दुर्गम गाउँमा अभाव सदरमुकाममा मौज्दात

सुर्खेत, ५ भदौं ।
कर्णालीमा खाद्यान्नको पीरलो सुरु भएको छ । चालु आर्थिक वर्षका लागि माग गरिएको खाद्यान्न समयमै ढुवानी हुन नसक्दा खाद्यान्नको पीरलो सुरु भएको हो । बाढीपहिरोबाट प्रभावित बनेका जाजरकोट, कालिकोट र मुगुमा खाद्यान्न अभाव हुन थालेको छ । अघिल्ला बर्षहरुमा भदौसम्म मौज्जाद हुने खाद्य डिपोहरु यसपाली साउनमै रित्तिएका छन् । कोरोना भाइरसको त्रासपछि गाउँमा खाद्यान्न खपत बढेकोका कारण खाद्यान्न डिपोहरु रित्तिन थालेका हुन् । तर लामो सयमको लकडाउन र बाढीपहिरोका कारण सडक अबरुद्ध भएका कारण चालु आर्थिक वर्षको खाद्यान्न ढुवानी हुन सकेको छैन् ।

गाउँमा खाद्यान्न अभाव भए पनि सदरमुकाममा भने खाद्यान्न मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।  कार्यालयका अनुसार सुर्खेतमा हजार पाँच हजार ६ सय ३० क्वीन्टल खाद्यान्न मौज्जाद छ । त्यस्तै जाजरकोट सदरमुकाममा रहेको गोदाममा एक हजार सात सय २७ क्वीन्टल चामल मौज्जाद छ ।

यस्तै कालिकोट सदरमुकाममा एक हजार एकसय ६२, हुम्ला सदरमुकाममा चार हजार दुईसय २५, डोल्पामा एक हजार चारसय ४९, मुगुमा सात सय, दैलेखमा एक हजार चारसय तीन र रुकुमपश्चिमा चारसय ६० क्वीन्टल खाद्यान्न मौज्जाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भिमबहादुर थापाले जानकारी दिए । सदरमुकाममा खाद्यान्न थन्किएको छ । तर गाउँमा भने चामल उपलब्ध छैन । ढुवानी नहुँदा यस्तो समस्या भएको हो ।

प्रदेश सरकारले किनेको चामल पनि गाउँ पुगेन
कोरोना भाइरसका कारण हुनसक्ने खाद्यान्न संकटलाई टार्न प्रदेश सरकारले खरिद गरेको खाद्यान्न पनि जिल्ला सदरमुकाममै थन्कीएको छ । हरेक जिल्लाका लागि दुईसय क्वीन्टलका दरले खरिद गरेको खाद्यान्न सदरमुकाममै थन्कीएको हो । गत आर्थिक वर्षमा प्रदेश सरकाले २५ हजार क्वीन्टल चामल, १२ हजार क्वीन्टल गहँ र तीन हजार क्वीन्टल दाल खरिद गर्ने निर्णय गरेको थियो ।

तर प्रदेश सरकारले खाद्यान्न तथा व्यापार कम्पनीसँग हरेक जिल्लामा दुई सय क्वीन्टलका दरले चामल मात्रै खरिद गरेको हो । जसमध्ये कालिकोट र जाजरकोटमा रहेको खाद्यान्न भने बाढीपहिरो पिडितलाई वितरण गरिसकिएको प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिंह बुढाले जनाए ।

‘५० करोड बजेट छ, भोकमरी हुँदैन’
खाद्यान्न संकट टार्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० करोड बजेट छुट्याएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका अनुसार खाद्यान्न खरिदका लागि ४५ करोड र ढुवानीका लागि पाँच करोड बजेट छुट्याइएको छ । कार्यविधि तयार छिट्टै खाद्यान्न खरिद तथा ढुवानीको प्रक्रिया सुरु गर्ने भएका कारण कुनै गाउँमा भोकमरी पर्ने नदिने उनको दाबी छ ।

‘खाद्यान्न अभाव हुन नदिन ५० करोड बजेट छुट्याएका छौँ’ मन्त्री बुढाले भने, ‘छिट्टै कार्यविधि तयार पारेर खाद्यान्न खरिद र ढुवानीको थाल्छौँ, भोकमरी हुन दिँदैनौँ ।’ कोरोना महामारी खाद्यान्न बढी आवश्यक पर्ने र सहलका कारण उत्पादन घट्ने भन्दै प्रदेशको ठूलो जबेट खाद्यान्न संकट टार्नका लागि छुट्याएको हो । यो वर्ष दशै–तिहार अघिनै गाउँमा खाद्यान्न पुग्ने सरकारको दाबी छ ।

