“पाखोबारीको गरिबी, छोराछोरीको भोको भविष्य : दलित समुदायको कथा”

रुपधनी सार्की
डोल्पा ,८ कार्तिक ।
मेरो मात्र होइन, हाम्रो जिल्लाका धेरै दलित समुदायको खेतीपातीका लागि आफ्नै जमिन छैन । खनी खोस्री गर्न जग्गा नभएपछि हामी परम्परादेखि मजदुरीमै निर्भर छौं । पुस्तौंदेखि मजदुरी गरेर जीविका चलाउनु पर्ने बाध्यता छ ।

जग्गाका नाममा दुईवटा पाखो बारी छन् । अर्को ठाउँमा रहेको सानो खेत पनि पहिरोले बगायो । केही वर्षअघिसम्म आफ्नो भागको सानो गोठमा परिवार बसेका थियौं । पछि सरकारले जनता आवास कार्यक्रममार्फत दुई कोठे घर बनाइदियो । अहिले त्यही घरमा छौं । मेरो पाखोबारीमा जुनसुकै बाली लगाए पनि १० किलोभन्दा बढी उब्जनी हुन्न । आफ्नो धेरै जग्गा नहुँदा खेतीपाती त्यतिमै सीमित छ ।

परिवारमा ६ जना छौं । तीन छोरी र एक छोरा छन् । ठूली छोरीको बिहे भइसक्यो । बाँकी छोराछोरी पढ्दैछन् । बिहान–बेलुकी छाक टार्नै मुस्किल छ । अर्कोतिर बालबच्चालाई कसरी पढाउने–लेखाउने भन्ने चिन्ता छ । यही पिरले कहिलेकाहीँ त राम्रोसँग निद्रा पनि लाग्दैन ।
श्रीमान् पनि हुनुहुन्छ । उहाँ पनि एकाबिहानै काममा निस्कनु हुन्छ । राति मात्र घर फर्किनु हुन्छ । घरमा गारो लगाउने र खेतबारी जोत्ने सीप छ उहाँको । २५ वर्षअघि डोल्पाकै पालङ गाउँ जाने बेला भेरी नदी तर्दा तुइनबाट खसेर टाउकोमा गहिरो चोट लाग्यो । त्यसयता उहाँको स्वास्थ्य कमजोर छ । तैपनि सकी नसकी मजदुरी गर्नुहुन्छ । दम्पती मिलेर घर चलाएका छौं ।

हाम्रो बिहे भएको २७ वर्ष भयो । उतिबेलादेखि दुई जोइपोइको मजदुरीको काम टुटेको छैन । अब मरेपछि त छुट्ला । म अहिले ४० वर्षकी भएँ । दुःख अहिले पनि उस्तै छन् । बच्चाबच्ची जन्मिए । सुत्केरी हुँदा आरामसँगै पोषणयुक्त खानेकुरा खान नपाएकाले मेरो स्वास्थ्य राम्रो छैन । सुत्केरी भएका बेला पनि थाप्लोमा नाम्लो र पिठ्यूमा भारी छुटेन । पन्ध्र/बीस दिनको काखे बच्चा लिएर गिटी कुटेर आफ्नो र परिवारको पेट भरेको सम्झना आउँछ ।

सहर बजारतिर सुत्केरीले महिनौं आराम गर्छन् । तागतिला खानेकुरा खान्छन् भन्ने सुन्छु । आफूलाई त पसिना नबगाइ राम्रोसँग पेटभरि खान पनि पाइन्न । त्यही भएर पनि अहिले स्वास्थ्य कमजोर भयो । सुत्केरीका बेला ठूला–ठूला भारी बोकेका कारण पाठेघर खस्ने समस्याले धेरै वर्ष दुःख पाएा । दुई वर्षअघि अप्रेसन गरेँ । अहिले ठिक त छ तर लामो समय निहुरिएर काम गर्न सक्दिनँ । कम्मर दुखिराख्छ । तैपनि काम गर्न जानुपर्छ । कहिलेकाहीँ सबै छोडेर भागौंजस्तो लाग्छ । जहाँ भागे पनि गरिबीले कहाँ छोड्ला र !
गरिबलाई भोको पेटले साह्रै पिर दिँदो रहेछ । छोराछोरीको पिरले पनि उत्तिकै सताउने । पढ्न त सरकारी स्कुलमै पढ्छन् । कापी–कलम बाहेक सबै निःशुल्क छ । कहिलेकाहीँ किन्नुपर्ने त्यही कापी–कलम पनि जुटाइदिन नसक्दा रुनै मन लाग्छ । यो उमेरसम्म आइपुग्दा कति रात त घरमा खानेकुरा केही नभएर भोकभोकै पनि रात पनि काटेकी छु ।
अहिले पनि काम गर्न गाउँगाउँ पुग्छु । कामको ज्यालाका रूपमा चिनो, मकै, फापर ल्याएर गुजारा चलाउँदै आएकी छु । केही दिनअघि मात्र एक जना भतिजी नाता पर्नेबाट एक बोरा चामल ल्याएर दसैं मनायौं । दुई–तीन दिन काम गरेर चामल फिर्ता गरुँला भनेकी छु । हामीजस्ता गरिब र दुःखीका लागि चाडपर्व आउँदा पनि दशा नै आएजस्तो लाग्ने । एक छाक राम्रोसँग पेट पाल्न सकिँदैन भने चाडपर्वमा अरू मिठो मसिनो र राम्रो लत्ता कपडाको के आश गर्नु !

संसारमा पैसा भन्दा ठूलो कुरा केही रहेनछ । परिवार पाल्नकै लागि कहिले गिटी कुट्छु । कहिले भारी बोक्छु । कहिले गाउँगाउँ चहार्छु । चाडपर्व आउँदा छोराछोरीले पनि मायालाग्दो गरी मिठो खानेकुराको आश गर्छन् । अरूको लवाइखवाइ देखेर आफूलाई पनि त्यस्तै चाहियो भन्छन् । पछि राम्रोसँग अवस्था बुझाएपछि बुझ्छन् । गरिबीले गर्दा आफ्नो इच्छा र चहाना त मरेकै छन् । छोराछोरीका भावना पनि सँगै मरिरहेका छन् ।
घरायसी अवस्थाले गर्दा छोराछोरीले पनि आफू सक्दो मजदुरी गर्ने गरेका छन् । पढ्ने, लेख्ने र सिकाउने बेला उनीहरू मजदुरी सिक्छन् । कसरी भविष्य बन्ला र ! यसरी त पछि गएर पनि यिनीहरू हामीजस्तै बन्ने त हुन नि ! आफ्नो घरको अवस्था र छोराछोरीको स्थिति देख्दा मनै खिन्न हुन्छ । अनि आफ्नो भाग्यलाई धिक्कार्छु । एकान्तमा गएर एक्लै रुन्छु । पछि आफ्नो मनलाई थामथुम गरेर आफैं चित्त बुझाउने गर्छु । सबैले सहर गए राम्रो पैसा कमाइ हुन्छ भन्छन् । कहिलेकाहीँ त सबै लालाबाला च्यापेर सहर पसौं कि जस्तो पनि झोक चल्छ ।

“पाखोबारीको गरिबी, छोराछोरीको भोको भविष्य : दलित समुदायको कथा”

हुम्लाको सिमकोटमा भालुको आतङ्क : मौरीघार र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds