एमाले खुला केन्द्रीय सदस्यमा बाँकेका सूर्य ढकाल विजयी, ११औँ महाधिवेशनबाट ओली नेतृत्व थप सुदृढ

बाँके,७ पुस।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट बाँकेका सूर्य ढकाल खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। “निर्णायक राष्ट्रिय शक्तिको निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय गन्तव्य” भन्ने मूल नारासहित केपी शर्मा ओलीको नेतृत्वमा सम्पन्न महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै ऐतिहासिक रूप लिएको छ।

कम्युनिष्ट पार्टी स्थापना भएको ७६ वर्षपछि सम्पन्न यस महाधिवेशनलाई राजनीतिक रूपमा विशेष चासोका साथ हेरिएको थियो। जेन्जी आन्दोलनपछि ठूला दलहरूभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चर्किएका बेला एक वर्ष अगाडि नै आयोजना गरिएको महाधिवेशनले पार्टी नेतृत्वको वैधता र जनसमर्थन पुनः पुष्टि गरेको विश्लेषण गरिएको छ। उद्घाटन समारोहमा देखिएको विशाल जनसहभागिताले “जनता पुराना पार्टीको पक्षमा छैनन्” भन्ने भाष्यलाई खण्डन गरेको सन्देश पनि महाधिवेशनले दिएको छ।

भक्तपुरको सल्लाघारीस्थित करिब १०० रोपनी क्षेत्रमा फैलिएको मैदानसमेत साँघुरो देखिने गरी सम्पन्न उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक बनेको नेताहरूको भनाइ छ। महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेका राजनीतिक घेराबन्दीलाई चिर्दै राष्ट्रिय चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको स्पष्ट सन्देश प्रवाह गरेको छ।

महाधिवेशनको अर्को महत्त्वपूर्ण उपलब्धि नयाँ पुस्ताको उल्लेख्य सहभागिता हो। विशेष आरक्षणको व्यवस्थासँगै ४० वर्षमुनिका नवयुवासहित करिब एकतिहाइ नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन्। सबै पदमा प्रतिस्पर्धा भएको र विजयी–पराजित दुवैले परिणामलाई सहज रूपमा स्वीकार गर्नुले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई अझ बलियो बनाएको छ। साथै, आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआतका रूपमा लिइएको छ।

व्यवस्थापनका हिसाबले पनि महाधिवेशन सफल मानिएको छ। निर्वाचन प्रक्रियामा केही प्राविधिक कारणले एक दिन ढिलाइ भए पनि विगतका महाधिवेशनको तुलनामा छोटो समयमै सम्पन्न भएको एमालेले जनाएको छ। छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू सहभागी हुन नसके पनि उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूको उपस्थितिले एमालेको नेतृत्वकारी भूमिकालाई उजागर गरेको बताइएको छ।
बाँके जिल्लाबाट केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका सूर्य ढकाल खुलाबाट, शान्ति ढकाल भूगोलबाट, आरती पौडेल र बसन्ती अधिकारी महिला क्लस्टरबाट तथा मो.हारुन हलुवाई मुस्लिम क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। सूर्य ढकाल, शान्ति ढकाल र मो. हारुन हलुवाई दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो भने आरती पौडेल र बसन्ती अधिकारी पहिलो पटक केन्द्रीय कमिटीमा प्रवेश गर्नुभएको हो।

महाधिवेशनमा बाँकेबाट प्रतिनिधित्व गर्ने २९ प्रतिनिधिमध्ये २७ जना केपी ओली प्यानलको पक्षमा खुलेर उभिएका थिए। जिल्ला अध्यक्ष निरक गुरुङको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको पक्षमा बाँकेका सबै प्रतिनिधिहरूले एकताबद्ध रूपमा प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ। यसपटक बाँकेका प्रतिनिधिहरूले सबैको विश्वास र प्रशंसा बटुलेर आफ्नो कार्यक्षेत्रमा फर्किएको पार्टी नेताहरूको भनाइ छ।
११औँ राष्ट्रिय महाधिवेशनले तीन पुस्ताको संयोजनमार्फत पार्टी निर्माण गर्ने नीतिलाई व्यवहारमा उतारेको भन्दै यसले एमालेको आगामी राजनीतिक यात्रालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।






