महाधिवेशन तयारीमा कांग्रेसले जुम्लामा संयोजक र प्रतिनिधि तोक्यो

गोल्डेन बुढा

जुम्ला,२ असोज ।
नेपाली कांग्रेसले आसन्न १५औँ केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै जुम्लामा हेम बुढाथापालाई जिल्ला संयोजक र युवा नेता दीपेन्द्र हमाललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ। महाधिवेशनको आन्तरिक तयारी अघि बढाउन कांग्रेसले जिल्लामा संगठनात्मक गतिविधि समन्वय गर्ने जिम्मेवारीसहित दुवैलाई फरक–फरक भूमिका दिएको हो।नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले भदौ २५ गते बुढाथापालाई पठाएको पत्रमार्फत उनलाई जुम्ला जिल्ला संयोजकको जिम्मेवारी दिइएको जानकारी गराएका हुन्। बुढाथापा जुम्लाको चन्दननाथ नगरपालिका–२ का स्थानीय हुन्।पार्टीको महाधिवेशन सम्पन्न गर्न जिल्लाका साथीहरूको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसमा बुढाथापालाई जिल्ला संयोजक मनोनीत गरिएको पत्रमा उल्लेख छ।

संयोजकको जिम्मेवारी पाएसँगै उनले जुम्लामा कांग्रेसको महाधिवेशनसम्बन्धी गतिविधि तथा संगठनात्मक तयारीलाई समन्वय गर्नेछन्।तयारी समितिले जिल्लाको संगठनलाई मजबुत बनाउन बुढाथापाले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिकासमेत सार्वजनिक गरी गतिविधि अघि बढाएको जनाएको छ। पत्रअनुसार महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तयारी छ।त्यसअघि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ।

पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि पार्टी विधान र नेपालको संविधानअनुसार पदावधि समाप्त हुन लागेको तथा स्थानीय तह र प्रदेशसभाको निर्वाचनसमेत नजिकिँदै गएकाले महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको पत्रमा जनाइएको छ।अदालतमा विचाराधीन विवादको टुंगो लगाउँदै विगतमा प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा पार्टीलाई गतिशील बनाउने विश्वाससमेत तयारी समितिले व्यक्त गरेको छ।यस्तै, नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र हमाललाई पार्टीको आसन्न १५औँ केन्द्रीय महाधिवेशनका लागि जुम्ला जिल्लाको केन्द्रीय प्रतिनिधि नियुक्त गरिएको छ। पार्टी केन्द्रीय कार्यालयले महाधिवेशनलाई मर्यादित र सफलतापूर्वक सम्पन्न गराउने जिम्मेवारीसहित हमाललाई जुम्ला खटाउने निर्णय गरेको हो।नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौँमा हुँदैछ। देशभरका जिल्ला र निर्वाचन क्षेत्रहरूमा महाधिवेशनको आन्तरिक तयारी तीव्र पारिएको सन्दर्भमा केन्द्रीय प्रतिनिधिहरूको मनोनयन र कार्यक्षेत्र निर्धारण गर्ने क्रम सुरु भएको छ।नवनियुक्त केन्द्रीय प्रतिनिधि हमाललाई जुम्ला जिल्लामा पार्टीको सांगठनिक स्थिति सुदृढ बनाउने, महाधिवेशन प्रतिनिधिहरूको चयन प्रक्रियालाई निष्पक्ष र उत्साहजनक रूपमा सम्पन्न गराउने तथा स्थानीय नेतृत्वसँग समन्वय गरी महाधिवेशनलाई भव्य रूपमा सफल पार्ने मुख्य जिम्मेवारी तोकिएको छ।

 

यससँगै जुम्लामा कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहका अधिवेशनको तयारी तथा संगठनात्मक गतिविधि अघि बढ्ने भएको छ।

महाधिवेशन तयारीमा कांग्रेसले जुम्लामा संयोजक र प्रतिनिधि तोक्यो

महाधिवेशन तयारीमा कांग्रेसले जुम्लामा संयोजक र प्रतिनिधि

Leave a comment

Your email address will not be published. Required fields are marked *