हुम्लाको सिमकोटमा भालुको आतङ्क : मौरीघार र गोठ भत्किँदा किसान आर्थिक संकटमा

हुम्ला, ८ कार्तिक ।
हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफया गाउँमा भालुले आतंक मच्चाएको छ। गाउँका मौरीपालक र पशुपालक किसानको मौरीघार र गोठमा तोडफोड गरी ठूलो आर्थिक क्षति पुर्याइएको छ।
स्थानीय मन्दिर सिंहका अनुसार भालुले गाउँभित्रै पसेर मौरीघार तोडफोड गर्दै मह खाएको र गोठमा आक्रमण गरेको हो। “मह निकाल्ने सिजन चलिरहेको बेला भालुले मौरीघार भत्काउँदा किसानहरू आर्थिक संकटमा परेका छन्,” उनले बताए।
भालुको आक्रमणबाट स्थानीय देवी शाहीका दुईवटा, धनबहादुर शाही (सार्की) का तीनवटा र जङ्गसुर शाहीका तीनवटा गरी आठवटा मौरीघार नष्ट भएका छन्। साथै, देवी शाहीको घरमा रहेका कुकुरलाई समेत भालुले मारेको स्थानीयले जनाएका छन्।
मह बिक्री गरेर घरखर्च चलाउने तयारीमा रहेका किसान अहिले नोक्सानीमा परेका छन्। “महकै भरमा वर्षभरको खर्च जुटाउँथ्यौं, तर अहिले सबै मौरीघार नष्ट भयो,” एक स्थानीय मौरीपालकले दुःख व्यक्त गरे।
भालु नियन्त्रणमा नलिए मानवीय क्षति समेत हुनसक्ने भएकाले तत्काल प्रभावकारी कदम चाल्न गाउँलेहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। सँगै बस्ती नजिकको जंगलमा नजान र राति घरबाहिर ननिस्कन स्थानीय प्रशासनले सबैलाई सावधानी अपनाउन अपिल गरेको छ।






