्लो समय निकै कम भएको प्राध्यानाध्यापक खत्रीले बताए । प्राध्यानाध्यापक खत्रीले भने, ‘अहिले त तीन बर्षे कोर्षमा पनि विद्यार्थीको संख्या न्यून छ ।’

अहिलेको परिस्थिति अनुसार प्राविधिकतर्फ पहिलाको जस्तो रोजगार नहुने, प्रतिस्पर्धा बढि हुने र विषेशगरी विद्यार्थीहरु ११÷१२ पास गरेर विदेश तिरको लाईन बनाउने भएकाले पनि प्राविधिक शिक्षामा विद्यार्थीको संख्या घटेको प्राध्यानाध्यापक खत्रीको भनाई छ ।

कर्णाली प्रदेशमा तीन हजार दुई सय ४३ वटा विद्यालयहरु रहेका छन् । जसमा सामुदायिक विद्यालयको संख्या तीन हजार २६ वटा रहेको छ भने निजि विद्यालयको संख्या दुई सय १७ वटा रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती विद्यालय मध्ये एक सय चार वटा सामुदायिक विद्यालयले प्राविधिक शिक्षा संचालन गरेका छन् ।

प्राविधिक विषय पढ्ने विद्यार्थी सुर्खेतमा बढी
पछिल्लो समय कर्णाली प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या भने घट्दै गएको छ । आर्थिक बर्ष २०७७÷०७८ मा तीन हजार चार सय १५ जनाले प्राविधिक शिक्षा पढ्को थिए । आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार नौं सय ४५ जना विद्यार्थीले प्राविधिक शिक्षा पढ्ेका थिए, भने २०७९÷०८० मा तीन हजार तीन सय ६१ जनाले प्राविधिक शिक्षातर्फ भर्ना भएर पढिरहेका छन् ।

प्रदेशभरमा सबैभन्दा बढि सुर्खेत जिल्लाबाट प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या बढि रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्णाली प्रदेश कार्यालयको तथ्यांकले देखाउँछ । सुर्खेतबाट आर्थिक वर्ष २०७९÷०८० मा एक हजार एक सय ९९ जना, आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार ६४ जना र २०७७÷०७८ मा नांै सय ८० जनाले प्राविधिक शिक्षातर्फ भर्ना भएका थिए ।

त्यसैगरी जुम्लामा आर्थिक वर्ष २०७७÷०८८ मा पाँच सय ८० जना, दैलेखमा चार सय ९० जना, जाजरकोटमा दुई सय ७० जना, सल्यानमा दुई सय ९० जना, कालिकोटमा दुई सय १० जना, रुकुम पश्चिममा दुई सय ३० जना मुगुमा एक सय ८० जना, हुम्लामा ९५ जनार डोल्पामा ९० जना विद्यार्थी भर्ना भएका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा जुम्लामा पाँच सय ६० जना, दैलेखमा तीन सय ६४ जना, जाजरकोटमा तीन सय ३२ जना, सल्यानमा दुई सय ३८ जना, कालिकोटमा एक सय सय ९६ जना, रुकुम पश्चिममा दुई सय ३८ जना, मुगुमा ८५ जना, हुम्लामा ८९ जना र डोल्पामा ६० जना रहेका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा जुम्लामा चार सय ५७ जना, दैलेखमा तीन सय ६३ जना, जाजरकोटमा दुई सय दुई जना, सल्यानमा दुई सय २९ जना, कालिकोटमा एक सय सय ८७ जना, रुकुम पश्चिममा दुई सय १४ जना, मुगुमा एक सय सात जना, हुम्लामा ४६ जना र डोल्पामा ७६ जना विद्यार्थीले प्राविधिक शिक्षा पढेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

१०४ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा
प्रदेशका तीन हजार दुई सय ४३ विद्यालयहरु मध्ये प्रदेश अन्तर्गत डिप्लोमा÷प्रमाण पत्र तह र प्राविधिक एस.एल.सी संचालन गरिहेका सामुदायिक विद्यालय एक सय चार वटा रहेका छन् । यी सामुदायिक विद्यालयहरुले तीन वर्षे र १८ महिने प्राविधिक शिक्षा संचालन गरिरहेका छन् ।

जसमा सुर्खेतका २४, दैलेखका ११, कालिकोटका १०, जुम्लाका १६, डोल्पाका दुई, हुम्लाका चार, मुगुका १०, सल्यानका सात, जाजरकोटका आठ, पश्चिम रुकुमका १२ वटा र थप तीन विद्यालयले पनि केहि समयदेखि संचालन गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए ।

त्यसैगरी प्रदेश अन्तर्गत डिप्लोमा÷प्रमाण पत्र तह र प्राविधिक एस.एल.सी संचालन गरिरहेका निजि संस्थाहरुको संख्या भने १८ वटा रहेका छन् । जसमा सुर्खेतका ११, दैलेखका चार, कालिकोटका दुई र सल्यानका एक वटा रहेका छन् ।

यत्स्तै प्रदेशमा आंगिक तथा साझेदारी संस्थाहरुले पनि प्राविधिक शिक्षा संचालन गरिरहेका छन् । जसमा सुर्खेत,दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र जुम्लामा एक÷एक वटा आंगिक तथा साझेदारी संस्थाहरुले संचालन गरेका हन् ।

सामुदायिक विद्यालयले प्राविधिक विषय पढ्ने विद्यार्थी पाउँदैनन्

YUGAAWHAN NATIONAL DAILY (2080-09-23)

सामुदायिक विद्यालयले प्राविधिक विषय पढ्ने विद्यार्थी पाउँदैनन्

रिसाए उपप्रधानमन्त्री खड्का