जुम्ला क्याम्पसमा प्रथम स्ववियु खुला भलिबल सुरु
गाेल्डेन बुढा
जुम्ला ,९ बैशाख ।
जुम्लामा परम्परागत रूपमा लोकप्रिय मानिएको भलिबल पछिल्लो समय ओझेलमा पर्न थालेको सन्दर्भमा जुम्ला बहुमुखी क्याम्पसमा प्रथम स्ववियु खुला भलिबल प्रतियोगिता सुरु भएको छ। गाउँ–गाउँबाटै हराउँदै गएको भलिबल संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यसहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) जुम्लाले प्रतियोगिता आयोजना गरेको हो। यस पहललाई स्थानीय खेलकुद पुनर्जागरणको रूपमा हेरिएको छ। बुधबार चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले लुकेका प्रतिभा उजागर गर्ने मात्र नभई सामाजिक एकताको आधार तयार गर्ने धारणा राखे। “भलिबल प्रतियोगिता खेलकुद मात्र होइन, युवाहरूबीचको सम्बन्ध मजबुत बनाउने माध्यम पनि हो,” उनले भने। उनले प्रतियोगितालाई मर्यादित, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्न आयोजकलाई सुझाव दिँदै यस्ता गतिविधिले समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे।यस्तै जिल्ला समन्वय अधिकारी रोमबहादुर महतले पनि खेलकुदलाई सामाजिक रुपान्तरणको प्रभावकारी साधनका रूपमा व्याख्या गरे। पछिल्लो समय फुटबलप्रति आकर्षण बढ्दै गए पनि भलिबलको ऐतिहासिक र भौगोलिक सान्दर्भिकता अझै उच्च रहेको उल्लेख गर्दै उनले भलिबलप्रति जनचेतना अभिवृद्धि गर्न यस्ता प्रतियोगिता आवश्यक रहेको बताए।क्याम्पस सभापति लोकेन्द्र बुढाका अनुसार प्रतियोगिताको उद्देश्य प्रतिस्पर्धा मात्र होइन, क्याम्पसको पहिचान अभिवृद्धि गर्नु, विद्यार्थी–शिक्षकबीच सद्भाव सुदृढ गर्नु र भाइचाराको सम्बन्ध विस्तार गर्नु पनि हो। “विद्यार्थी र खेलाडीको मनोबल उच्च बनाउन तथा भलिबलप्रति आकर्षण बढाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुनेछ,” उनले भने।प्रतियोगितामा ९ टिमको सहभागिता छ, जसले जुम्ला लगायत आसपासका क्षेत्रका युवाहरूमा खेलप्रतिको उत्साह अझै जीवित रहेको देखिन्छ। विजेताले १ लाख १ हजार १ सय १ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार १ सय १ रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन्।प्रत्यक खेलमा म्यान अप द म्याच घोषणा गरी पुरस्कार दिईनेछ । प्रतियोगिता शुक्रबार सकिनेछ। नगद पुरस्कारले मात्र होइन, प्रतिस्पर्धात्मक वातावरणले खेलाडीलाई दीर्घकालीन रूपमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।सभापति बुढाले जुम्लामा भलिबलको सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै यसलाई विद्यालयदेखि बस्तीस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। “पहिले गाउँमा भलिबल थियो, सहरमा फुटबल। अहिले गाउँमा फुटबल पुगिसक्यो, भलिबल हराउँदै गएको छ,” उनले भने, “अब हरेक तहमा भलिबललाई पुनःस्थापित गर्ने समय आएको छ।”उनले जुम्लाका आठ स्थानीय तहका ६० वटै वडालाई भलिबललाई प्राथमिकतामा राख्दै प्रतियोगिता आयोजना गर्न आग्रह गरे। यसले भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।दुर्गम क्षेत्रका युवाहरूका लागि खेलकुद मनोरञ्जन नभई अवसरको ढोका पनि हो। यस्ता प्रतियोगिताले लुकेका प्रतिभालाई उजागर गर्दै जुम्लाको खेलकुद पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जारी प्रथम स्ववियु खुला भलिबल प्रतियोगितामा कर्णाली मावि अनामनगरले विजयी भएको छ। पहिलो दिनको खेलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको टिमलाई सोझो तीन सेटले हराउँदै कर्णाली मावि विजयी भएको हो । बिहीबार तीन खेल हुनेछन्। पहिलो खेल आयोजक स्ववियु र कर्णाली प्राविधिक शिक्षालय (केटीएस)बीच हुनेछ । दोस्रो खेल तातोपानी गाउँपालिका र जुम्ला बहुमुखी क्याम्पस एच र तेस्रो खेल पातारासी गाउँपालिका र विपद व्यवस्थापन प्रहरी र पातारासी गाउँपालिकाबीच खेल हुने आयोजकले जनाएको छ ।





