एमालेले लगायो उम्मेदवारको टुङ्गो, नेकपामा तीन जिल्लामा विवाद: आन्तरिक किचलोमा नेपाली कांग्रेस

ओम शाही

सुर्खेत, ५ माघ ।

आसन्न २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कर्णालीबाट उम्मेदवार टुुङ्गो लगाएको छ । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारका आकांक्षी मध्येबाट उम्मेदवार टुङ्गो लगाएको हो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नौ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको । नेकपाले सल्यान, हुम्ला र कालिकोटमा उम्मदेवारको टुङ्गो लगाउन सकेको छैन ।

६ माघमा प्रतिनिधिसभा सदस्य चुनावको उम्मेदवार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । नेकपा एमालेले दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट ध्रुवकुमार शाही र २ बाट कुलमणी देवकोटालाई उम्मेदवार बनाएको छ । त्यस्तै, सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटा उम्मेदवार बनेका छन् । कालीकोटबाट नागेन्द्र शाही (नेसनल), जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया, हुम्लाबाट दल फडेरा र डोल्पाबाट लङ्क रोकाया उम्मेदवार बनेका छन् । त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट रविन्द्रराज शर्मा र २ बाट लक्ष्मी पोखरेल र जाजरकोटबाट डम्बरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

नेकपाले यस पटक रुकुम पश्चिमबाट गोपाल शर्मालाई उम्मदेवार बनाएको छ । जनार्दन शर्माले पार्टी छाडेपछि शर्मालाई अघि सारिएको हो । यस्तै, जुम्लाबाट नरेश भण्डारी उम्मेदवार बन्दा दैलेख–१ बाट अम्बरबहादुर थापा, २ बाट योगेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् । थापा पूर्वसमाजवादी हुन् भने शाही पूर्व एमाले हुन् । सुर्खेत–१ बाट जीतबहादुर राना, २ बाट झकबहादुर मल्ल नेकपाको तर्फबाट उम्मेदवार बनेका छन् । डोल्पाबाट धनबहादुर बुढा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, र मुगुबाट चन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् । बुढा र शाही पूर्व समाजवादी हुन् । उम्मेदवारको टुङ्गो नलागेको कालीकोटबाट महेन्द्रबहादुर शाही, हुम्लाबाट दिपेन्द्र रोकाय र सल्यानबाट प्रकाश ज्वालाको नाम चर्चामा छ ।

आन्तरिक किचलोमा कांग्रेस

एमाले र नेकपाले उम्मेदवारको टुङ्गो लगाउँदा नेपाली कांग्रेस भने आन्तरिक किचलोमा फसेको छ । यसअघि कर्णालीबाट उम्मेदवारका आकांक्षीको नामावली पार्टी केन्द्रमा पठाएको कांग्रेसमा आधिकारिकताको लडाइँले टिकट वितरण अन्यौल बनेको छ । यसले निर्वाचन कार्यतालिकामै असर पर्ने देखिएको छ ।

कर्णालीबाट निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासहित १२ निर्वाचन क्षेत्रबाट ५६ जना आकांक्षीको नाम पार्टी केन्द्रमा गएको छ । जेन–जी आन्दोलनपछि पेचिलो बनेको कांग्रेसभित्रको नेतृत्व हस्तान्तरणको मुद्दा विशेष महाधिवेशमार्फत गगन थापा सभापति बनेपछि संस्थान पक्ष अलिहे बैधानिकताको खोजिमा लागेको छ । विशेष महाधिवेशनबाट देउवा नेतृत्वको केन्द्रीय समिति भङ्ग गर्दै गगन थापा समूहले नयाँ नेतृत्व चयन गरेसँगै संस्थापन पक्ष बैधताको खोजिमा सर्वोच्च अदाल पुग्नु पर्ने बाध्यतामा छ ।

निर्वाचन आयोगले महाधिवेशनबाट चयन भएका गगन थापा नेतृत्वको समितिलाई मान्यता दिएपछि सो निर्णय उल्ट्याउन माग गर्दै देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा रिट दर्ता गरिएको छ । देउवा समूहका कानुन व्यवसायीले रिट दर्ता भएकै दिन पेसी तोक्न आग्रह गरे पनि सर्वोच्च प्रशासनले सोही दिन सुनुवाइ गर्न सम्भव नभएको जानकारी दिएको थियो ।

