त्रिपालमुनिको बसाइ कठिन


गत कार्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको मंगलवार दुई महिना पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार एक सय ६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् ।

त्रिपाल मुनि बसेकाहरूलाई चिसो छेक्नका लागि न्याना कपडाहरू छैनन् । बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई त्रिपाल मुनिको बसाइ थप कठिन छ । जाजरकोट सदरमुकाम खलंगादेखि भेरी नदी वारिपारि रुकुम पश्चिमको आठबिसकोट राडी बजारसम्म त्यस्ता दर्जनौँ बस्तीहरू छन्, जो उजाड बनेका छन् ।

भूकम्प गएको एक महिनाभित्रै पीडितका लागि अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको सरकारले दुई महिना बित्दा पनि पहिलो किस्ता बाफतको २५ हजार रुपैयाँ अहिलेसम्म पीडितको खातामा नपठाएको जाजरकोटको नलगाड नगरपालिका–१२ का स्थानीय अगुवा दानबहादुर परियार बताउँछन् । ‘हाम्रा समस्या सुनाइ नसक्नु छन् । पहिलो किस्ताको रकम हामीले अझै पाएका छैनौं,’ दानबहादुरले भने, ‘पैसा कहिले पाउँछौं, टहरा कहिले बनाउँछौं, कुनै टुंगो छैन ।’

भूकम्पले सबैभन्दा धेरै मानवीय क्षति भएको नलगाड नगरपालिका वडा नम्बर १ मा रहेको चिउरी गाउँ उजाड देखिन्छ । यो बस्तीमा केही राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले २०–२५ वटा अस्थायी टहरा बनाइदिएका छन् ।
तर राज्यको तर्फबाट अहिलेसम्म अस्थायी टहरा निर्माणमा कुनै पनि काम हुन नसकेको सोही क्षेत्रका युवा महेश चदारा बताउँछन् । ‘राजनीतिक दल र विभिन्न संघ संस्थाहरुले केही टहरा बनाइदिएका छन् । तर २ महिना बित्दा पनि सरकारको उपस्थिती यो बस्तीमा छैन,’ उनी भन्छन् ।

दुई सय बढी घरधुरी रहेको चिउरीमा ८० प्रतिशत घरहरू पूर्णरुपमा क्षति भएका छन् । रहेका अन्य घरहरू पनि बस्न नमिल्ने खालका छन् । सिंगो गाउँ नै त्रिपालमुनि बस्दै आएको छ ।

दुई महिनादेखि त्रिपालमुनि नागरिकहरूले कष्टकर दैनिकी गुजारीरहेका छन् । दिनानुदिन बढिरहेको चिसोले पालमुनिको बसाइ निकै कष्टकर बनिरहेको भूकम्प पीडितहरु बताउँछन् । ‘बिहान उठ्दा तुसारोले त्रिपाल भिलेको हुन्छ । एकछिन पछि तपतप पानी चुहिन थाल्छ’ बारेकोट गाउँपालिका–१, सिर्पाचौरका विरेन्द्र बस्नेत भन्छन्, ‘पुस–माघमा त्रिपालमुनि बस्दा चिसोले गाउँका धेरैजनाको मृत्यु भइसकेको छ ।’

त्रिपालमुनिको बसाइ कठिन

YUGAAWHAN NATIONAL DAILY (2080-09-17)

त्रिपालमुनिको बसाइ कठिन

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो