मनोसामाजिक अपाङ्गताको विषयमा बजेट बिनियोजन गरिदिन १३ बुँदे ध्यानाकर्षण पत्र

कोशिश सुर्खेतले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गताको विषयलाई बजेट बिनियोजन गरिदिन १३ बुँदे ध्यानाकर्षण पत्र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, सुर्खेतमा बुझाएको छ ।

मानसिक स्वास्थ तथा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा पैरवी गर्दै आइरहेको पैरवी समुह, कोशिश सुर्खेतका अध्यक्ष केशब रोकाया, कोशिश समाहित परियोजनाका अधिकृत महेशप्रसाद भट्टराई र मनोविमर्शकर्ता नरेन्द्र विश्वकर्मा सहितको टोलीले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेललाई १३ बुँदे ध्यनाकर्षण पत्र बुझाएको हो ।

मानसिक स्वास्थ्य रणनीति र कार्ययोजना अन्तर्गत कार्यक्रमहरु, निति तथा कार्यक्रममा समावेश गरी मानसिक स्वास्थ्य प्रवर्द्धनमा सहयोग गरिदिन अनुरोध गरिएको थियो ।

प्रदेशमा हाल सम्म पनि अपाङ्गता समन्यवय समिति गठन नभएकोले सो को यथासिघ्र गठन गरिनुपर्ने, सबै प्रकारका अपाङ्गता त्यसमा पनि सिमान्तकृत अपाङ्गताको रुपमा रहेका मनोसामाजिक, हेमोफेलिया, अटिजम र बौद्धिक, अपाङ्गतामा रहेका ब्यक्ति तथा तिनका घर परिवारकालागि विशेष ब्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको नियमित प्रयोग हुने औषधीहरु सर्वसुलभ उपलब्ध हुने वातावरण तय गरिनुपर्ने, प्रदेशमा मानसिक स्वास्थ्य सेवामा टेलिहेल्थ सेवालाई स्थानिय तहका अस्पतालसँग जोड्ने कार्यक्रम, प्रदेश स्तरीय स्वास्थ्य संस्थाहरुमा जनशक्ति, भौतिक संरचना तथा औषधीको ब्यवस्थापन गरिनुपर्ने, बीमा बाट उपलव्ध औषधिको व्यवस्थापन गरी समस्या भएका व्यक्तिको आवश्यकता अनुसार प्रदान गर्ने, प्रदेशले मानसिक स्वास्थ्य सम्बन्धि कर्मचारी र स्वास्थ्यकर्मीलाई तालिमको संचालन गरिनुपर्ने जनाइएको छ ।

प्रदेशले सञ्चालन गर्ने जनस्वास्थ्यका सबै कार्यक्रमहरुमा पनि मानसिक स्वास्थ्य सेवालाई एकिकृत गर्ने, प्रदेश सरकारको बार्षिक बजेटको परिचालन गरि मानसिक स्वास्थ्यको क्षोत्रमा कार्यरत गैह्रसरकारी तथा निजी संस्थाहरु संग साझेदारी गरिनुपर्ने, प्रदेश अस्पताल तथा सो अन्तर्गत रहेका अस्पतालहहरुमा मानसिक स्वास्थ्यको बहिरङ्ग र अन्तरङ्ग दुवै सेवा दिने व्यवस्था मिलाउने आत्महत्या रोकथामका लागि सरकारी, गैह्रसरकारी तथा निजि क्षेत्र संग बहुक्षेत्रीय समन्वय तथा सहकार्य गरिनुपर्ने, प्रदेश तहबाट मानसिक स्वास्थ्यको कार्यक्रम तथा मानसिक स्वास्थ्य सेवाको अनुगमन गरिनुपर्ने, प्रदेश अन्तर्गतका निकायमा एक कार्यालय एक मनोविमर्शकर्ताको व्यवस्था गरिनुपर्ने र कर्णाली प्रदेशको अपाङ्गता नीति तथा प्रोफाईल तयार गरिनुपर्ने लगाएतका माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गता को क्षेत्रमा बिगत १५ बर्ष देखि काम गर्दै आएको छ ।

“जसको सवाल उसको नेतृत्व” भन्ने नारालाई आत्मासाथ गर्दै स्वास्थ्य, शिक्षा,रोजगार र समावेशीकरण जस्ता क्षेत्रमा मनोसामाजिक अपाङ्गताको सवाललाई एकीकृत गर्न कोशिश प्रयत्नशिल रहेको छ । यस संस्थाले आफ्रनो स्थापनाकाल देखिनै मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा रहेको लाल्छना र विभेदलाइ न्यूनीकरण गर्दै स्वास्थ्यको मुल प्रवाहमा मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गतालाइ मुल प्रवाहिकरण गर्दै मनोसामाजिक अपाङ्गतालाई समान रुपमा समाबेशिकरण गर्नको लागि निरन्तर पैरवी गर्दै आइरहेको छ ।

‘यसै सन्दर्भमा कोशिशले वीरेन्द्रनगर सुर्खेतमा मनोसामाजिक अपाङ्गताको अवस्था भोगिरहेका ब्यक्तिहरुलाई संगठित गरि कर्णाली प्रदेशमा मनोसामाजिक अपाङ्गताका सवालहरुमा नियमति पैरवी गर्ने उद्धेश्यका साथ संस्था दर्ता ऐन २०३४ को परिधिमा रहि जिल्ला प्रशासन कार्यलय सुर्खेतमा कोशिश सुर्खेत विधिवत दर्ता भई कर्णालीमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा नियमित वकालत गर्दे आईरहेको व्यहोरा अवगत गराउदछौं ।

नेपाल सरकारले अनुमोदन गरेको राष्ट्रिय मानसिक स्वास्थ्य रणनिति २०७७ ले मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यको प्रबर्धनको लागि प्रदेश तहको भूमिकालाई नितिगत रुपमानै प्रष्ट पारेको र कर्णाली प्रदेशले जारि गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना २०७९—२०८७ ले मनोसामाजिक समस्यामा रहेका ब्यक्तिहरुका समस्याहरु समाधानका लागि रणनीति तथा योजना तय गरेको छ ।

तसर्थ, यी तयार भएका नीति, रणनीति एवं कार्ययोजनालाई मूर्तरुप दिनकालागि र मानसिक स्वास्थ्यको प्रर्बद्धनका साथै नितिगत कुराहरुलाई कार्यान्वयनमा ल्याउनका लागी आगामी आर्थिक वर्ष ०८१—८२ को नीति तथा कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु–स्वास्थ्यको विषयमा यथोचित बजेट बिनियोजन सहित तथा कार्यक्रमहरुमा यी विषयहरूलाइ उच्च प्राथामिकताका साथ उल्लिखत प्रस्तावहरूलाई वार्षिक कार्यक्रममा समावेश गरि सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया