सुनभन्दा ४५०० गुणा महंगो युरेनियमसहित काँग्रेस नेता महत पक्राउ

काठमाडौं, ४ फागुन ।
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ । युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ ।
मंगलबार साँझ काठमाडौंको हायात होटलबाट कांग्रेस नेता महतसहित ८ जनाले युरेनियमसहित पक्राउ परेका छन् । प्रतिकिलो ३५ करोडमा ‘डिल’ गर्दैथिए ‘युरेनियम’जस्तो पदार्थ ‘युरेनियम’जस्तो पदार्थ कारोबार गरेको आरोपमा नेपाली कांग्रेस ललितपुरका नेता नवराज महतसहित ८ जनालाई प्रहरीले पक्राउ परेका हुन ।
६० वर्षीय महतसहित ८ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हायात होटलको कार पार्किङ क्षेत्रबाट सोमबार बेलुका पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित हायात रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
महत गएको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा (क)मा उम्मेदवार भई पराजित भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने पक्राउ परेका छन् ।
त्यसैगरी सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका–१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी छन् ।
त्यस्तै, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर पक्राउ परेका छन् । बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियम संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पार्किङस्थलमा राखेको बा५च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई पक्राउ गरेको थियो ।
उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रूपैयाँ मूल्यमा बिक्री गर्न लागेको खुलेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । उक्त कार्यमा अन्य ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरिएको उनले बताए ।
प्रहरीले उक्त कार, बा२६प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचय पत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दा सात दिन म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त पदार्थ ‘युरेनियम’ हो होइन यकिन छैन। उक्त पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ ।
के हो युरेनियम ?
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो ।
युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५। प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।
एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ ।
एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।
नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ ।
युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ ।






