कर्णालीमा बढ्दो मानसिक स्वास्थ्य समस्या जोखिममा बालबालिका र युवा

ओम शाही

सुर्खेत, २६ भदौ । 

कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्याले आत्महत्याको दर डर लाग्दोगरी बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर आत्महत्याबाट तीन सय एक जनाको मृत्यु भएको छ । सोही अवधिमा आत्महत्यासम्बन्धी दुई सय ९९ वटा घटना प्रहरीमा दर्ता भएका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आत्महत्याबाट मृत्यु हुनेमा युवा उमेर समूहका मानिसको संख्या बढी छ । १९ देखि ३० वर्ष उमेर समूहका एक सय जनाको आत्महत्याबाट मृत्यु भएको छ । १८ वर्षभन्दा कम उमेरका ७१ जना, ३१ देखि ४१ वर्ष उमेर समूहका ७० जना, ४२ देखि ५९ वर्षका ४६ जना र ६० वर्षभन्दा माथिका १४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

उमेर समूहको तथ्यांकले युवासँगै बालबालिका तथा किशोरकिशोरीमा पनि आत्महत्याको समस्या देखिएको छ । १८ वर्षभन्दा कम उमेरका ७१ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउँछ । पछिल्लो समय विद्यालय जाने उमेरका साना बालबालिकामा पनि मानसिक स्वास्थ्य समस्याको विकरालरुप देखिनु विद्यालय, परिवार र समुदायका लागि चुनौतीको विषय बन्दै गएको छ । बालबालिका तथा युवाको मानसिक अवस्था, उनीहरूले भोगिरहेका समस्या र तनावबारे समयमै ध्यान दिनुपर्ने तथ्यांकले पुष्टि गर्छ ।

जिल्लागत तथ्यांकअनुसार आत्महत्यासम्बन्धी घटना सबैभन्दा बढी सुर्खेतमा दर्ता भएका छन् । सुर्खेतमा एक सय सात वटा घटना भएका छन् । त्यसपछि सल्यानमा ५१, दैलेखमा ४२, रुकुम पश्चिममा ३९, जाजरकोटमा २२ र जुम्लामा २० वटा घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक व्यापकचन्द्र शाहले जानकारी दिए । 

त्यस्तै, हुम्लामा सात, मुगुमा ६, कालिकोटमा चार र डोल्पामा आत्महत्या सम्बन्धिका एक घटना दर्ता भएको छ । आत्महत्याका कुल घटनामध्ये सुर्खेतको हिस्सा ३५.६६ प्रतिशत रहेको छ । सबैभन्दा कम डोल्पामा ०.३३ प्रतिशत घटना दर्ता भएका छन् । नेपालमा पनि आत्महत्या ठूलो समस्या बनेको प्रहरीको तथ्यांकले देखाउँछ । 

आर्थिक वर्ष २०८२/०८३ मा देशभर सात हजार एक सय ३२ जनाको आत्महत्याबाट मृत्यु भएको छ । तथ्यांक अनुसार विश्वमा हरेक वर्ष करिब आठ लाख मानिसले आत्महत्या गर्छन् । प्रत्येक ४० सेकेन्डमा एक जनाको आत्महत्याबाट मृत्यु हुने तथ्यांक छ । नेपालमा औसतमा दैनिक २० जनाको आत्महत्याबाट मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ ।

पारिवारिकदेखि आर्थिक समस्यासम्म

आत्महत्याका पछाडि विभिन्न कारण हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । बिहिबार आत्महत्या रोकथाम दिवस २०२६ का अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा आयोजित ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मानसिक रोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले आत्महत्याका पछाडि विभिन्न कारणहरु जोडिने गरेको बताए ।

‘आत्महत्या कुनै एउटै कारणले हुँदैन, यो जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक र वातावरणीय पक्षहरुको जटिल अन्तरक्रियाको उपज हो,’ उनले भने, ‘मानसिक तथा शारीरिक समस्या, पारिवारिक विवाद, प्रेम सम्बन्धमा समस्या, सम्बन्ध बिग्रिनु, आर्थिक समस्या, गरिबी र बेरोजगारीजस्ता कारणले मानिसमा आत्महत्याको सोच आउन गर्छ ।’ यस्तै हिंसा, अपमान, बेवास्ता, नकारात्मक परिणाम तथा अत्यधिक चुरोट, मदिरा र लागूपदार्थको प्रयोगलाई पनि आत्महत्यासँग जोडिने उनको भनाई छ । 

यसले आत्महत्या व्यक्तिगत समस्यामा मात्र सीमित विषय नभएको उनले बताए । ‘परिवार, विद्यालय, समुदाय र राज्यका निकायले पनि यसलाई गम्भीर सामाजिक समस्याका रूपमा लिनुपर्ने देखिन्छ,’ उनले भने, ‘विशेषगरी १९ देखि ३० वर्ष उमेर समूहमा मृत्युको संख्या सबैभन्दा बढी देखिएको छ ।’ रोजगारी, आर्थिक समस्या, पारिवारिक सम्बन्ध, प्रेम सम्बन्ध तथा अन्य सामाजिक र व्यक्तिगत समस्याका कारण यो उमेर समूहमा पर्ने मानिसको मानसिक अवस्थाबारे थप ध्यान दिन आवश्यक रहेको उनले बताए ।

आत्महत्या रोकथामलाई प्रहरी वा स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नबनाई परिवार, विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्था र समुदायले साझा जिम्मेवारीका रूपमा लिनुपर्ने समदर्शीले बताए । समयमै समस्या पहिचान गर्ने, कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था बलियो बनाउन सके आत्महत्याका घटना घटाउन सहयोग पुग्न सक्छ । 

आत्महत्याको सोचमा रहेका व्यक्तिको कुरा सुन्ने, उसलाई एक्लो महसुस हुन नदिने र आवश्यक पर्दा परामर्श तथा सहयोग उपलब्ध गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरु जोड दिन्छन् । मानसिक समस्यालाई कमजोरीका रूपमा हेर्ने र समस्या लुकाउने प्रवृत्ति हटाउन पनि आवश्यक छ । जोखिममा रहेका व्यक्तिको अवस्था पहिल्यै पहिचान गरी समयमै सहयोग गर्ने वातावरण बनाउनतर्फ सरकारले मानसिक स्वास्थ्य रणनीति तयार गरेर काम गरिरहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख विर्षबहादुर शाहीले बताए । सीमित स्रोत साधनका बीच कर्णालीको मानसिक स्वास्थ्य सुधारमा सरकारले काम गरिहेको उल्लेख गर्दै यसमा सबैको हातेमालो आवश्यक रहेको शाहीको भनाई छ । 

कर्णालीमा बढ्दो मानसिक स्वास्थ्य समस्या  जोखिममा बालबालिका र युवा

आम्दानी, ब्याज र खर्चको असन्तुलित चक्र

कर्णालीमा बढ्दो मानसिक स्वास्थ्य समस्या  जोखिममा बालबालिका र युवा

लुम्बिनीमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक

Leave a comment

Your email address will not be published. Required fields are marked *