तीला कर्णालीमा बन्ने दुई ठुला  जलविद्युत आयोजनामा जुट्यो लगानी

ओम शाही 
सुर्खेत, ५ भदौ ।
कर्णाली प्रदेशको कालीकोट जिल्ला भएर बग्ने तीला कर्णाली नदीमा निर्माण गरिने दुई ठुला जलविद्युत आयोजनामा लगानी जुटेको छ । उक्त नदीका दुई छुट्टाछुट्टै स्थानमा विकास गरिने आठ सय ६० मेगावाट क्षमताका जलविद्युत आयोजना विकास गर्न प्रवद्र्धक कम्पनीले लगानी जुटाएका हुन् ।
सोमबार (१ भदौ) तीन नदीमा बन्ने ४२० मेगावाटको तीला–२ मा प्रवद्र्धक कम्पनीले लगानी सम्झौता गरेसँगै आयोजना निर्माणमा वित्तीय व्यवस्थापनको महत्वपूर्ण पाटोले पूर्णता पाएको छ । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवद्र्धित तिला–२ जलविद्युत आयोजनाका लागि एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी सम्झौता सम्पन्न भएको हो ।
आयोजनामा लगानी गर्ने कन्सोर्टियम बैंकहरूमा सह–अगुवाका रूपमा सानिमा बैंक लिमिटेड छ, भने प्राइम कमर्सियल बैंक लि, एनआईसी एशिया बैंक लि, ग्लोबल आइएमई बैंक लि, को–लिड बैंकको रूपमा छन् । यस्तै, सहभागी बैंकहरूमा सिद्धार्थ बैंक लि, नबिल बैंक लि, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि, कृषि विकास बैंक लि, मुक्तिनाथ विकास बैंक लि र कामना सेवा विकास बैंक लि छन् । कालीकोट जिल्लामा निर्माण हुने उक्त आयोजना अन्तर्गत तिलागुफा नगरपालिकामा बाँध तथा खाँडाचक्र नगरपालिकामा विद्युत गृह निर्माण हुनेछ ।
यो दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा सञ्चालन गर्न सकिने अर्धजलाशययुक्त प्रकृतिको आयोजना हो । आयोजनालाई दैनिक ६ घण्टासम्म विद्युत्‌को उच्च माग हुने समयमा बढी विद्युत्‌‌ उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । अर्थात्, केही समय पानी सञ्चय गरेर विद्युत्‌को माग बढी हुने समयमा उत्पादन बढाइनेछ । यसले राष्ट्रिय प्रणालीमा विद्युत्‌को माग व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजनाको कुल लागत ७० अर्ब सात करोड छ । जसमा कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइनेछ । बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड स्वपुँजीबाट व्यवस्थापन प्रवद्र्धक कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत शेयरसमेत छुट्याएको छ ।
आयोजनाले ७ भदौ २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो, भने ७ कार्तिक २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेको छ ।
आयोजनाको निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सञ्चालनमा आएपश्चात सुख्खायाममा दैनिक ६ घण्टा पिकिङ्ग क्षमतामा सञ्चालन हुने यस आयोजनाबाट कुल वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत उत्पादन हुने र सो मध्ये सुख्खायामको पिक समयमा ४५१.०५ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।
त्यस्तै, अफ पिक समयमा २०५.४५ गिगावाट आवर र वर्षायाममा १६६२.२९ गिगावाट आवर विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनको महत्वपूर्ण चरण पूरा भएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।
उच्च माग हुने समयमा विद्युत उत्पादन गर्न सक्ने प्रकृतिको यस आयोजनाले राष्ट्रिय विद्युत प्रणालीको आपूर्तिमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ । तीला–२ को मुख्य प्रवद्र्धकमा ड्रीम इन्भेष्टमेन्ट, ऊर्जा इम्प्याक्ट फण्ड, रोबिन्स युएसए लगायत विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ता छन् ।
तिला–१ मा १३ बैंक तथा वित्तीय संस्थाको लगानी
तिला नदीमै निर्माण हुने ४४० मेगावाटको तिला–१ जलविद्युत्‌‌ आयोजनाको पनि वित्तीय व्यवस्थापन भएको छ । एससी पावर कम्पनी प्रालि प्रवद्र्धक रहेको आयोजनामा एनएमबी बैंक लिमिटेडको नेतृत्वमा १३ वटा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी लगानी सम्झौता भएको हो । मंगलबार (२ भदौ) मा भएको सम्झौता अनुसार एनएमबी बैंकले ऋण लगानीको नेतृत्व गरेको छ ।
एनएमबीले आयोजनामा १० अर्ब रुपैयाँ लगानी गर्नेछ, भने को–लिड बैंकका रूपमा रहेको ग्लोबल आईएमई बैंकले सात अर्ब लगानी गर्नेछ । यस्तै, हिमालयन बैंकले सात अर्ब र प्रभु बैंकले सात अर्ब लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भएको छ । यसबाहेक नबिल बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले दुई अर्ब, कृषि विकास बैंकले एक अर्ब ५० करोड, साइन रेसुङ्गा विकास बैंकले एक अर्ब ५० करोड, मुक्तिनाथ विकास बैंकले एक अर्ब ५० करोड, साङ्ग्रिला विकास बैंकले एक अर्ब २५ करोड, ज्योति विकास बैंकले एक अर्ब, एनआइसी एसिया बैंकले एक अर्ब र आइसिएफसी फाइनान्स लिमिटेडले ८० करोड रुपैयाँ तीला–१ मा लगानी गर्नेछन् ।
आयोजनाको क्षमता कुल ४४० मेगावाटको भए पनि विद्युत् प्राधिकरणले २९८ मेगावाटको मात्रै विद्युत् खरिद सम्झौता (पिपिए) गरेकाले हाल त्यही क्षमतामा निर्माण गर्न वित्तीय व्यवस्थापन गरिएको प्रवद्र्धक एससी पावरले जनाएको छ । बाँकी १४२ मेगावाटको मुख्य संरचना अहिले नै निर्माण गर्ने तर सञ्चालनमा भने पछि ल्याउने प्रवद्र्धक कम्पनीको योजना छ ।
यसअनुसार २९८ मेगावाट निर्माणका लागि ५९ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ, भने कुल ४४० मेगावाट क्षमता निर्माण गर्न करिब ६९ अर्ब लाग्ने अनुमान छ । हालका लागि सुनिश्चित गरिएको ५९ अर्ब ४० करोड मध्ये १४ अर्ब प्रवद्र्धकहरुले स्वपुँजी लगानी गर्ने र बाँकी पुँजी बैंकहरुको ऋण लगानीबाट जुटाइने छ ।
आयोजनाको बाँध तथा मुख्य सुरुङसहितका संरचना भने ४४० मेगावाटकै क्षमतामा निर्माण गरिने छ । बाँकी क्षमताका आवश्यक संरचना अनुमति प्राप्त गरी आवश्यक प्रक्रिया पुर्‍याएर पछि विकास गरिने कम्पनीले जनाएको छ । सम्झौता अुनसार  १५ पुस २०८७ मा विद्युत् उत्पादन भई राष्ट्रिय ग्रिडमा समाहित हुने जनाइएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो वर्ष नै ११ अर्ब चार करोड रुपैयाँ आम्दानी हुने जनाइएको छ ।
तीला कर्णालीमा बन्ने दुई ठुला  जलविद्युत आयोजनामा जुट्यो लगानी

रत्न राजमार्गमा लागुऔषध परीक्षणबाट २५ जनामध्ये ८

Leave a comment

Your email address will not be published. Required fields are marked *