चुनावी प्रचार प्रसारलाई तीव्र बनाई शान्तिलाल महतलाई जिताउ

काली बहादुर परियार
माघ १,जुम्ला
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमाले जुम्लाले चुनावी प्रचार प्रसारलाई तीव्र र प्रभावकारी बनाउने औपचारिक घोषणा गरेको छ ।
काठमाडौँको मध्य बानेश्वरस्थित एक होटलमा आज आयोजित विशेष कार्यक्रम मार्फत एमाले जुम्लाले अब चुनावी मैदानमा पूर्ण तयारीका साथ उत्रिने स्पष्ट संकेत दिएको हो । कार्यक्रमले संगठनात्मक एकता, जनसम्पर्क विस्तार र सशक्त चुनावी रणनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने सन्देश दिएको छ ।
कार्यक्रममा नेकपा एमाले जुम्ला जिल्ला इन्चार्ज दानसिंह परियारले पार्टी अब निर्वाचन केन्द्रित अभियानमा होमिएको बताए । उनले जुम्लामा एमालेको बलियो आधार, विगतका उपलब्धि र जनताप्रतिको प्रतिबद्धताका कारण यो निर्वाचन निर्णायक हुने उल्लेख गरे ।
पार्टी भित्र अनुशासन, एकता र कार्यकर्ताको सक्रिय सहभागिता भएमा जित निश्चित छ,परियारले भने, अब एमाले गाउँ गाउँ र टोल,टोलमा पुगेर जनताको विश्वास अझ मजबुत बनाउँछ।
सोही कार्यक्रममा नेकपा एमाले जुम्लाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्ला जिल्ला पार्टी अध्यक्ष शान्तिलाल महतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
लामो समय देखि पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका महतलाई अनुभवी, जनआधारित र संगठनप्रति निष्ठावान् नेताका रूपमा प्रस्तुत गर्दै पार्टीले उनकै नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको हो ।
पार्टी नेतृत्वले महतको उम्मेदवारीले जुम्लामा एमालेको मत आधार थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै एमाले जुम्लाका नेता देबिलाल थापाले चुनाव जित्नका लागि सबै कार्यकर्ता एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
उनले भने, जुम्लामा एमालेले जित्ने आधार बलियो छ । यदि हामी सबै एउटै लक्ष्य लिएर अघि बढ्यौँ भने जित टाढा छैन। थापाले कार्यकर्तालाई व्यक्तिगत स्वार्थ भन्दा पार्टी हितलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
यस्तै कार्यक्रममा सहभागी युवा नेता जीवन भण्डारीले लोकतान्त्रिक अभ्यासमा उम्मेदवार बन्ने इच्छा र आकांक्षा राख्नु स्वाभाविक र वैधानिक प्रक्रिया भएको बताए । उम्मेदवार बन्ने चाहना राख्नु कुनै अपराध होइन,उनले भने । तर पार्टी प्रक्रिया बाट अन्ततः अवसर पाउने एक जनाले नै हो । भण्डारीले पार्टी निर्णयलाई सबैले सम्मान गर्दै अभियानमा जुट्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी अन्य नेताहरू तथा कार्यकर्ताहरूले पनि पार्टी भित्र पूर्ण एकता, ऐक्यबद्धता र अनुशासन कायम रहेमा निर्वाचनका समयमा कुनै पनि शक्ति एमालेको विजय रोक्न नसक्ने विश्वास व्यक्त गरे । उनीहरूले विगतका निर्वाचन अनुभव बाट सिक्दै यसपटक अझ संगठित, योजनाबद्ध र आक्रामक प्रचार अभियान सञ्चालन गरिने बताए ।
नेकपा एमाले जुम्लाले अब घरदैलो अभियान, आमसभा, युवा महिला केन्द्रित कार्यक्रम तथा सामाजिक सञ्जाल मार्फत प्रचारलाई तीव्र बनाउने तयारी गरेको छ । पार्टी नेतृत्वका अनुसार विकास, सुशासन र जनजीविकाका मुद्दालाई केन्द्रमा राखेर जनमत आफ्नो पक्षमा पार्ने रणनीति तय गरिएको छ।फागुन २१ को निर्वाचनलाई निर्णायक मोडका रूपमा लिँदै एमाले जुम्ला पूर्ण तयारीका साथ चुनावी मैदानमा उत्रिने देखिएको छ।






