आर्थिक मन्दीको प्रभावले बन्द हुन थाले व्यापारिक सटर

सुर्खेत । वीरेन्द्रनगर-११ कि कुसुम सापकोटाले बजारको शनिहल लाइनमा फेन्सी पसल छ । कोभिड-१९ (कोरोना) संक्रमण समय अघि उनले व्यवसाय सञ्चालनका लागि वीरेन्द्रनगर स्थित एक लघुवित्त संस्थाबाट ऋण लिएकी थिइन् । सुरुमा राम्रै चलेको उनको व्यवसाय महामारीका कारण धेरै समय सञ्चालनमा रहेन । व्यवसाय बन्द भएपछि कुसुमले केहि समय लघुवित्तलाई ऋणको किस्ता बुझाउँन सकिनन्, एक पछि अर्को गर्दै किस्ता थपिदै गयो ।

बन्दाबन्दी सहज भएपछि व्यापार विस्तारै लयमा फर्किदै थियो, तर देशमा आर्थिक मन्दी शुरु भएसँगै उनको व्यवसायले थप समस्या भोग्न पर्र्यो । जसोतसो किस्ता तिर्छु भनेर लघुवित्तसँग सम्झौता गरेकी कुसुमको व्यवसायमा आर्थिक मन्दीले सामान नै बिक्न छाडेपछि थप समस्याको सृजना भयो । लघुवित्तले समेत कुसुमको फोटो सामाजिक सञ्जालमा राखेर चरित्र हत्या सम्म गर्यो ।
‘पहिला कोरोनाले समस्या पार्यो । त्यसपछि यो आर्थिक मन्दीले हामी जस्ता धेरै महिलाहरुलाई घर न घाटको बनाएको छ’, कुसुमले भनिन्, ‘उति बेला व्यापार राम्रो चलेको थियो । सोही अनुसार सामान थप्न लघुवित्तबाट ऋण लिएँ । बिचमा केही समय किस्ता तिर्न सकिन । किस्ता तिर्न नसकेपछि मैले यतिसम्मको तनाव पाए म त्यो व्यक्त गर्न सक्दिन ।’
ऋण गरेको पैसा व्यापारमा लगानी गरिन् । तर, आर्थिक मन्दीको प्रभावले उनको फेन्सी पसलमा ग्राहकनै आउँन छाडे । लघुवित्तले समेत ऋण असुलीका लागि बारम्बार मानसिक तनाव दिन थाल्यो । यस्तो अवस्थामा सटर नै छाडेर भाग्नु वाहेकको विकल्प नरहेको उनको भनाई छ ।
त्यसैगरी वीरेन्द्रनगर-६ स्थित सुपर मार्केटमा खुद्रा पसल गर्दै आएकी भगवती बैगारको पनि अवस्था उस्तै छ । व्यापार हुन छोड्नु र घरबेटीले बारम्बार घर भाडा वापतको रकम तिर्न ताकेता गरेपछि भगतवीलाई सटर नै बन्द गर्नुपर्ने अवस्था आयो ।
वीरेन्द्रनगर-७, शंकर चोकमा खुद्रा पसल सञ्चालन गर्दै आएकी धना शाहीले पनि आर्थिक मन्दीले लघुवित्तको किस्ता तिर्न नसकेर पसल नै बन्द गरेकी छन् ।
यि प्रतिनिधि घटनाहरु आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर व्यवसाय नै बन्द गर्नु पर्ने अवस्थामा पुगेका हुन् । पछिल्लो समय देशमा जारी आर्थिक संकटको प्रभाव वीरेन्द्रनगरमा पनि पर्न थालेको छ । कोरोना भाईरस संक्रमण अवस्था पछि थला परेको अर्थतन्त्रको प्रत्यक्ष प्रभाव अहिले वीरेन्द्रनगरमा पनि देखा पर्न थालेको छ ।
यहाँ धमाधम व्यवसायिक सटरहरु खाली हुन थालेका छन् । कुनै समय थाम्नै नसक्ने गरी व्यापार हुने वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रका सटरहरु आर्थिक मन्दीका कारण धमाधम बन्द हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यापारीहरुको भनाई छ ।
एकातिर आर्थिक मन्दी अर्का तिर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजका कारण वीरेन्द्रनगरमा ख्याति कमाएका व्यापारीसमेत धरासायी बन्दै छन् । सात प्रतिशतका दरले लिएको ऋण अहिले १५ प्रतिशतसम्म तिर्नुपर्ने बाध्यता व्यवसायीलाई छ ।
चर्को व्याज नै मुख्य कारण : रावत
व्यापारीहरु धरासायी हुनुको मुख्य कारण आर्थिक मन्दी र बैंकको चर्को व्याज रहेको सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धनबहादुर रावत बताउँछन् । एकातिर आर्थिक मन्दी र महंगी बढ्नु अर्कोतर्फ बैंकहरुले अस्वभाविक व्याज बढाएर झन् विकराल स्थिती बनाउँदा पनि राज्य मौन बसेको रावतको आरोप छ ।
‘आर्थिक मन्दी र बैंकको चर्को व्याजले गर्दा उत्पादनहरु घट्ने, उद्योग कलकारखानाहरु बन्द हुने अवस्था आएको छ’, रावतले भने, ‘यस्तो अवस्थामा बैंकले व्याज बढाउनु हुँदैन । आर्थिक मन्दीबाट पार लाग्न राष्ट्र बैंकले अर्थ नीति बनाउनु पर्ने हो, तर यसमा न सरकार जिम्मेवार छ न त राष्ट्र बैंक नै ।’
व्यापारीहरुसँग बैंकको किस्ता तिर्ने पैसा नै नभएपछि कसैले सामान नै घरमा लिएका छन् । यसका साथै बैंकले व्यवसायमा ताला लगाउन थालेपछि व्यवसाय नै बन्द गर्नुको विकल्प नरहेको उनको भनाई छ । ‘आर्थिक समृद्धि लिने भनेकोे राष्ट्रले हो । नयाँ बजेट ल्याएर राष्ट्र बैंकलाई नियन्त्रणमा राखेर वित्तीय सुधार गरे मात्रै यो समस्या समाधान हुन्छ’, रावत भन्छन्, ‘प्रदेश सरकारले अहिलेसम्म हामीले भनेका केही काम पनि गरेको छैन । यिनीहरुले के सोच्नु पर्यो भने सबैभन्दा पहिला आर्थिक मन्दीका बेला करका दरहरु बढाउनु भएन । करका दायराहरु पो बढाउनु पर्यो । अन्य सम्भावित क्षेत्रहरुमा करका दायरा बढाउनुपर्छ ।’
संकट अन्त्यका लागि अन्तशुल्क, पर्यटन प्रवद्र्धन, होटल व्यवसाय, ट्रेनिङ विजनेश, उद्योग तथा आयात र निर्यातमा कर बढाउन नहुने, मौद्रिक नीतिमा सुधार ल्याएर बजारलाई चलाएमान बनाउनु पर्ने उनको भनाई छ ।






