पाँचौँ पटक तोकियो १० औँ राष्ट्रिय खेलकुदको मिति

ओम शाही
सुर्खेत, २९ साउन ।
संघीय सरकारले खेलकुदको महाकुम्भ मानिने १० औँ राष्ट्रिय खेलकुदको मिति पाँचौ पटक सारेको छ । आठ महिनापछि बिहिबार शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको १२५ औँ बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
बैठकमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले प्रतियोगिताको मिति प्रस्ताव गरेका थिए । पाँचौँ पटक तय भएको मिति अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी १६ देखि २९ मंसिरसम्म प्रतियोगिता आयोजना हुनेछ ।
दुई वर्ष अघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहबाट १० औँैैं सञ्चालन गर्ने जिम्मेवारी कर्णालीले पाएको थियो । तर, प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेपनि सरकारी उदासिनताका कारण खेलको मिति चार पटक सरेको थियो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १० औँैँ को झण्डा पाएको कर्णालीमा २–८ मंसिर २०८१ मा प्रतियोगिताको पहिलो मिति तय भएको थियो । तर, प्रतियोगिताको उद्घाटन र अधिकांश खेल सञ्चालन हुने मुख्य पूर्वाधार कर्णाली प्रादेशिक रंगशाला निर्माण सम्पन्न नभएपछि पहिलो मितिमा प्रतियोगिता हुन सकेन । त्यसपश्चत २३–३० चैत २०८१ मा दोस्रोपटक, ३–१० जेठ २०८२ मा तेस्रोपटक १० औँैँ राष्ट्रिय खेलकुदको मिति तय भएको थियो । मौसमी प्रतिकूलता र पूर्वाधार अभाव देखाएर तेस्रोपटक तय भएको मिति पनि स्थगित भएको थियो ।
२८ असोजदेखि ३ कात्तिक २०७९ मा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगिताको समापन समारोहबाट २ देखि ८ मंसिर २०८१ मा कर्णाली प्रदेशमा १० औँैँ राष्ट्रिय खेलकुदको मिति प्रस्ताव गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १० औँैँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई सुम्पिए ।
३ कात्तिक २०७९ मा प्रधानमन्त्री देउवाले कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गर्दै प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएका थिए । कर्णाली प्रदेशले १० औँैँ खेलकुदको झन्डा प्राप्त गरेको एक वर्ष अगावै सुर्खेतमा झन्डै १० हजार दर्शक अट्ने क्षमता भएको रंगशाला निर्माणको काम थालिसकेको थियो ।
रंगशाला निर्माण गर्नुको मुख्य उद्देश्य नै १० औँैँ राष्ट्रिय खेलकुदका अधिकांश खेल खेलाउनु थियो । २० मंसिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगरमा रंगशालाको शिलान्यास गरे । प्रदेश सरकारले आफ्नै लगानीमा अघि सारेको यो ठूलो योजना पनि हो ।
एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार लागत रहेको रंगशाला निर्माणको जिम्मा एमएसी–जीएसएल जेभीले पाएको थियो । सम्झौता अनुसार २०८१ जेठमा रंगशाला तयार हुनुपर्ने थियो । तर, २०८० कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पलगायत कारणले तोकिएको मितिमा रंगशाला निर्माण सम्पन्न नभएपछि २०८१ मंसिरसम्म निर्माण व्यवसायीलाई समय थप गरियो । पहिलोपटक थप भएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेको आयोजना अहिले आएर एक प्रतिशतमा रोकिएको छ । पहिलोपटक थप भएको समयमा रंगशालाको काम ९९ प्रतिशत सम्पन्न भएको थियो ।
तत्कालिन समयमा बजेट अभाव भएपछि एक प्रतिशतमा रोकिएको काम २०८१ पुसमा सदस्य सचिव विश्वामित्र सन्ज्यालको पदावधि सकिए यता रंगशाला अधुरो अवस्थामा छ । ६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य–सचिव विश्वमित्र सञ्ज्यालको चार वर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो ।
