सम्पादकीय : पर्यटनमा प्रतिफलयूक्त लगानी गर

कर्णाली प्रदेश सरकारले पर्यटनलाई आर्थिक रूपान्तरणको आधार बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षमा ७५ करोड २१ लाख रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ । प्रमुख पाँच पर्यटकीय गन्तव्यको गुरुयोजना कार्यान्वयनदेखि पर्यटन पूर्वाधार, पहुँच, सेवा र प्रवद्र्धनसम्म सरकारको लगानी केन्द्रित हुने देखिन्छ । मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण तथा विकासका लागि मात्रै २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । समग्र पर्यटन प्रवर्धन तथा विकासका लागि थप ५३ करोड ८६ लाख रुपैयाँ छुट्याइएको छ । लगानीको आकार बढ्नु सकारात्मक भए पनि यसको प्रतिफल देखाउनु अबको मुख्य चुनौती हो । कर्णालीमा पर्यटनको सम्भावना ठूलो छ, तर वर्षौंदेखि पूर्वाधार अभाव, कमजोर सडक पहुँच, होटल तथा खानेपानीको कमी र प्रभावकारी प्रचारप्रसारको अभावले पर्यटन क्षेत्र अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । बजेट विनियोजन हुँदैमा पर्यटक बढ्दैनन् ।
पर्यटकलाई गन्तव्यसम्म पुर्याउने, त्यहाँ सुरक्षित र सहज बसाइको वातावरण बनाउने तथा स्थानीय उत्पादन र सेवासँग जोड्ने काम पनि उत्तिकै आवश्यक छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले पर्यटनलाई पूर्वाधार विकास, सेवा सुधार र गन्तव्य व्यवस्थापनसँग जोडेर अघि बढाउने सरकारको नीति रहेको बताएकी छन् । पार्क, उद्यान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तरोन्नतिलाई प्राथमिकता दिइनु त्यसैको संकेत हो । तर, पूर्वाधार निर्माणको गुणस्तर र उपयोगिता सुनिश्चित गर्नु अझ महत्वपूर्ण छ । सरकारले प्राथमिकतामा राखेका पाँच गन्तव्य कर्णालीका फरक विशेषताका प्रतिनिधि हुन् । रारा प्राकृतिक सौन्दर्य, काँक्रेविहार ऐतिहासिक तथा पुरातात्विक सम्पदा, बुलबुले र चौहान पार्क सहरी पर्यटन तथा कुपिण्डे र स्यार्पु प्राकृतिक पर्यटनका महत्वपूर्ण आधार हुन् । तर, कर्णालीको पर्यटन यतिमै सीमित छैन । शे–फोक्सुण्डो, पञ्चकोशी, सिञ्जा, लिमी उपत्यकालगायत असंख्य प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा अझै पर्याप्त उपयोग हुन सकेका छैनन् ।
प्रदेश सरकारले कर्णाली पर्यटन दशकमार्फत पर्यटनलाई रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ । हस्पिटालिटी, ट्रेकिङ गाइड, मौलिक वास्तुकला तथा रैथाने परिकारसम्बन्धी सीप विकासले स्थानीयलाई पर्यटनको लाभ प्रत्यक्ष पुर्याउन सक्छ । स्थानीय संस्कृति, कृषि उत्पादन, हस्तकला र जीवनशैलीलाई पर्यटन बजारसँग जोड्न सकिए गाउँमै आम्दानी सिर्जना गर्न सकिन्छ । तर, यसको पहिलो सर्त प्रभावकारी कार्यान्वयन हो । पर्यटकीय गन्तव्यसम्म सडक, यातायात, आवास, खानेपानी, सञ्चार र सूचना प्रणाली कमजोर रहेसम्म पर्यटक आगमन बढाउन कठिन हुन्छ । त्यसैले पर्यटनमा हुने अबको लगानी केवल संरचना थप्ने अभ्यास बन्नु हुँदैन । हरेक योजनाको परिणाम, उपयोगिता र स्थानीय लाभको स्पष्ट हिसाब हुनुपर्छ । पर्यटकको संख्या बढाउनेसँगै उनीहरूको बसाइ लम्ब्याउने र स्थानीयको आम्दानी बढाउने लक्ष्य पूरा भए मात्र पर्यटन कर्णालीको आर्थिक रूपान्तरणको आधार बन्न सक्छ । कर्णाली पर्यटन दशक त्यसका लागि अवसर हो, तर यसको सफलता बजेटमा होइन, कार्यान्वयन र परिणाममा मापन हुनेछ ।






