टहराबाट पक्की घरमा बिजमाया जैसी

गाेल्डेन बुढा
जुम्ला,१४ मंसिर ।
जुम्लाको गुठिचौर गाउँपालिका-५ फोइगाउँकी बिजमाया जैसीका लागि जीवन विगत,६ वर्षदेखि अनवरत संघर्षको अर्को नाम थियो। हिउँको भारी भारसँगै ढलेको उनको पुरानो घर फेरि उठाउन आर्थिक हैसियतले साथ दिन सकेन, र उनी साना छोराछोरीसहित वर्षौंसम्म एक साँघुरो काठको टहरामै बस्न बाध्य भइन्।टहराभित्रै खाना पकाउने, त्यहीँ सुत्ने अनि वर्षा-हिउँ पर्दा छाप्रोबाट भित्र छिरिने पानीसँग जुध्दै छिमेकीकहाँ रात काट्ने दिनहरू बिजमायाका लागि पीडाले भरिएका स्मृतिहरू भइसकेका छन्।तर, आज उनी एक पक्की घरको ढोकाबाट मुस्काउँदै भित्र पसेकी छन्। सहयोग, सरोकार, पत्रकारिता र समुदायको सामूहिक उत्तरदायित्वको जितसहित।घरविहीन बिजमायाको अवस्था जुम्लामा चिसो माइनस डिग्रीमा पनि टहरामै बसिरहेको समाचार सार्वजनिक भएपछि विषयलाई प्रमुखतासाथ उठाउनेहरूको संख्या बढ्यो।

नेपाल पत्रकार महासंघ जुम्लाका तत्कालीन उपाध्यक्ष दिलामाया शाहीको पहल र संचारमाध्यमले दिएको प्राथमिकताले सम्बन्धित निकायहरू सक्रिय बने। पत्रकार महासंघले स्थानीय सरकारसँग समन्वय गर्यो, र त्यसपछि गुठिचौर गाउँपालिकाले एक लाख रुपैयाँको सहयोग स्वीकृत गर्यो।त्यही आधारबाट बिजमायाको घर निर्माणको सपना साकार हुन थाल्यो।आज बिजमायाको घर दुईतले, चारकोठे ढुंगामाटो र काठको मजबुत संरचनासहित तयार छ। छुट्टै भान्सा, करिब दुई सय मिटर चौडा जमिनमा फैलिएको फराकिलो घर,यो केवल संरचना होइन, एक पुनर्जीवित सम्मान हो।घर हेर्दै बिजमायाको आँखाबाट चुहिने खुशीका आँसु थामिन सकेनन्।“ऋण धेरै थपियो, तर घर बनेकोमा आनन्दै छ। छोराछोरीलाई छुट्टै कोठामा सुत्न पाइन्छ, भन्ने कल्पनै ठूलो कुरा थियो।”उनको स्वरभित्र संघर्षका वर्षहरू, र हल्का मुस्कानमा खुसीको उज्यालो मिश्रित थियो।सहयोग मात्र घर निर्माणमै सीमित रहेन।समाचारपछि आईएनएफ जुम्लाले नौ महिनाको खाद्यान्न उपलब्ध गरायो। तत्कालीन कर्मचारी फालुराम चौधरी र पत्रकार दिलामाया शाही स्वयं फोईगाउँ पुगेर खाद्यान्न पुर्याएका थिए।जिल्ला प्रशासन जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन कम्बल, त्रिपाल उपलब्ध गराए।

यी साना-ठूला सहयोगहरूले जाडोमा बिजमायाको परिवारलाई केही श्वास फेर्ने ठाउँ मिलाएको थियो।गाउँपालिकाबाट प्राप्त एक लाखको सहयोगले आधार त बन्यो, तर पूरा घर बनाउन पाँच लाखभन्दा बढी ऋण लिनुपर्यो।दिदी-बहिनी र स्थानीय सहकारी समूहबाट लिएको ऋण अहिले परिवारको मुख्य बोझ बनेको छ।त्यसमाथि उच्च शिक्षामा भर्ना भएका छोराको फारम भर्ने पैसा नहुँदा बाध्यतावश भारत मजदुरी/व्यापारका लागि जानु परेको पीडा बिजमायाको आँखामा अझै ताजा थियो।छोरी सृजना भने कक्षा ९ मा निरन्तरता लिएर पढिरहेकी छिन्।यस्तै गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा भन्छन्,“सञ्चारकर्मीहरूले आवाज नउठाएको भए यो सम्भव नहुन पनि सक्थ्यो। सानो सहयोगले ठूलो परिवर्तन ल्याउँछ, भन्ने उदाहरण हो।”उपाध्यक्ष शान्ति मल्ल (भण्डारी)ले मुद्दालाई कार्यपालिकामा प्राथमिकतामा राखेर बजेट निकालेको बताइन्।राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश-जुम्लाकी प्रमुख कल्पना आचार्य (नेपाल) सहितको टोलीले घर अवलोकन गर्दै यसलाई ‘समुदायिक जिम्मेवारीको राम्रो उदाहरण’ भन्दै धन्यवाद व्यक्त गर्यो।सानो छोरी सृजनाले एक दिन आमालाई भनेकी थिइन्।“आमा, हाम्रो घर कहिले बन्छ?”त्यो प्रश्नले बिजमायालाई भक्कानिन बाध्य बनाउँथ्यो।

आज त्यही सृजना नयाँ घरको अँगनबाट मुस्कुराउँदै भन्छिन्,“अब हिउँ डर लाग्दैन, आमा पनि चिन्ता गर्नुहुन्न।’’खरानी हुँदै गएको आशालाई सम्हालेर उठेकी बिजमाया भन्छिन्“यो घर चारवटा भित्तामात्र होइन, समाजले सम्हालेको मेरो जीवन हो।” पत्रकारको कलमले औंल्याएको पीडाले स्थानीय सरकारदेखि मानवअधिकार निकाय र संस्थाहरूसम्म सकारात्मक ऊर्जा फैलायो।कठिन परिस्थिति, असहज बास, आर्थिक अभाव र निरन्तर संघर्षका वर्ष पार गरेकी बिजमाया आज पक्की घरमा बसिरहेकी छन्।






