जहाज उड्ने धावनमार्गमा झाडी

कुलेन्द्र शाही
सुर्खेत,१ असोज ।
कुनै समय चौरजहारी विमानस्थलमा जहाज आउने खबर गाउँभरि फैलिन्थ्यो । आकाशमा जहाज देखिनासाथ बालबालिकादेखि बूढाबूढीसम्म काम छाडेर विमानस्थलतिर हेर्न पुग्थे । जहाजको आवाजसँगै चहलपहल बढ्थ्यो । विमानस्थल आसपासका पसल र होटलमा व्यापार बढ्थ्यो । यात्रुहरूका लागि नेपालगन्ज र काठमाडौँ पुग्ने हवाई सेवा सहज थियो ।
आज त्यही विमानस्थलको दृश्य फेरिएको छ । जहाज उड्ने र अवतरण गर्ने धावनमार्गमा यात्रुका पाइला छैनन् । बरु घाँस, झारपात र बुट्यान फैलिएका छन् । विमानस्थलका संरचना तथा उपकरणसमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । कुनै समय हवाई सेवाको आशा बोकेको चौरजहारी विमानस्थल अहिले राज्यको लगानी उपयोग हुन नसकेको एउटा उदाहरण बनेको छ । तामाझाका साथ सुरु गर्ने तर सञ्चालनमा ध्यान नदिने प्रवृत्तिले करोडौंको लगानी बालुवामा पानी सरहर भइरहेको छ ।
चौरजहारीका स्थानीय प्रेम विकलाई विमानस्थलको पुरानो चहलपहल अझै सम्झनामा ताजै छ । ‘पहिले जहाजको आवाज आउनासाथ गाउँभरि बालबालिकादेखि बूढाबूढीसम्म आकाशतिर हेर्थे । कस्तो चहलपहल हुन्थ्यो, हप्तामा जहाज आउँथ्यो, गाउँभरि खुसी छाइन्थ्यो,’ उनले भने, ‘तर विमानस्थल कालोपत्रे भएपछि त सदाको लागि बन्द भएजस्तो भयो । एउटा पनि जहाज आउँदैनन् ।’
स्थानीय कमला नेपालीका लागि विमानस्थल यात्राको माध्यम मात्र नभई गाउँको व्यापार र रोजगारीसँग जोडिएको आधार बनेको थियो । ‘जहाज भएको समयमा यहाँ व्यापार व्यवसाय निकै चल्थे, तर अहिले त यहाँ व्यवसाय पनि शून्य अवस्थामा छन्,’ उनले भनिन्, ‘जहाज भए त पर्यटक आउँथे, होटल र पसल चल्थे । अहिले त सबै बन्दजस्तै छन् ।’
जाजरकोटको भेरी नगरपालिकाका नविन रोकाय पनि विमानस्थलको पुरानो दृश्य सम्झन्छन् । उनका अनुसार चौरजहारीमा जहाज आउँदा गाउँका मानिसहरू काम छाडेर भए पनि विमानस्थलमा जहाज हेर्न पुग्थे । ‘विगतमा जहाज आउँदा हामी गाउँभरिकै मान्छे काममा लागेको भए पनि एकछिन काम छोडेर भए पनि पारी जहाज हेर्थ्यौँ,’ उनले भने, ‘तर के गर्नु, जहाज आउनै छोड्यो ।’
उनले अब चौरजहारीमा जहाज आउँछ कि आउँदैन होला भन्दै उल्टो प्रश्न गरे । चौरजहारी विमानस्थल सञ्चालन नहुँदा तत्कालीन रुकुम, जाजरकोट, सल्यान र डोल्पालगायत जिल्लाका सर्वसाधारण मारमा परेका छन् । उनीहरुले विमानस्थलमा नियमित हवाई सेवा पुनः सञ्चालन हुने आशा गरिरहेका छन् ।
त्यसपछि आउन छाडे जहाज
वि.सं. २०२८ सालमा सञ्चालनमा आएको चौरजहारी विमानस्थलले लामो समयसम्म रुकुम पश्चिमसहित जाजरकोट र सल्यानका नागरिकलाई हवाई सेवा दिँदै आएको थियो । सडक सञ्जाल कमजोर रहेको समयमा नेपालगन्ज र काठमाडौँ जोड्ने हवाई सेवा स्थानीयका लागि महत्वपूर्ण यातायातको माध्यम थियो । तर, विमानस्थलको धावनमार्ग कालोपत्रे भएपछि हवाई सेवा नियमित हुन सकेन ।
२०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख रुपैयाँ लागतमा धावनमार्ग कालोपत्रे गरिएको थियो । कालोपत्रेपछि हवाई सेवा थप सहज हुने र नियमित उडान सञ्चालन हुने अपेक्षा स्थानीयको थियो । तर, त्यसको ठीक विपरीत विमानस्थल सुनसान बन्दै गएको छ ।
चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीका अनुसार कच्ची धावनमार्ग हुँदा नियमित रूपमा जहाज आउने विमानस्थल कालोपत्रे गरेपछि झाडीले ढाकिएको छ । ‘धावनमार्ग कच्ची हुँदा जहाज नियमित आउँथे, अहिले भने करोडौँ खर्चेर कालोपत्रे गर्दा पनि विमानस्थल सुनसान छ,’ उनले भने, ‘राज्यको ठूलो लगानी खेर गएको छ, यहाँका सर्वसाधारण हवाई सेवाबाट वञ्चित हुनुपरेको छ ।’ उनका अनुसार कालोपत्रे गरेपछि एउटा पनि जहाजले अवतरण नगरेको अवस्था छ ।
‘२०७० फागुनदेखि २०७२ भदौसम्म सरकारले धावनमार्ग कालोपत्रे गर्ने निर्णय गर्यो । अब त जहाज नियमित चल्छ, यहाँका स्थानीयहरूलाई निकै सहज हुन्छ भन्दै उत्साहित थियौँ,’ उनले भने, ‘तर कालोपत्रेपछि जहाज नै आउन छोडे ।’ उनले विमानस्थल सञ्चालनका लागि स्थानीय तहले नेपाल वायु सेवा निगम र नागरिक उड्डयन प्राधिकरणलाई पटक–पटक पत्राचार गरेको भएपनि सम्बन्धित निकायले चासो नदिएको बताए ।
उनले सम्बन्धित निकायसँग भेटेर समेत विमानस्थल सञ्चालनका लागि आग्रह गरिएको तर उनीहरुबाट बेवास्ता भएको बताए । ‘हामीले भेटेरै कति पटक पत्र दियौँ । भेटमा हामी जहाज पठाउँछौँ भन्नुभयो, पठाउनुभएन,’ उनले भने, ‘हिजोआज त जहाज आउँछ भन्ने आस नै छैन ।’ उनका अनुसार विमानस्थल बन्द हुँदा सबैभन्दा ठूलो मार बिरामी र विपन्न नागरिकलाई परेको छ । चौरजहारी नगर अस्पतालबाट दैनिक चारदेखि पाँच जना बिरामी अन्यत्र उपचारका लागि रिफर हुने र उनीहरू सडकमार्गबाट जानुपर्ने अवस्था रहेको उनले बताए ।
‘विमानस्थल बन्द हुँदा बिरामी र विपन्न नागरिकलाई समस्या भएको छ,’ उनले भने । हवाई सेवा बन्द हुँदा चौरजहारी आसपासका गुफा तथा धार्मिक स्थलसमेत ओझेलमा परेको नगरप्रमुख वादीको भनाइ छ । उनका अनुसार विमानस्थल सञ्चालनमा आए पर्यटन, होटल तथा स्थानीय व्यापार व्यवसायमा समेत सुधार आउन सक्छ ।
त्यस्तै, नेपाल वायु सेवा निगमले कालोपत्रेपछि केही उडान भए पनि कोरोना महामारी सुरु भएपछि माथिल्लो निकायको आदेशमा उडान बन्द भएको जनाएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको दाबी स्थानीय जनप्रतिनिधिको छ । करोडौँ रुपैयाँ खर्च गरेर धावनमार्ग कालोपत्रे गरिए पनि जहाज नआउँदा लगानीको प्रतिफल नागरिकले पाउन नसकेको उनीहरूको भनाइ छ ।
तीन जिल्लाका नागरिक मारमा
चौरजहारी विमानस्थल रुकुम पश्चिमका नागरिकका लागि मात्र नभई जाजरकोट र सल्यानका केही क्षेत्रका नागरिकका लागि समेत महत्वपूर्ण मानिन्छ । सडक सञ्जाल कमजोर रहेको समयमा आपत्कालीन यात्रा, बिरामीको उपचार, सरकारी कामकाज तथा अन्य अत्यावश्यक यात्राका लागि विमानस्थलको भूमिका महत्वपूर्ण थियो ।
अहिले हवाई सेवा बन्द हुँदा दुर्गम पहाडी क्षेत्रका नागरिकले लामो र जोखिमपूर्ण सडक यात्रा गर्नुपर्ने अवस्था छ । सडकमार्गबाट नेपालगन्ज, काठमाडौँलगायत सहर पुग्न समय लाग्ने भएकाले नियमित हवाई सेवा पुनः सञ्चालन गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्दै आएको छ ।
स्थानीयका अनुसार विमानस्थल सञ्चालनमा आए बिरामीलाई उपचारका लागि बाहिर लैजान सहज हुनेछ । पर्यटकको आवागमनसँग्ै होटल तथा पसलमा व्यापार बढ्नेछ । त्यसैले करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको विमानस्थललाई झाडीले ढाकिन दिनुभन्दा नियमित उडानको वातावरण बनाउनुपर्ने उनीहरूको माग छ ।
सञ्चालनमा ल्याउन सांसद शर्माको पहल
प्रतिनिधिसभा सदस्य गोपाल शर्माले आफुले विमानस्थल सञ्चालनका लागि पहल गरिरहेको बताए । उनले पर्यटन मन्त्रीलाई भेटेर समेत सञ्चालनका लागि आग्रह गरेको सरकारबाट सकारात्मक प्रतिक्रिया आएको बताए ।
‘यसअघि सञ्चालन गर्ने एउटा सेड्युल तयार भएको थियो । तर, राजनीतिक कारण सरकारको आलोचना गरे । सरकारले त्यो सेड्युललाई स्थगित गर्यो । म पनि सरकारप्रति सकारात्मक छु । सरकारले पनि सञ्चालनमा ल्याउनको लागि पहल गरिरहेको छ ।,’ उनले भने, ‘विमानस्थल सञ्चालन आउनेमा आशावादी छुँ ।’ पछिल्लो समय विमानस्थल सञ्चालनका विषयमा व्यापक छलफल भइरहेको र सकारात्मक नतिजा आउने सम्भावना रहेको उनको भनाइ छ ।
त्यस्तै, यसअघि पनि चौरजहारी विमानस्थलमा हवाई सेवा सञ्चालनको माग संसददेखि स्थानीय तहसम्म उठ्दै आएको थियो । यसअघि रुकुमपश्चिमबाट निर्वाचित सांसद जनार्दन शर्मा र जाजरकोटबाट निर्वाचित सांसद शक्तिबहादुर बस्नेतले रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न सरकारसँग माग गरेका थिए ।
जाजरकोट, रुकुम पश्चिम र सल्यानका नागरिकलाई पायक पर्ने स्थानमा रहेको विमानस्थलको पूर्वाधार तयारी अवस्थामा रहेको भन्दै उनीहरूले सञ्चालनका लागि निरन्तर आवाज उठाएका थिए । तर, उनीहरूले गरेको मागले पनि विमानस्थलमा नियमित उडान फर्काउन सकेन ।