मुगुमा चामल छैन
मुगुमा खाद्यान्न अभाव सुरु भएको छ । जिल्लाका सबै खाद्य डिपोहरु रित्तिएपछि खाद्यान्न अभाव सुरु भएको हो । गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयसहित सोरुकोट, पूलु, श्रीकोट, रातापानी, कालैलगायत खाद्य डिपो खाली भएका हुन् । ‘गत वर्षको सबै खाद्यान्न खपत भइसकेको छ, तर चालु आर्थिक वर्षको चामल ढुवानी भएको छैन’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका शाखा प्रबन्धक कर्णबहादुर रावलले भने, ‘गोदाम रित्तिएका छन्, १०/१५ दिनमा ढुवानी नभए गाउँमा खाद्यान्न अभाव हुन्छ ।’

जिल्लामा छिटो खाद्यान्न आपूर्ति गर्न क्षेत्रीय कार्यालयलाई पत्राचार गरिए पनि ठेक्का प्रक्रियामा ढिलाइ भएको उनले बताए । आपतकालीन अवस्थाका लागि गमगढीस्थित खाद्य गोदाममा मात्र पाँचसय क्विन्टल चामल मौज्दात छ । कम्पनीले गमगढीमा दश हजार, सोरुकोटमा दुइ हजार दुइ सय, पूलुमा एक हजार दुइ सय, श्रीकोटमा एक हजार दुइ सय र रातापानीमा आठ सय क्विन्टल वार्षिक खाद्यान्न कोटा निर्धारण गरेको छ । चालु आर्थिक वर्षका लागि गमगढी क्षेत्रमा मात्रै ११ हजार क्विन्टल खाद्यान्न माग गरिएको छ । जिल्लाका सबै खाद्य गोदाम रित्तिएपछि गोदाममा ६२ रुपैयाँमा पाइने चाम बजारमा ८० रुपैयाँ प्रतिकिलो खरिद गनुपर्ने बाध्यता छ ।

बारेकोटमा खाद्यान्न बाँडिदै
जाजरकोटको बारेकोटका बाढीपहिरो प्रभावितलाई खाद्यान्न वितरण गर्ने तयारी गरिएको छ । विश्वखाद्य संघठनले बारेकोट सात सय ७४ घरपरिवारलाई खाद्यान्न वितरण गर्न लागेको हो । प्रतिपरिवार ३० केजी चामल, नौँ केजी दाल, दुई लिटर तेल र एक पोका नुन वितरण गरिनेछ । त्यस्तै जिल्लामा खाद्यान्न अभाव हुन थालेपछि सकारात्मक सोचका अभियन्ता नरबहादुर कार्कीलेको समूहले तीनसय घरधुरीलाई खाद्यान्न विरण गर्ने जनाएको छ ।

नेपालगञ्जबाट खाद्यन्न ढुवानी गरेर यही हप्ता खाद्यान्न वितरण गरिने भएको हो । जसमध्ये पहिलो चरणमा छेडागाड, शिवालय गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा खाद्यान्न वितरण गरिने छ । त्यस्तै दोस्रो चरणमा जुनीचाँदे, कुसे र बारेकोटमा वितरण गरिनेछ । पहिरोअघि पनि बारेकोट गाउँपालिका सबैभन्दा बढी खाद्यान्न अभाव हुने क्षेत्र हो ।

डिपो नहुँदा समस्या
सरकारले दुर्गममा खाद्यान्न पुरयाउन लाखौँ रकम खर्च गर्छ । कतै हेलिकोप्टर त, कतै घोडा खच्चडबाट खाद्यान्न गाउँमा पुरयाउँछ । तर गाउँमा खाद्यान्न भण्डारका लागि डीपो नहुँदा खाद्यान्न सदरमुकाममै थन्कीन्छ । असार लागेसँगै आउने बाढीपहिरो जस्ता कारणले गाउँमा खाद्यान्न ढुवानी गर्न सकिदैन । जसले गर्दा दुर्गमका नागरिकले हरेक वर्ष खाद्यान्न अभाव झेल्नु पर्ने बाध्यता छ ।

गाउँगाउँमा डिपोहरु नहुँदा पटक–पटक खाद्यान्न समस्या हुने गरेको खाद्य संस्थान सुर्खेतले जनाएको छ । ‘गाउँमा चालम चाहिन्छ, तर जिल्ला सदरमुकाममा मात्रै खाद्यान्न डिपोहरु छन्’ खाद्य संस्थान सुर्खेतका प्रमुख भीमबहादुर थापाले भने,‘गाउँगाउँमा खाद्यान्न भण्डारण गर्ने डिपोहरु नहुँदा पटक–पटक गाउँमा खाद्यान्नको समस्या परेको हो ।’

दुर्गम गाउँमा अभाव सदरमुकाममा मौज्दात

आर्थिक अभावले भत्केको घर बनाउने अवस्था छैन्

दुर्गम गाउँमा अभाव सदरमुकाममा मौज्दात

कोरोना संक्रमण बढेपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *