विवाह गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको सिंजा गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो । गाउँपालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

बाल अधिकार समितिका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताइन् । उनले भनिन,् ‘बालविवाह रोक्न चुनौती भएपछि यस्तो व्यवस्था गरिएको हो ।’

जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । बालविवाह रोक्न जनचेतना अभिवृद्धिलगायतका थुप्रै कार्यक्रम सञ्चालन गरे पनि रोक्न नसकेपछि वडाको सिफारिस बाध्य गरिएको छ ।

उनका अनुसार गाउँघरमा १५–१६ वर्षको उमेरमा बिहे गर्ने क्रम घटेको छैन । बिहे गरे पनि दर्ताका लागि वडामा नआउने गरेको पाइयो । कम उमेरमा गरिने बिहे रोक्न सिफारिस अनिवार्य गरिएको हो । उपाध्यक्ष रोकायाले भनिन्, ‘विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ ।’

कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । सिंजा गाउँपालिकामा गठित गाउँपालिका स्तरीय बाल अधिकार समितिको यहीँ वैशाख १० गते बसेको बैठकको निर्णय अनुसार १ देखी ६ सम्म बसोबास गर्ने विवाह गर्न उमेर पुगेका नागरिकहरुले विवाह गर्दा आफू बसोबास गर्ने वडाको वडा कार्यालयमा विवाह गर्न योग्य उमेर पुगेको प्रमाण पेश गरी अनिवार्य सिफारिस लिएर मात्र विवाह गर्न गराउन हुन निर्णय गरेको छ । यदि कानुन विपरित विवाह गर्ने गराउनेलाई कानुन बमोजिम कार्यवाही गरिनेछ ।

तपाईको प्रतिक्रिया