टिकट वितरणमा असन्तुष्टि

प्रतिनिधिसभा निर्वाचको टिकट वितरणको विषयलाई लिएर एमाले र नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् । पहिलो नम्बरमा सिफारिस भएर पनि चुनावको टिकट नपाएपछि एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।

उनी दैलेख–२ बाट उम्मेदवारका लागि सर्वाधिक मतसहित सिफारिस भएका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक प्रतिस्पर्धमा चुनाव हारेका लक्ष्मीराज शर्मालाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका हुन् ।

शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लड्दै नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाहीसँग पराजित भएका थिए। यस पटक यस क्षेत्रमा एमालेले उम्मेदवार सिफारिसका लागि आन्तरिक निर्वाचन गरेर नेताहरुको नाम केन्द्रीय कार्यालयमा पठाएको थियो । उक्त निर्वाचनको नतिजा अनुसार १ नम्बर एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक ६७ मत प्राप्त गरेका थिए । टिकट पाएका पोखरेल दोस्रो नम्बर थिए ।

‘जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, तेस्रोपटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन’, उनले भने, ‘पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।’

उनले टिकट नपाए पनि पार्टीको जिम्मेवारीमा रहिरहने जानकारी दिए । ‘२९ वर्षअघि २०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ वर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ वर्ष कम्तिमा यही क्षेत्रमा रहनेछु ।’

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का जाजरकोट नेता गणेशप्रसाद सिंहले आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट वितरणको विषयलाई लिएर पार्टी परित्याग गरेका छन् । १० पौष २०८२मा सम्पन्न नेकपा जाजरकोटको बैठकमा शक्तिबहादुर बस्नेतले चुनावमा उठ्दिन भनेको अवस्थामा पार्टी केन्द्रले उनैलाई टिकट दिएको भन्दै सिंहले पार्टी परित्याग गरेका हुन् ।

प्रतिनिधिसभाका लागि बस्नेतसहित सिंह, रामदीप आचार्य, कृष्ण विसी, पार्वती थापा र महेश अधिकारीको नाम सिफारिस भएको थियो । तर, नेकपाका संयोजक पुष्पकमल दाहालले बस्नेतलाई पुनः टिकट दिएपछि नेता सिंह पार्टी छाड्ने निर्णयमा पुगेका हुन् ।

उनले बस्नेतलाई निर्वाचनमा उठ्न टिका लगाएर आदेश दिनु, एउटै व्यक्तिले अध्यक्षस्तरबाट निरन्तर दबाब सिर्जना गर्नु पार्टी विधानविपरित रहेको आरोप लगाएका छन् । ‘यस्तो स्वेच्छाचारी, मालिक मुखिया प्रवृत्तिका निर्णयहरूले कार्यकर्तालाई रैती र दाससरह बनाउने प्रयास गरिएको छ, जुन पार्टीको विधान, सिद्धान्त र सामूहिक नेतृत्वको मर्मविपरीत छ । यस किसिमका निर्णय, आदेश र प्रवृतिप्रति म घोर आपत्ति तथा असहमति प्रकट गर्दछु । अतः यी सबै कारणले गर्दा म नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय आयोजक समिति सदस्यसहित पार्टीको साधारण सदस्यसमेत नरहेको औपचारिक जानकारी यसै पत्रमार्फत् गराउँछु,’ सिंहले प्रचण्डलाई सम्बोधन गर्दै विज्ञप्तीमार्फत भनेका छन् ।

सिंह २०७४ मा कर्णाली प्रदेशसभामा विजयी भएका थिए । सिंहको यो विद्रोहले बस्नेतलाई असर पर्ने देखिन्छ । बस्नेत माओवादी मुलधारको राजनीतिमा आएपछि प्रचण्डबाट सबैभन्दा धेरै लाभ लिने व्यक्ति हुन् । उनी २०६४ यताका सबै प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएर लामो समय मन्त्री बनिसकेका छन् ।

एमालेले लगायो उम्मेदवारको टुङ्गो, नेकपामा तीन जिल्लामा विवाद:  आन्तरिक किचलोमा नेपाली कांग्रेस

चौथो मःम महोत्सव सुरु 

एमालेले लगायो उम्मेदवारको टुङ्गो, नेकपामा तीन जिल्लामा विवाद:  आन्तरिक किचलोमा नेपाली कांग्रेस

घुयँत्राे:“बालेन गए, टायल उडे, कार्यकर्ता दौडे :

Leave a comment

Your email address will not be published. Required fields are marked *