दैलेखमा बँदेल आतङ्क : आक्रमणबाट २ जनाको मृत्यु, ३ जना घाइते

दैलेख ,२५ माघ।
दैलेखमा बँदेलको आक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका–५ बैटाकुराका ५० वर्षीय पदम बहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए।
यस्तै, माघ १२ गते सोही गाउँपालिकाको वडा नम्बर–६ कुर्माकोटमा पनि बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु र अन्य दुई जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पचभैयाका अनुसार, घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका ७७ वर्षीय प्रदीप सिंहलाई सुरुमा बँदेलले आक्रमण गरेको थियो ।
‘शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका सिंहको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै मृत्यु भयो,’ उनले भने, ‘सोही बँदेलको आक्रमणबाट स्थानीय ४० वर्षीय दीपक सिजाली र १८ वर्षीय मिकेश सिजाली समेत घाइते भएका थिए ।’
घाइतेमध्ये दीपकलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ भने मिकेशको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । यस्तै, माघ २० गते दैलेखकै आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा ३० वर्षीय दीपेन्द्र बडुवाल पनि बँदेलकै आक्रमणबाट घाइते भएको सूचना अधिकारी पचभैयाले बताए ।
दीपेन्द्र घरबाट तिलेपाटा जाने क्रममा बाटोमा एक्कासि बँदेलले आक्रमण गरेको थियो । ‘घाइते भएका उनको हात, खुट्टा र छातीमा चोट लागेको थियो,’ उनले भने-‘उहाँको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको थियो ।’
उनका अनुसार पछिल्लो समय दैलेखका विभिन्न स्थानमा बँदेल आतङ्कले नागरिकहरू त्रसित हुनुपर्ने अवस्था आएको छ ।






