कर्णालीमा खाना पकाउन अझै दाउराकै भर, वैकल्पिक ऊर्जा पहुँचभन्दा टाढा

ओम शाही
सुर्खेत, १८ पुस ।
कर्णाली प्रदेशका ८२ प्रतिशत नागरिकले अझै पनि खाना पकाउन काठ/दाउरामै निर्भर छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार वैकल्पिक ऊर्जाका साधन विस्तार भइरहे पनि गरिबी, भौगोलिक विकटता र कमजोर पूर्वाधारका कारण कर्णालीका अधिकांश नागरिक अझै पनि परम्परागत इन्धनमै निर्भर हुन बाध्य छन् ।
२०६८ को जनगणना अनुसार खाना पकाउन इन्धनको स्रोतका रुपमा दाउरा प्रयोग गर्ने परिवारको संख्या ९५ प्रतिशत थियो । १० वर्षको अवधिमा यो संख्यामा खासै परिवर्तन हुन नसकेको जनगणनाको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार १० वर्षको अवधिमा काठ र दाउरालाई खाना पकाउन मुख्य इन्धनको रुपमा प्रयोग गर्ने परिवारको संख्या १२ दशमलव आठ प्रतिशतले घटेर ८२ दशमलव आठ प्रतिशतमा झरेको छ ।
कर्णालीमा खाना पकाउन पेट्रोलियम ग्याँसको प्रयोग गर्ने परिवारको संख्या पनि न्यून छ । बिहिबार राष्ट्रिय तथ्यांक दिवसका अवसरमा आयोजित कार्यक्रममा केन्द्रीय तथ्यांक कार्यालय अन्तर्गतको तथ्यांक समन्वय कार्यालय सुर्खेतका प्रमुख विनोद आचार्यले कर्णालीमा १६ दशमलव नौ प्रतिशत परिवारले खाना पकाउन पेट्रोलियम ग्याँस प्रयोग गर्ने गरेको बताए । उनका अनुसार पेट्रोलियम ग्यासबाट खाना पकाउने परिवारको संख्या २०६८ को तुलनामा २०७८ मा झण्डै १३ प्रतिशतले बृद्धि भएको छ ।
तथ्यांक अनुसार विद्युतको प्रयोग गरी खाना पकाउने परिवारको संख्या १० वर्षको अवधिमा पनि बढ्न सकेको छैन । जनगणना २०६८ मा विद्युतको प्रयोग गरी खाना पकाउने परिवारको संख्या ०.१ प्रतिशत रहदा २०७८ मा पनि ०.१ प्रतिशत नै छ । यस्तै, कर्णालीमा अmभै पनि ०.१ प्रतिशत नागरिकले गुइँठा वा गोबरबाट खाना पकाइरहेका छन् ।
२०६८ मा यस्तो परिवारको संख्या २.९ प्रतिशत थियो । खाना पकाउँन मुख्य इन्धनको रुपमा बायोग्याँस प्रयोग गर्नेहरुको संख्यासमेत न्यून छ । बायोग्याँसबाट खाना पकाउने परिवारको संख्या सून्य दशमलव चार प्रतिशत रहेको तथ्यांकले देखाउँछ । २०६८ मा पनि यहीँ परिवार संख्याले बायोग्याँसबाट खाना पकाइरहेको थियो ।
त्यस्तै, सून्य दशमलव दुई प्रतिशतले खाना पकाउन मट्टीतेल र सून्य दशमलव एक प्रतिशतले अन्य इन्धन प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार कर्णाली देशकै सबैभन्दा कम आयस्तर भएको प्रदेश हो । एलपी ग्यास, बिजुली वा इन्डक्सन चुलोजस्ता आधुनिक ऊर्जाका साधन किन्न र प्रयोग गर्न धेरै नागरिकको आर्थिक हैसियतले धान्न नसक्ने अवस्था छ ।
दाउरा भने निःशुल्क वा न्यून लागतमा नजिकैका जंगलबाट सहजै उपलब्ध हुने भएकाले नागरिकको रोजाइ बन्न पुगेको सरोकारवालाहरू बताउँछन् । कर्णालीमा खाना पकाउन दाउराको प्रयोग नघट्नुको अर्को प्रमुख कारण भौगोलिक विकटता हो । दुर्गम बस्ती, कमजोर सडक सञ्जाल र उच्च ढुवानी खर्चका कारण एलपी ग्यासको आपूर्ति अनियमित र महँगो हुने गरेको छ । कतिपय गाउँमा ग्यास पुग्नै महिनौँ लाग्ने हुँदा नागरिक दाउरामा निर्भर रहन बाध्य छन् । विद्युत् पहुँच पुगेका ठाउँमा पनि समस्या उस्तै छ ।
