डा. गोविन्द केसीले तीन दिने सत्याग्रह शुरु गर्ने

डा. गोविन्द केसीले शुक्रवारदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिने सत्याग्रको घोषणा गरेका हुन् । उनले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बेलुकी नगरेको भन्दै उनले शुक्रवार बेलुकी ५ बजेदेखि सत्याग्रह शुरु गर्ने बताए । विगत लामो समयदेखि मुद्दा उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उनकोे आरोप छ ।
उनले भने, ‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । हामीले विगत लामो समयदेखि विभिन्न मुद्दा उठाएर त्याग्रह गर्दै आए पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले जवाफदेही बनाउनका लागि हामीले मङ्सिर २९ गते बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दछौँ ।’
केसीले सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउन र सबै निःशुल्क औषधि पाइने सुनिश्चित गर्न, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने माग राखेका छन् ।
यसैगरी जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न, सय शय्याभन्दा बढी क्षमता भएका एक सरकारी अस्पतालमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रमहरु शुरु गर्न माग गरेका छन् ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्न, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै आफूसँग यस अगाडि सम्झौता भएबमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्न, एकीकृत प्रतिष्ठान ऐन शिघ्र जारी गर्न र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानुनी व्यवस्था गर्न उनको माग छ ।






