नेपाल ओमानसँग २–० ले पराजित

काठमाडौं, २१ जेठ ।
एएफसी एसियन कप छनोटका तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानसँग पराजित भएको छ । कतारमा रहेको नेपाली फुटबल टोलीले दोहामा शुक्रबार आफ्नो तेस्रो अभ्यास खेल ओमानसँग खेलेको थियो ।
सुहिम बिन हमाद स्टेडियममा भएको खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरमा पराजित भएको हो । ओमानको जितमा ओमार अल–मलिकी र इसाम अल सुभीले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा गोल मलिकीले ओमानलाई सुरूआती अग्रता दिलाएका थिए ।
पहिलो हाफ १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोल व्यहो¥यो । खेल सकिन २ मिनेट बाँकी हुँदा सुभीले गोल गर्दै ओमानको जित पक्का गरे । अधिकांश युवा खेलाडीका साथ कतार पुगेको नेपाल फिफा वरियताको १६८औं स्थानमा छ भने ओमान ७५औं स्थानमा छ ।
ओमानसँग खेल्नु अघि नेपालले दुई अभ्यास म्याच खेलेको थियो। जसमा नेपालले टिमोर लेस्टेसँग २–२ र श्रीलंकासँग १–१ को बराबरी नतिजा निकालेको थियो ।
एएफसी एसियन कप छनोटतर्फ समूह ए मा रहेको नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।त्यस्तै जुन ११ मा आयोजक कुवेत तथा जुन १४ मा इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।






