पाँचौँ पटक तोकियो १० औँ  राष्ट्रिय खेलकुदको मिति 

ओम शाही

सुर्खेत, २९ साउन ।

संघीय सरकारले खेलकुदको महाकुम्भ मानिने १० औँ राष्ट्रिय खेलकुदको मिति पाँचौ पटक सारेको छ । आठ महिनापछि बिहिबार शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको १२५ औँ बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो । 

बैठकमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले प्रतियोगिताको मिति प्रस्ताव गरेका थिए । पाँचौँ पटक तय भएको मिति अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी १६ देखि २९ मंसिरसम्म प्रतियोगिता आयोजना हुनेछ । 

दुई वर्ष अघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहबाट १० औँैैं सञ्चालन गर्ने जिम्मेवारी कर्णालीले पाएको थियो । तर, प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेपनि सरकारी उदासिनताका कारण खेलको मिति चार पटक सरेको थियो । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १० औँैँ को झण्डा पाएको कर्णालीमा २–८ मंसिर २०८१ मा प्रतियोगिताको पहिलो मिति तय भएको थियो । तर, प्रतियोगिताको उद्घाटन र अधिकांश खेल सञ्चालन हुने मुख्य पूर्वाधार कर्णाली प्रादेशिक रंगशाला निर्माण सम्पन्न नभएपछि पहिलो मितिमा प्रतियोगिता हुन सकेन । त्यसपश्चत २३–३० चैत २०८१ मा दोस्रोपटक, ३–१० जेठ २०८२ मा तेस्रोपटक १० औँैँ राष्ट्रिय खेलकुदको मिति तय भएको थियो । मौसमी प्रतिकूलता र पूर्वाधार अभाव देखाएर तेस्रोपटक तय भएको मिति पनि स्थगित भएको थियो । 

२८ असोजदेखि ३ कात्तिक २०७९ मा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगिताको समापन समारोहबाट २ देखि ८ मंसिर २०८१ मा कर्णाली प्रदेशमा १० औँैँ राष्ट्रिय खेलकुदको मिति प्रस्ताव गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १० औँैँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई सुम्पिए । 

३ कात्तिक २०७९ मा प्रधानमन्त्री देउवाले कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गर्दै प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएका थिए । कर्णाली प्रदेशले १० औँैँ खेलकुदको झन्डा प्राप्त गरेको एक वर्ष अगावै सुर्खेतमा झन्डै १० हजार दर्शक अट्ने क्षमता भएको रंगशाला निर्माणको काम थालिसकेको थियो ।

रंगशाला निर्माण गर्नुको मुख्य उद्देश्य नै १० औँैँ राष्ट्रिय खेलकुदका अधिकांश खेल खेलाउनु थियो । २० मंसिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगरमा रंगशालाको शिलान्यास गरे । प्रदेश सरकारले आफ्नै लगानीमा अघि सारेको यो ठूलो योजना पनि हो । 

एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार लागत रहेको रंगशाला निर्माणको जिम्मा एमएसी–जीएसएल जेभीले पाएको थियो । सम्झौता अनुसार २०८१ जेठमा रंगशाला तयार हुनुपर्ने थियो । तर, २०८० कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पलगायत कारणले तोकिएको मितिमा रंगशाला निर्माण सम्पन्न नभएपछि २०८१ मंसिरसम्म निर्माण व्यवसायीलाई समय थप गरियो । पहिलोपटक थप भएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेको आयोजना अहिले आएर एक प्रतिशतमा रोकिएको छ । पहिलोपटक थप भएको समयमा रंगशालाको काम ९९ प्रतिशत सम्पन्न भएको थियो । 

तत्कालिन समयमा बजेट अभाव भएपछि एक प्रतिशतमा रोकिएको काम २०८१ पुसमा सदस्य सचिव विश्वामित्र सन्ज्यालको पदावधि सकिए यता रंगशाला अधुरो अवस्थामा छ । ६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य–सचिव विश्वमित्र सञ्ज्यालको चार वर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो । 

परिषद्को आर्थिक अधिकार प्राप्त सदस्य सचिव नियुक्तिमा कांग्रेस–एमालेबीच चलेको भागबन्डाको गोलचक्करले रंगशाला एक प्रतिशतमा रोकिएको हो । सरकारले १५ महिनापछि अर्थात् गत चैत्रमा रविन चन्दलाई सदस्य सचिव नियुक्त गरेको थियो । त्यसयता रंगशालाभित्र खेलकुद गतिविधि सञ्चालन भएपनि निर्माण व्यवसायीले रंगशाला सरकारलाई हस्तान्तरण गरेको छैन । निर्माण व्यवसायीका अनुसार रंगशाला प्रवेशद्वारको पिज, रंगरोगन लगायतका साना–तिना मात्रै काम बाँकी छन् । गत वर्ष नै सम्पन्न भई हस्तान्तरण भइसक्नुपर्ने रंगशाला । सरकारले भुक्तानीमा ढिलाई गरेपछि निर्माण कार्य एक प्रतिशतमा रोकिएको निर्माण व्यवसायीको दावी छ ।  