बारम्बार लाइन काटिने, भोल्टेजको समस्या र भरपर्दो विजुली आपूर्ति नहुँदा खाना पकाउन समस्या हुने गरेको वीरेन्द्रनगर नगरपालिका–३, कि लक्ष्मी शाही बताउँछिन । ‘बत्ती आए पनि भोल्टेज फेरबदल भइरहदा इन्डक्सन चुलोबाट खाना पाक्दैन,’ उनले भनिन् । कर्णालीमा वन स्रोत प्रशस्त हुनु पनि दाउराको प्रयोग उच्च हुनुको कारण मानिन्छ । सामुदायिक र निजी वनबाट सजिलै दाउरा पाइने भएकाले पुस्तौँदेखि योे परम्पराले निरन्तरता पाइरहेको छ । दाउराको धुवाँले स्वास्थ्यमा पार्ने असर र स्वच्छ ऊर्जाको फाइदाबारे चेतनाको कमीसमेत देखिएको तथ्यांकले पुष्टि गर्छ ।
सरकारी तहबाट सुधारिएको चुलो, बायोग्यास र सोलार ऊर्जाजस्ता कार्यक्रम सञ्चालन गरिए पनि ती सीमित क्षेत्र र थोरै लाभग्राहीमै केन्द्रित भएको सरोकारवालाहरूको भनाइ छ । दुर्गम बस्तीलाई लक्षित दीर्घकालीन ऊर्जा रणनीति र प्रभावकारी कार्यान्वयन नहुँदा समस्या यथावत् रहेको उनीहरूको ठहर छ । कर्णालीका नागरिकलाई दाउराको प्रयोग रोजाइभन्दा बढी बाध्यता हो । आयस्तर वृद्धि, भरपर्दो विद्युत् आपूर्ति, सस्तो वैकल्पिक ऊर्जा विस्तार बिना दाउरामा निर्भरता घटाउन कठिन हुने तथ्यांक कार्यालयको निष्कर्ष छ ।
विजुली र खानेपानीको अवस्था पनि उस्तै
कर्णालीमा विजुलीको पहुँचसमेत कमजोर छ । जनगणनाको तथ्यांक अनुसार २०६८ मा २५ दशमलव चार प्रतिशत परिवार विजुलीको पहुँचमा थिए । १० वर्ष अर्थात २०७८ मा आइपुग्दा यो संख्या बढेर ४९ दशमलव ६ प्रतिशत पुगेको छ । यो तथ्यांकले अझै पनि कर्णालीका ५१ प्रतिशत नागरिक विजुलीको पहुँच बाहिर छन् ।
कर्णालीको जलबाट १८ हजार मेगावाट बढी विजुली निकाल्न सकिने सम्भावना दुई दशक अघिका अध्ययनले देखाइ सकेका छन् । तर, राज्यको उपेक्षाका कारण कर्णाली अध्यारोमा बस्न बाध्य छ । तथ्यांक अनुसार ४७ दशमलव नौ प्रतिशत सौर्यशक्ति, सून्य दशमलव पाँच प्रतिशतले मट्टीतेल, सून्य दशमलव सून्य चार प्रतिशतले बायोग्याँस र दुई प्रतिशत परिवारले अन्य स्रोतबाट बत्ती बालिरहेको जनगणनाको तथ्याकले देखाउँछ ।
त्यस्तै, कर्णालीमा तीन दशमलव पाँच प्रतिशत परिवारले मात्रै सुधारिएको खानेपानी प्रयोग गर्छन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार ३५ दशमलव ६ प्रतिशतले घरको परिसरभित्र र ४४ दशमलव तीन प्रतिशतले घरको परिसर बाहिर धार वा पाइपबाट खानेपानी प्रयोग गर्दै आएका छन् ।
त्यस्तै, सून्य दशमलव पाँच प्रतिशले ट्युबवेल/हातेपम्प, दुई दशमलव एक प्रतिशतले ढाकिएको कुवा वा इनार, दुइ दशमलव पाँच प्रतिशतले नढाकिएको कुवा वा इनारको पानी प्रयोग गरिरहेको तथ्यांकले देखाउँछ । १३ दशमलव तीन प्रतिशतले मुलधारा, एक दशमलव दुई प्रतिशतले नदी वा खोला, सून्य दशमलव एक प्रतिशले जार वा बोतल र सून्य दशमलव तीन प्रतिशतले अन्य स्रोतको पानीलाई खानेपानीको रुपमा प्रयोग गरिरहेको राष्ट्रिय तथ्याकले देखाउछ ।






