पातारासीमा रैथाने बालीको सात पकेट क्षेत्र

जुम्लाको पातारासी गाउँपालिकाले रैथानेबालीको संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको छ ।
एक गाउँ,एक उत्पादनलाई प्रोत्साहन दिन,चक्लाबन्दी खेतिलाई जोड दिन, सामुहिक खेतिलाई बढवा दिन र कृषिलाई व्यवसायिक बनाउनको लागि गाउँपालिका भित्र सात वटा पकेट क्षेत्र तोकिएको हो ।
पहिलो स्थानीय सरकारले स्थानीय रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्न सातवटा पकेट क्षेत्र घोषणा गरेको हो । अहिलेको स्थानीय सरकारले पनि निरन्तरता दिदै आएको छ । स्थानीय उत्पादनलाई जोड दिदै बाँझो जग्गामा पुर्ण खेती गर्ने, बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए ।
फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र स्याउ पकेट क्षेत्र सहित सात वटा पकेट क्षेत्रमा निधारण गरेको बोहोरा बताउँछन् ।
पातारासीको उत्पादन बाहिर जिल्लामा बिक्री हुने गरेको उनी बताउँछन् । यहाँको उत्पादन बाहिर लैजान सहज छ, हामीले सात वटा बालीलाई निर्यातमुखी बनाइरहेका छौं ।
स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कृषिमा लगानीसँगै उक्त ठाउँको उत्पादनको माग बढ्दै गएको र भाउ पनि बढिरहेको युवा किसान हर्कबहादुर बोहाराले बताए ।
आयातित कृषिजन्य उत्पादन रोक्न पनि पकेट क्षेत्रको अवधारणा अघि सारिएको थियोे।पकेट क्षेत्रका लागि २४ लाख ८५ हजार रुपैयाँ संघीय सरकारबाट विनियोजित भएको थियोे, भने १० लाख प्रदेश सरकार हो । संघीय सरकारबाट पातारासी एक स्यालागडि गाउँमा फापर, ३ मा कालीमार्सी धान, ४ लुममा चिनो कागुनो, ५ माथि लोर्पामा ओखर, ६ बातामा स्याउ र ७ नम्वर वडाको पट्मारामा आलु पकेट क्षेत्र तोकिएको छ ।
एक लाख १२ हजार जनश्रमदान भएको कृषि विकास शाखा प्रमुख रुपक बुढाले बताए । पातारासी गाउँपालिकाले प्रत्येक वडामा सुहाउँदो बालिको पकेट क्षेत्र तोकेर उत्पादन बढाउने र बाँझो जग्गाको उपयोग गरि रोजगारीको सृजना गर्ने काम सबैलाई हितमा रहेको उनको दाबी छ ।
पकेट क्षेत्रको निर्धारणले यहाँको कृषि बालीको प्रर्वद्धन हुने विश्वास गरिएको छ । अहिले गाउँपालिकाले पनि स्थानीय उत्पादनबाट बनेको परिकार नै खाजा नास्ताको रुपमा प्रयोग हुने गरेको छ ।
पातारासी गाउँपालिकाले प्राङ्गारिक खेतीका लागि जैविक विषादी बनाउने र मल बनाउने तालिम किसानलाई प्रदान गर्दै आइरहेको छ । कृषि शाखा प्रमुख बुढाले भने, ‘सके सम्म गोठे मलको प्रयोग गरौँ, यदि गोठे मलको सम्भावना हुन नसकेको खण्डमा खाडल खनेर अर्गानिक मल बनाउन सकौँ ।’





