रसुवा बाढीमा बेपत्ता कोहलपुरका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार मोहननाथ योगीको खोजी गर्न परिवारको आग्रह

सरला सुवेदी
बाँके ,१६ भदौ ।
रसुवामा आएको भीषण बाढीका क्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार मोहननाथ योगी बेपत्ता भएपछि परिवारले उहाँको खोजी गरिदिन आग्रह गरेको छ।
कोहलपुर नगरपालिका–१२, चप्परगौडीस्थित ज्ञानज्योति टोल निवासी योगी रसुवाको टिमुरे बीओपीअन्तर्गत चीनतर्फको भन्सार नाका जोड्ने मितेरी पुलमा कार्यरत हुनुहुन्थ्यो। उहाँ करिब एक महिनाअघि मात्रै रसुवा पुग्नुभएको थियो। ६;महिनाका लागि कार्यक्षेत्रमा खटिनुभएका योगी भदौ १० गते रसुवामा आएको बाढीपछि बेपत्ता हुनुभएको परिवारले जनाएको छ।
परिवारका अनुसार भदौ १० गते बिहान करिब ९ बजेसम्म योगी श्रीमती सुसिला योगीसँग सम्पर्कमा हुनुहुन्थ्यो। त्यसपछि भने उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन। मोबाइल सम्पर्कसमेत हुन नसकेपछि परिवारजन थप चिन्तित बनेका छन्।

श्रीमती सुसिला योगीले आफ्नो श्रीमानको अवस्था तत्काल पत्ता लगाई खोजी गरिदिन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ। उहाँका एक छोरा र एक छोरी छन्।
“घरको खम्बा नै ढलेपछि अब हामीले के गर्ने ?” भन्दै सुसिलाले श्रीमान्को सकुशल खोजीका लागि सहयोग गरिदिन भावुक अपिल गर्नुभएको छ।
परिवारले मोहननाथ योगीको अवस्था वा उहाँको सम्पर्कबारे कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय वा परिवारलाई जानकारी गराइदिन आग्रह गरेको छ।
मोहननाथ योगीको सम्पर्कमा आउन वा उहाँबारे कुनै जानकारी भएमा परिवारलाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिएको छ।
श्रीमती : सुशीला योगि मोबाईल नम्बर 984-2139335