परिषद्को आर्थिक अधिकार प्राप्त सदस्य सचिव नियुक्तिमा कांग्रेस–एमालेबीच चलेको भागबन्डाको गोलचक्करले रंगशाला एक प्रतिशतमा रोकिएको हो । सरकारले १५ महिनापछि अर्थात् गत चैत्रमा रविन चन्दलाई सदस्य सचिव नियुक्त गरेको थियो । त्यसयता रंगशालाभित्र खेलकुद गतिविधि सञ्चालन भएपनि निर्माण व्यवसायीले रंगशाला सरकारलाई हस्तान्तरण गरेको छैन । निर्माण व्यवसायीका अनुसार रंगशाला प्रवेशद्वारको पिज, रंगरोगन लगायतका साना–तिना मात्रै काम बाँकी छन् । गत वर्ष नै सम्पन्न भई हस्तान्तरण भइसक्नुपर्ने रंगशाला । सरकारले भुक्तानीमा ढिलाई गरेपछि निर्माण कार्य एक प्रतिशतमा रोकिएको निर्माण व्यवसायीको दावी छ ।
निर्माणाधीन प्रदेश रंगशालामा १२ वटा खेल खेलाउन सकिनेछ । प्रदेश रंगशालाभित्र दुईवटा कभर्ड हल, एथलेटिक्स, फुटबल, दुई आउटडोर भलिबल कोर्ट, बास्केटल, ह्यान्डबल, स्वीमिङ पुल, सटरसहितको कम्पाउन्ड र पार्किङ रहेका छन् ।
त्यस्तै, क्रिकेट मैदान तथा इन्डोरसहितको क्रिकेट हल, कबड्डी, खोखो मैदानसमेत प्रदेश रंगशालाभित्र समावेश छन् । रंगशालाभित्र फिफाको मापदण्डअनुसार १ सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान बनेको छ । उक्त मैदानमा १० हजार दर्शक बस्ने प्यारापिट बनाइएको छ । मैदान अत्याधुनिक प्रविधिअनुसार निर्माण गरिकाले पानी परेको खण्डमा २० देखि २५ मिनेटभित्र मैदानको पानी सुकिसक्ने व्यवस्थासहितको प्रविधि जडान गरिएको छ ।
१५ सय दर्शक क्षमतासहित निर्माण भएको इन्डोर भलिबल कभर्डहल निर्माण गरिएको छ । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बत्ती जडान गरिएको छ । इको–कभरेज गर्न साउन्ड सिस्टम लगाइएको छ । कभर्डहलसँगै खेलाडीका लागि चेन्जिङ कक्ष, वेटिङ कक्ष, रेस्टरुम कक्ष, फिजियो कक्ष र मेडिकल कक्ष पनि रंगशालामा समावेश छन् ।
प्रदेश रंगशालामा फुटबल मैदानसँगै बनेको चार सय मिटर लामो एथलेटिक्स ट्र्याक आईएएफ स्टान्डरबाट सर्टिफाई भएको छ । यसमा हाइजम्प, लङजम्पलगायत एथलेटिक्सका सम्पूर्ण विधाहरूका प्रतियोगिता गर्न सकिनेछ । फुटबलको मैदानसँगै निर्माण गरिएको ‘फिना’ स्टान्डरको २५ मिटर चौडाइ २५ मिटर लम्बाइको पौडी पोखरी बनाइएको छ ।
के छ प्रदेशको तयारी ?
कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद खेलकुद प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारको समन्वयमा पूर्वाधार लगायत आवश्यक तयारी पूरा गर्न चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा प्रतियोगिताका लागि पूर्वाधार विकास गर्न नौ करोड बजेट व्यवस्थापन भएको छ । यस्तै, प्रतियोगिता आयोजनाका लागि पाँच करोड बजेट छ ।
१० औँ राष्ट्रिय खेलकुद बन्द प्रशिक्षण, प्रतियोगिताको पूर्वतयारी, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना तथा प्रदेश रंगशाला सञ्चालन र व्यवस्थापन गर्न तीन करोड ८५ लाख बजेटको व्यवस्थापन प्रदेश सरकारले गरेको छ ।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माण सम्पन्न गर्न नौ करोड बजेट व्यवस्थापन गरिएको छ । प्रतियोगितालाई लक्षित गरेर सुर्खेतको ठौरीमा क्रिकेट मैदान, दैलेखको दुल्लुमा चाखाबारी खेलमैदान, हुम्ला हक्की रङ्गशाला निर्माण तथा अधुरो कभर्डहल निर्माण, सुर्खेतको चिसापानीमा फुटबल मैदान, रुकुम पश्चिमको सानीभेरीमा बेलटापु खेलमैदान र जाजरकोटको थाप्ले कभर्डहल निर्माण गर्न १० करोड बजेट विनियोजन गरिएको छ ।






