महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुँदै

काठमाडौं,६ फागुन । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेश्रो महिला खुला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०७७ सुर्खेतमा आयोजना हुने भएको छ । नेपाली महिला खेलाडीलाई अवसर दिँदै नयाँ खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा एसियाली र दक्षिण एसियाली खेलकुदमा सहभागी खेलाडीलाई भने निषेध गरिएको छ ।   

आयोजकका अनुसार फागुन २४ ÷२५ गते हुने प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउनेछन्। प्रतियोगिता विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा खेलाइने छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको आधिकारिक तौल समूहमा जुनियर, सिनियर तथा पुम्सेका सबै समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य, नेपाल तेक्वान्दो संघका सदस्य एवं महिला सशक्तिकरण समितिकी संयोजक नन्दा बस्यालले जानकारी दिइन् ।

झण्डै ४५ लाख ३३ हजार रुपैयाँ अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद तीन, दुई र एक हजार प्राप्त गर्नेछन् । यस्तै, शीर्ष तीन टीमले नगद १ लाख, ५० हजार र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । यस्तै, जुनियर तथा सिनियर विधाका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया