जुम्ला कारागारमा कैदीबन्दीको स्वास्थ्य जाँच

गाेल्डेन बुढा
जुम्ला,२६ पुस।
कारागारभित्रका कैदीबन्दीहरू प्रायः राज्यको स्वास्थ्य प्रणालीबाट ओझेलमा पर्ने वर्ग मानिन्छन् । तर जुम्लामा भने उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य अवस्थामाथि गम्भीर चासो दिइएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको आधारभूत स्वास्थ्य तथा मानसिक स्वास्थ्य परीक्षण सम्पन्न गर्दै कारागारभित्र लुकेका स्वास्थ्य समस्याको पहिचान गरेको हो ।

कारागारभित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक उपचार, औषधि र परामर्श उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय जुम्लाको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा मानसिक स्वास्थ्य परामर्शदाताको टोली सक्रिय रूपमा परिचालित थियो ।टोलीले कैदीबन्दीहरूको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम र मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचानमा विशेष ध्यान दिएको थियो । परीक्षणका क्रममा जम्मा ७२ जना कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।परीक्षणको नतिजाले कारागारभित्रको स्वास्थ्य अवस्था चुनौतीपूर्ण रहेको संकेत गरेको छ । जाँच गरिएका कैदीबन्दीमध्ये ८ जनामा उच्च रक्तचाप, १२ जनामा मधुमेहसम्बन्धी समस्या देखिएको छ।भने २५ जनालाई मानसिक स्वास्थ्य परामर्श तथा परीक्षण आवश्यक परेको जनाइएको छ ।जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार कारागारजस्तो सीमित र बन्द वातावरणमा लामो समय बस्नुपर्दा कैदीबन्दीहरूमा मानसिक स्वास्थ्य समस्या देखिनु स्वाभाविक हो । ‘तनाव, चिन्ता, डिप्रेसन, अनिद्रा जस्ता समस्या धेरैमा देखिन्छन्,’ उनले भने, ‘त्यसैले शारीरिक परीक्षणसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेका हौं ।’उनका अनुसार मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीहरूलाई सकारात्मक सोच विकास, आत्मबल वृद्धि र तनाव व्यवस्थापनका व्यावहारिक उपायबारे परामर्श दिइएको छ । ‘केही कैदीबन्दीमा आत्मग्लानि र निराशाको भावना देखिएकाले नियमित परामर्श आवश्यक देखिन्छ,’ शर्माले बताए ।परीक्षणका क्रममा सामान्य रोगका लक्षण देखिएका कैदीबन्दीलाई तत्काल औषधि वितरण गरिएको छ। भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार कारागारभित्र रहेका व्यक्तिहरू पनि संविधानले सुनिश्चित गरेको समान स्वास्थ्य अधिकारका हकदार नागरिक हुन् । ‘कारागारभित्र रहेका नागरिकहरूलाई बेवास्ता गर्नु राज्यको जिम्मेवारीबाट पन्छिनु हो,’ शर्माले भने, ‘त्यसैले यस्ता स्वास्थ्य परीक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएका छौं ।’कार्यक्रमप्रति प्रशासनले पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पाैड्यालले कैदीबन्दीहरूको स्वास्थ्य सुरक्षाका लागि गरिएको पहललाई सराहनीय बताउँदै यसले मानवअधिकारको संरक्षणमा समेत टेवा पुग्ने बताए ।
‘कारागार सुधारको एउटा महत्वपूर्ण पक्ष नै स्वास्थ्य हो,’ उनले भने ।स्वास्थ्य परीक्षणपछि कैदीबन्दीहरूले पहिलोपटक व्यवस्थित रूपमा स्वास्थ्य सेवा पाएको अनुभव सुनाए । ‘बिरामी हुँदा अस्पताल जान गाह्रो हुन्थ्यो,’ एक कैदीबन्दीले भने, ‘यस्तै जाँच नियमित भयो भने हामीलाई ठूलो राहत हुन्छ ।’स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र मानसिक सन्तुलन कायम गर्न सहयोग पुर्याउने मात्र होइन, कारागारभित्रको समग्र जीवनस्तर सुधारतर्फ पनि महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ ।