निर्माणाधीन प्रदेश रंगशालामा १२ वटा खेल खेलाउन सकिनेछ । प्रदेश रंगशालाभित्र दुईवटा कभर्ड हल, एथलेटिक्स, फुटबल, दुई आउटडोर भलिबल कोर्ट, बास्केटल, ह्यान्डबल, स्वीमिङ पुल, सटरसहितको कम्पाउन्ड र पार्किङ रहेका छन् । 

त्यस्तै, क्रिकेट मैदान तथा इन्डोरसहितको क्रिकेट हल, कबड्डी, खोखो मैदानसमेत प्रदेश रंगशालाभित्र समावेश छन् । रंगशालाभित्र फिफाको मापदण्डअनुसार १ सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान बनेको छ । उक्त मैदानमा १० हजार दर्शक बस्ने प्यारापिट बनाइएको छ । मैदान अत्याधुनिक प्रविधिअनुसार निर्माण गरिकाले पानी परेको खण्डमा २० देखि २५ मिनेटभित्र मैदानको पानी सुकिसक्ने व्यवस्थासहितको प्रविधि जडान गरिएको छ । 

१५ सय दर्शक क्षमतासहित निर्माण भएको इन्डोर भलिबल कभर्डहल निर्माण गरिएको छ । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बत्ती जडान गरिएको छ । इको–कभरेज गर्न साउन्ड सिस्टम लगाइएको छ । कभर्डहलसँगै खेलाडीका लागि चेन्जिङ कक्ष, वेटिङ कक्ष, रेस्टरुम कक्ष, फिजियो कक्ष र मेडिकल कक्ष पनि रंगशालामा समावेश छन्‌ । 

प्रदेश रंगशालामा फुटबल मैदानसँगै बनेको चार सय मिटर लामो एथलेटिक्स ट्र्याक आईएएफ स्टान्डरबाट सर्टिफाई भएको छ । यसमा हाइजम्प, लङजम्पलगायत एथलेटिक्सका सम्पूर्ण विधाहरूका प्रतियोगिता गर्न सकिनेछ । फुटबलको मैदानसँगै निर्माण गरिएको ‘फिना’ स्टान्डरको २५ मिटर चौडाइ २५ मिटर लम्बाइको पौडी पोखरी बनाइएको छ ।

के छ प्रदेशको तयारी ?

कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद खेलकुद प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारको समन्वयमा पूर्वाधार लगायत आवश्यक तयारी पूरा गर्न चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरेको छ । चालु आर्थिक  वर्ष २०८३/०८४ को वार्षिक बजेटमा प्रतियोगिताका लागि पूर्वाधार विकास गर्न नौ करोड बजेट व्यवस्थापन भएको छ । यस्तै, प्रतियोगिता आयोजनाका लागि पाँच करोड बजेट छ । 

१० औँ राष्ट्रिय खेलकुद बन्द प्रशिक्षण, प्रतियोगिताको पूर्वतयारी, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना तथा प्रदेश रंगशाला सञ्चालन र व्यवस्थापन गर्न तीन करोड ८५ लाख बजेटको व्यवस्थापन प्रदेश सरकारले गरेको छ । 

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माण सम्पन्न गर्न नौ करोड बजेट व्यवस्थापन गरिएको छ । प्रतियोगितालाई लक्षित गरेर सुर्खेतको ठौरीमा क्रिकेट मैदान, दैलेखको दुल्लुमा चाखाबारी खेलमैदान, हुम्ला हक्की रङ्गशाला निर्माण तथा अधुरो कभर्डहल निर्माण, सुर्खेतको चिसापानीमा फुटबल मैदान, रुकुम पश्चिमको सानीभेरीमा बेलटापु खेलमैदान र जाजरकोटको थाप्ले कभर्डहल निर्माण गर्न १० करोड बजेट विनियोजन गरिएको छ । 

पाँचौँ पटक तोकियो १० औँ   राष्ट्रिय खेलकुदको मिति 

‘मेलमिलाप’ लाई प्रोत्साहन गर्न हुँदैछ, कानुनमा संशोधन

पाँचौँ पटक तोकियो १० औँ   राष्ट्रिय खेलकुदको मिति 

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *