भूमिहिनलाई जग्गा दिन गुर्भाकोटमा जग्गाको नापनक्सा कार्य सुरु

दिलिप ढकाल
गुर्भाकोट, ७ भदौं ।
गुर्भाकोट नगरपालिकामा भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम सुरु गरेको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित खटाङ्ग क्षेत्रबाट जगाहरुको नापनक्सा सुरु भएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले पानशमा बत्ती बालेर जग्गा नापी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रम बोल्दै नगर प्रमुख हस्त पुनले राष्ट्रिय भुमि आयोग सुर्खेत र गुर्भाकोट नगरपालिकाको समन्वयमा जग्गाको नाप नक्सा सुरु भएको मा खुशी ब्यक्त गर्दै सबैको साथ सहयोग भएमा आगामी ६ महिना भित्र गुर्भाकोट नगर भित्रका १४ वटै वडाका भूमिहीन तथा अब्यबस्थित बसोबासिलाई जग्गाधनि पुर्जा वितरण गरिने समेत बताउनुभएको थियो ।
त्यस्तै नगर उपप्रमुख मैना बिकले पनि गुर्भाकोट नगरपालिकाले राष्ट्रिय भूमि आयोग सुर्खेतसँग समन्वय गरेर काम सुरु गर्न सफल भएको र अब थप नापी सम्बन्धिको कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको थियो ।
साथै उहाँले केहि समय अघि कोटमाझ खर्कमा सेतो लालपुर्जा वितरण गरिएको स्मरण गर्दै जग्गाधनी पुर्जा पाउन कुनै संबैधानिक तत्वले नरोक्ने जिकिर गर्दै मालपोत कार्यालयले किन ढिलाई गरेको र ढिलाई गर्नुको कारण पत्ता लगाई छिटो भन्दा छिटो जग्गाधनी पुर्जा वितरण गर्नु गुर्भाकोट नगरपालिकाले र आफु स्वयमले पहल गर्ने समेत उहाँले बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बारम्बार जग्गाधनी पुर्जा दिने आश्वासन मात्रै दिने तर पुर्जा नदिने समस्याले गर्दा जनतामा निराशा पैदा भएको भन्दै जनतालाई भ्रममा नपार्न समेत आग्रह गरेका थिए ।

यति दिनेनै भए जसले बर्षौदेखि अन्नपात उब्जाएर खेती गर्दै आएको छ सोहि व्यक्तिलाई जग्गाधनी लालपुर्जा दिन समेत बोल्ने बक्ताहरुले आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले यस अघि चैत्र २५ मा साबिक कोटमाझ खर्कमा सेतो पुर्जा वितरण गरेको स्मरण गर्दै त्यो सेतो पुर्जाको तिरो बुझाउन मालपोत कार्यालय जाँदा मालपोतले तिरो नलिने समस्या भएको भन्दै यस कार्यमा अबरोध गर्नेलाई जनताले राम्रोसँग चिन्नु पर्ने समेत उहाँले जिकिर गर्नुभयो ।
साथै उहाँले पुर्जा बितरणमा अबरोध गर्ने जो कोहि भएपनि त्यो जनता बिरोधी भएको भन्दै मालपोत कार्यालयलाई समेत जनताको जग्गाधनी हुने सपनामाथी खेलवाड नगर्न समेत उहाँले आग्रह गर्नुभएको थियो ।

साथै उहाँले मालपोत कार्यालय मेहेलकुनालाई इंकित गर्दै मालपोत कार्यालयबाट सुकुम्बाशी तथा अब्यबस्थितलाई जग्गाधनी पुर्जा वितरणमा रोक लगाउने खालको परिपत्र केन्द्रमा भएको आरोप लगाउँद मालपोत कार्यालयको परिपत्रले लालपुर्जा वितरण रोकिएको भन्दै यस बिषयमा भएको के हो सत्य तथ्य पत्ता लगाएर जनतालाई जग्गा धनि बनाउन सबैले भूमिका खेल्नु पर्नेमा समेत उहाँले जोड दिनुभएको थियो ।
त्यसैगरी गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण कुमार बिकले स्वागत मन्तब्य राख्दै पचासाँै बर्ष देखि खनजोत गर्दै आएको र अहिलेसम्म पनि जग्गाको मालिक हुन नपाएको गुनासो गर्नुभयो । अबस्थालाई अन्त्य गर्नको लागि कर्णाली प्रदेशमै पहिलो कार्यक्रम सुरु गर्न सफल भएकोमा सबैलाई धन्याबाद ज्ञापन गर्दै यस महान कार्यमा सहयोग गर्न सबैलाइ अनुरोध गर्नुभएको थियो ।
भूमिको समस्या सम्बन्धी बनेको राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति सुर्खेत अन्तर्गतको गुर्भाकोट सेवा केन्द्रका प्रमुख चित्र ढकालले कार्यक्रम संचालन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा गुर्भाकोट नगरपालिका नगर–प्रमुख हस्त पुनको अध्यक्षता तथा नगर उपप्रमुख, मैना बिकको बिशेष अतिथिको रुपमा रहनुभएको थियो ।

त्यस्तै राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुर्खेतका सदस्य डीलसरा थापा, मालपोत कार्यालय मेहेलकुनाका प्रमुख बिमल आचार्य, प्रहरी चौकी मेहेलकुनाका प्रमुख कृष्ण खड्का, नेकपा एमाले जिल्ला कमिटि सदस्य तिलक खत्री, नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा क का सभापति केशरबहादुर ओली, नेकपा एमाले गुर्भाकोट नगर कार्यसमितिका अध्यक्ष देव बहादुर खत्री, नेकपा माओवादी गुर्भाकोट नगर कार्यसमिति अध्यक्ष जय बहादुर डाँगीकाे उपस्थिति रहेकाे थियाे ।
त्यसैगरी नेकपा समाजबादीका प्रमुख अमृत प्रसाद जैसी, जनता समाजबादी पार्टीका अध्यक्ष दिनेश सुनार, नापी कार्यालय मेहेलकुनाका प्रमुख शोम प्रसाद गौतम, गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बाशुदेव शर्मा, वडा नम्बर ८ का अध्यक्ष किरण कुमार बिक,वडा नम्बर ९ का वडा अध्यक्ष ज्ञान बहादुर खत्री, वडा नम्बर १२ का वडा अध्यक्ष तुलसी प्रसाद शर्मा ,वडा नम्बर १३ का वडा अध्यक्ष मधु गुरुङ लगायत कार्यपालिका सदस्य लगाएत स्थानिय को उपस्थिति रहेको थियो ।






