चरम गर्मीमा नेपालगन्जको विद्युत संकट : उद्योग ठप्प, विद्यार्थीको पढाइ प्रभावित, जनजीवन कष्टकर

बाँके ,१७ असार ।
बाँकेको नेपालगन्जमा लामो समयदेखि देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेज (लो भोल्टेज) को समस्याले उद्योग–व्यवसाय, शिक्षादेखि सर्वसाधारणको दैनिकीसम्म गम्भीर रूपमा प्रभावित भएको छ। अत्यधिक गर्मीका बीच पटक–पटक विद्युत अवरुद्ध हुँदा उद्योग सञ्चालनमा कठिनाइ बढेको छ भने विद्यार्थीको अध्ययन, घरायसी कामकाज तथा स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ।
विद्युत आपूर्ति नियमित नहुँदा उद्योगहरूमा उत्पादन प्रभावित भएको, उत्पादन लागत बढेको र दैनिक लाखौँ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको उद्योगीहरूले बताएका छन्। त्यस्तै, पंखा, कूलर र एसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा विद्यार्थीलाई पढ्न–लेख्न, वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई दैनिक जीवनयापन गर्न समेत कठिन भएको स्थानीयको गुनासो छ।
नेपालगन्जस्थित गरिमा पोलिमर इन्डस्ट्रिज प्रालिका सञ्चालक गौरव डागाले गुणस्तरीय विद्युत आपूर्ति नहुँदा उद्योग सञ्चालन नै चुनौतीपूर्ण बनेको बताउनुभयो। उहाँका अनुसार भोल्टेज घट्नेबित्तिकै मेसिन बन्द हुने र पुनः सञ्चालन गर्न दुईदेखि तीन घण्टासम्म लाग्ने भएकाले उत्पादनमा अवरोध हुनुका साथै श्रमिकको समय खेर जाने र उत्पादन लागतसमेत बढ्ने गरेको छ।
त्यसैगरी, नेपाल हब्र्स प्रोसेसिङ प्लान्टका सञ्चालक सकील अहमद जसगढले लो भोल्टेजका कारण मेसिनका पार्टपुर्जा बिग्रने, उत्पादन अवरुद्ध हुने र आर्थिक क्षति बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार प्लास्टिक उद्योगमा उत्पादनका क्रममा विद्युत अवरुद्ध हुँदा पगालिएको कच्चा पदार्थ चिसिने भएकाले उत्पादन प्रक्रिया पुनः सुरु गर्नुपर्दा लागत दोब्बर हुने गरेको छ।
नेपालगन्जमा रातिको समयमा समेत पटक–पटक विद्युत अवरुद्ध हुने गरेकाले सर्वसाधारणको दैनिकी पनि प्रभावित भएको छ। स्थानीय ओम पियुष बनियाँले पंखा, कूलर र एसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा विशेषगरी विद्यार्थीलाई पढ्न–लेख्न, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई निकै सास्ती भएको बताउनुभयो। बारम्बार हुने लो भोल्टेजका कारण घरायसी विद्युतीय उपकरण बिग्रने जोखिमसमेत बढेको उहाँको भनाइ छ।
उद्योगीहरूले देशले विद्युत निर्यात गरिरहेको अवस्थामा स्वदेशभित्रै गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति हुन नसक्नु विडम्बनापूर्ण भएको बताएका छन्। उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ।
नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले हाल देखिएको समस्या स्थानीय वितरण प्रणालीका कारण नभई १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा आएको अवरोधका कारण भएको बताउनुभयो। उहाँका अनुसार कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइन विस्तारको काम सम्पन्न भएपछि विद्युत आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ। स्थानीय अवरोधका कारण निर्माण कार्य केही ढिलो भएको उहाँले जानकारी दिनुभयो।
उहाँले न्यून भोल्टेजको दीर्घकालीन समाधानका लागि नेपालगन्ज आसपास विद्युत उत्पादन केन्द्र स्थापना वा प्रसारण पूर्वाधार विस्तार आवश्यक रहेको बताउँदै हालको विद्युत समस्या र विद्युत निर्यातबीच प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो।
नेपालगन्जका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले चरम गर्मीका बेला नियमित, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार विद्युत सेवामा शीघ्र सुधार नआए उद्योगको उत्पादन, स्थानीय अर्थतन्त्र, विद्यार्थीको पठनपाठन तथा नागरिकको दैनिक जीवनमा पर्ने असर अझ गम्भीर बन्दै जानेछ।





