प्रेम, पद र पैसा

रामप्रसाद गौतम । दुनियाँमा केवल तीन चिजका लागि अनन्त लडाइँ छ, त्यो भनेको पद, पैसा र प्रेम । सर्सर्ती हेर्दा पदको बाइप्रडक्ट पैसा, पैसा र जवानीको बाइप्रडक्ट प्रेम हो भन्नेबारे विभिन्न मत पाइन्छ ।

प्रेम भनेको विपरीत लिङ्गीबीच विभिन्न परिस्थितीले सृजना हुने यौन अभिलाषाको सांकेतिकरण हो । यसलाई योभन्दा बढी नाम दिनु बेकार प्रयासमात्र हो । त्यसपछि शुरू हुन्छ पद र पैसाको लडाइँ । यद्यपि; पैसाले मात्र पद उपलब्ध गराउन सक्दैन । तर, धेरै सहयोगी साधन हो ।

कहिलेकाहीँ त कानून तथा न्याय सम्मलाई पनि यी तीन चीजको अन्तर समायोजनले असर पार्छ । कति ठाउँमा पुष्टि हुन्छ । तर, कति ठाउँमा पुष्टि गर्न कठिन छ । अनुमानमै सीमित हुन्छ । तुलना गर्दा पैसाले पद दिलाउन थोरैमात्र सहयोग गर्छ । तर, पदले पैसा धेरै दिन्छ । पदको श्रेणी र स्वभावले केही थोरै धेरैको मात्रात्मक अन्तर देखाए पनि पद पैसा बनाउने आधार हो, कमाउने आधार होइन् ।

मानिस आफ्नो उमेर र औकात अनुसार पद पैसा र प्रेमका लागि दौडिरहेको छ । यी तीन वटै चीजहरू मानिसलाई आनन्द दिने तत्वहरू हुन् । जुन आनन्द क्षणिक पनि हुन सक्छ । दीर्घकालीन पनि हुन सक्छ । वास्तवमा पद, पैसा र प्रेम जीवनको धाराप्रवाह गर्ने करेन्ट हो । यसले क्षणभरमा रैतीलाई राजा बनाउन पनि सक्छ र तालमेल मिलाउन नसके जीवन नै समाप्त गर्न सक्छ ।

उल्लेखित ३ वटै चीज मानिसको कर्मबाटमात्र सम्भव छ । कुनै न कुनै तरिकाले कर्म नगरे न पद पाइन्छ, न त पैसा वा प्रेम । यी चीज जुन मानव खुशीका प्रमुख मानकहरू हुन् । सबैका लागि कर्म वा श्रम आवश्यक छ । शारीरिक श्रमबाट मानिसले थोरै जीवन निर्वाहका लागि मात्र पद, पैसा र प्रेम प्राप्त गर्छ । यसमा हरेक प्रकारका श्रमहरू एवम् पसिना बगाउने कामहरू हुन्छन् ।

यसको आफ्नै महत्व छ, किनकि अधिकांश मानिसको जीवन निर्वाह र रोजीरोटी यही कर्मबाट चलिरहेको छ । यो वर्ग परोक्ष रूपमा मानवका लागि उपकारी वर्ग पनि हो । जस्तैः किसान, रिक्सा वा ठेलावाला, सडक, नहर र सेतु निर्माता आदि । त्यो भन्दा अलिकति माथिल्लो तहको कर्मबाट अलि बढी, पैसा, पद र प्रेम प्राप्त गर्छ । यो कर्ममा शारीरिक श्रमबाट माथि उठेर मुखको बोल्ने कलालाई कर्मको रूपमा प्रयोग गरिन्छ ।

यसमा भाषण, गायन र शिक्षणजस्ता कर्महरू समावेश हुन्छन् । यसमा शारीरिक श्रमबाट भन्दा बढी फल प्राप्त हुन्छ । यसमा, कला, सीप, सहिष्णुता, सद्भाव, सत्संग, खेल र खेलाडीजस्ता अनेक विषयबस्तुहरू समावेश हुन्छन् । यो मनोरञ्जनसँग पनि मिल्दोजुल्दो हुन्छ । त्यसपछि आउँछ–उच्चस्तरको कर्म, जसमा दिमागले काम गरी रहेको हुन्छ । यसले सोच परिवर्तन गराउँदछ । यहाँ भलै पसिना नबगी रहेको होस्, कर्म भै रहेको हुन्छ ।

निःसन्देह प्रत्येक व्यक्ति उच्च बन्न चाहन्छ । पद, पैसा र प्रेममा सफल हुन चाहन्छ, माथि पुग्न चाहन्छ । तर, जो कोहीले चाहँदैमा यी चीजहरू सहजै प्राप्त हुँदैनन् । ‘कर्मन्नेवाधिकारेस्तु मा फलेसु कदाचन’ यो गीताको मूल सार हो । महाभारत लडाइँ पद, पैसा र प्रेमका लागि नै भएको थियो । महाभारतकालदेखि आजसम्म प्रत्येक मानिस फलको आशा नगरी कर्म गरिरहेको छ ।

फल तथा उपलब्धिको अपेक्षालाई त्यागेर नै मानव महान बन्ने प्रयास गर्छ । जसरी भगवानले अर्जुनलाई युद्ध जिताउन यो वाक्य भन्नुभएको थियो, त्यसरी हामी सबैले उच्च पद ठूलो धनराशी र आशातीत प्रेम पाउनुछ भने कर्मलाई शारीरिक श्रमबाट उठाएर दिमागी कर्मको स्तरमा लैजानुपर्छ । दिमागी कर्मले मात्र यी ३ चीजहरू मनग्गे रूपमा प्राप्त गर्न सक्ने बनाउँदछ । यहाँ २ प्रकारका पदलाई बुझ्नुपर्छ । एउटा हुन्छ–सार्वजनिक पद ।

जस्तै ः प्रधानमन्त्री, मेयर, सचिव न्यायाधीश आदि । अर्को क्षमतामा आधारित पद जस्तै ः बुद्ध, नानक, जेसस, गान्धी, पेले, मेस्सी, सचिन, माइकल प्लेप्स, सत्यसाई आदि । यी दुई पदमध्ये सार्वजनिक पदले यो सांसारिक चक्रलाई घुमाउँदछ । पैसा र पद बाह्य रूपमा बढी शक्तिशाली देखिए पनि आन्तरिक रूपमा प्रेम पनि त्यत्तिकै महत्वपूर्ण मानव अभिलाषाको केन्द्र हो । कुनै मानिसलाई उचाइमा लैजान प्रेमको आफ्नै शुक्ष्म शक्ति वा भूमिका हुन्छ ।

प्रेममा तथाकथित धोखा वा अतालमेलले मानिसलाई आत्महत्या गराउने सम्मको क्षमता राख्छ । प्रेमको अथाह सागर भित्र पैसा र पदको यस्तो श्रृङ्खला विद्यमान छ, जुन छिनछिनमा बदलिनसक्छ । ‘क’ ले ‘ख’लाई त्यत्तिबेलासम्म दिलोज्यानले माया गर्छ, जतिबेलासम्म कुनै ‘ग’ थप पद, पैसा र बुद्धिमत्तासाथ ‘क’ को जीवनमा आउँदैन । २ वर्षअघि ५० वर्षका मलेशियाका पूर्वराजा सुल्तान महम्मद पाँचौँले रूसकी एक मोडल ओकसाना बवोदिना वर्ष २७ सँग विवाह गर्नका लागि राजपाट त्याग गरे ।

ती सुन्दरीले पैसाका लागि विवाह स्वीकारिन्, उनीहरूको छोरा जन्म्यो, अब छोराको माध्यमबाट पूर्वराजाको सम्पत्ति लिनेगरी ती दुईबीच सम्बन्धविच्छेद भइसकेको छ । ओकसानाले आफूबाट जन्मेको छोरा नै मलेशियाको राजगद्दीको उत्तराधिकारी बन्न पाउनुपर्छ भनी दाबी ठोकेकी छिन् । बेलायतका राजा इडवार्ड तृतीयाले सन् १९३६ मा एक अमेरिकी महिला वालिस सिमसन जो विवाहित भएर सम्बन्धविच्छेद गरेकी थिइन् ।

उनीसँग विवाह गर्नका लागि राजगद्दी त्यागेका हुन् । कसैले प्रेमका लागि पद त्यागेका छन् । कसैले पैसा तथा पावरका लागि प्रेम छोडेका छन् । कसैले पैसाका लागि पद छोडेका छन् । जसको पछिल्लो उदाहरण ः अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पैसाका लागि पद त्यागेर विदेशिएका हुन् । रूसी समाचार पत्रमा गरिएको दाबी अनुसार उनले जहाजमा जाँदा चार वटा गाडीमा पैसा लिएर गएका थिए ।

त्यो जहाजमा पैसा नअटाएर भूइँमा नोट छरिएका थिए । यो पैसाका लागि त्यागिएको पद हो । अन्यथा निर्वाचित राष्ट्रपतिलाई सीधै गोली हान्ने साहस तालिबानमा थिएन र हुँदैन । उनी देशमै बसेको भए अहिले गद्दीच्यूत भएपनि १० वर्षको अन्तरालमा पदमा पुनः पुग्ने थिए । जो जसले जे गरे पनि यो इतिहासको घटना हो । अन्तिम सत्य के हो भने मानव जीवन यही पद, पैसा र प्रेमको वरीपरि घुम्छ ।

जसले यी तीन चीजलाई सन्तुलन गर्नसक्छ–उसले सफल जीवन बिताउन सक्छ । जसले यी मध्ये कुनैमा केही बढी आशक्ति देखाउँछ ः उ असफल हुन्छ । फ्रान्सका मिसेल फुको एक भनाइ यस सन्दर्भमा जोड्न मिल्छ उनले भनेका छन्, ‘ज्ञान जोसँग छ–उसँग शक्ति छ, शक्ति दमनकारी हुन्छ ।’ शक्ति दमनकारी हुन्छ, यो नेपालमै पनि देखियो । शासकहरूले के के मात्र गरेनन् अझै पनि डुक्रँदै छन् ।

तर, ज्ञानबाट शक्ति आउँदछ भन्ने कुरा अलि हजम हुन सकेन । ज्ञानबाट शक्ति आउने भए अनपढहरू कसरी शासक हुन्थे ! विश्वविद्यालयले शासक चुन्थे होला, यहाँ ज्ञानको ठाउँमा ट्यालेन्ट शब्द प्रयोग गर्ने हो की बहस गरौँ । जीवनमा पद पैसा र प्रेमबीच सन्तुलन राखौँ । (थाहाखबरबाट)

तपाईको प्रतिक्रिया